साबिक प्रदेश ३ (बाग्मती) को राजधानी काभ्रेको धूलिखेल बनाउन प्रस्ताव गरेका विवेकशील नेपाली दलका सांसद रमेश पौडेलले हेटौंडालाई राजधानी तोक्ने विषयमा मुख्यमन्त्री र प्रतिपक्षी दलका नेताको घाँटी जोडिएको आरोप लगाएका छन् ।
सत्तारुढ दल नेकपाले आफ्ना सांसदलाई गैरसंवैधानिक निर्देशन दिएको भन्दै उनले आपत्ति जनाए ।
आइतवार बसेको प्रदेश सभा बैठकमा प्रस्तावक सांसद पौडेलले तत्कालीन सत्ताले जनता अल्मल्याउन फालेको अस्त्रलाई नेकपाले वैधानिकता दिएको आरोप समेत लगाए ।
‘हेडौंडालाई प्रदेशको राजधानी बनाउने विषयमा मुख्यमन्त्री (डोरमणि पौडेल) र प्रतिपक्षी दलका नेता –इन्द्र बानियाँ) दाजुभाइजस्तै देखिनुहुन्छ, उहाँहरूको केमेस्ट्री मिलेको देखिन्छ,’ पौडेलले भने ।
मदन भण्डारीको बहुदलीय जनवादलाई आदर्श मान्ने पार्टीका सांसदलाई प्रदेशको नाम र राजधानी छान्ने विषयमा ह्वीपको तरबार झुण्ड्याएको उनको आरोप छ ।
‘हेटौंडालाई राजधानी बनाउने प्रस्तावको पक्षमा मतदान गर्ने नेकपाका सांसदहरूलाई प्रश्न गर्न चाहन्छु– ‘भोलिको पुस्ताले प्रश्न गर्यो भने के भन्नुहुन्छ ? मलाई झण्डा र डण्डाको नशा लाग्यो भन्नुहुन्छ कि विवेक प्रयोग गर्दा मेरो मन्त्री पद गयो भन्नुहुन्छ ?’ पौडेलले प्रश्न गरे ।
उनले ‘विद्रोह गर्ने जनताको अधिकार’ हो, र ‘नेतृत्व गद्दार भयो भने हेडक्वार्टरमा हमला गर्नुपर्छ’ भन्ने सांसदहरूको समेत परीक्षा भएको टिप्पणी गरे ।