
भोटाहिटीमा रहेको केन्द्रीय साइबर अनुसन्धान ब्यूरोमा शुक्रवार एक जोडी हतासिँदै आए । कार्यालय छिट्टै बन्द हुन्छ होला भनेर छिटो आएको उनीहरूको भनाइ थियो ।
उनीहरू साइबर अनुसन्धान ब्यूरोमा आउनुको हतार भने झन् ठूलो थियो । काठमाडौंको बुढानीलकण्ठ बस्ने उनीहरू हातारिनुको कारण थियो ‘फेसबूक’ !
'रामबहादुर (नाम परिवर्तन)ले फेसबूक प्रयोग गरेर हामीलाई तनाव दियो सर !' ब्यूरोका मुद्दा शाखाका प्रहरीलाई उनीहरू आउनुको कारण जानकारी गराए ।
उनीहरूले प्रहरीलाई दिएको सूचना अनुसार कसैले फेसबूक ह्याक गरेर आफन्तसँग पैसा माग्ने गरेकोमा प्रहरी प्रष्ट भए ।
रामबहादुरकी श्रीमती पम्फा (नाम परिर्वतन)को फेसबूक कसैले ह्याक गरेर आफन्तहरूसँग पैसा मागेको थियो ।
रामबहादुरले प्रहरीलाई सुनाए, ‘३/४ दिन भएछ सर उनको फेसबूकबाट आफन्तलाई पैसा माग्न थालेको ।’
पम्फाको फेसबूक ह्याक गरेर म्यासेन्जरमा आफन्तलाई ‘मलाई समस्या परेको छ पैसा सहयोग गर्नु पर्यो, पैसा चाहियो दिदी ल्याउनु म पछि फिर्ता गर्छु' जस्ता म्यासेज लेखेर पठाउने गरेको रामबहादुले प्रहरीलाई सुनाए ।
सामान्य लेखपढ गर्ने पम्फाले फेसबूक त खोलेकी छन् तर खासै चलाउन भने जान्दिनन् । पम्फाले प्रहरीलाई सुनाइन्, ‘त्यसले आफन्तलाई पैसा माग्ने र बैंक खातामा राख्दिनु भन्दो रहेछ ।’
ह्याकरले उनीहरूको आफन्तसँग पैसा माग्ने र आफ्नो खातामा पठाइदिन भने पछि उनकै आफन्तले शंका लागेपछि रामबहादुरलाई फोन गरेर सोधे । त्यसपछि मात्र उनीहरूले फेसबूक खोल्न खोज्दा नखुलेपछि प्रहरीकोमा आउनु परेको बताए ।
यस्तै काठमाडौं बानेश्वरकी अंशु (नाम परिवर्तन) शुक्रवार नै आफ्नी आमासँग केन्द्रीय साइबर अपराध अनुसन्धान ब्यूरोमा आइन् । उनको समस्या थियो ‘मिम’ । कक्षा १० मा अध्ययनरत अंशुलाई उनकै कक्षाका एक जना केटा साथीले अपशब्द बनाएर मिम बनाउँदै आएको उनले बताइन् ।
मिम बनाए भिडियो अंशुलाई फेसबूकमा पठाउने गरेको र मिममा गालीगलौज गर्ने गरेको उनले बताइन् । 'निरन्तर मिम बनाउने र पठाउने गरिरहेको छ,' उनले भनिन्, 'अब मिम बनाए प्रहरीलाई खबर गर्ने भन्दा पनि तिमि जे सुकै गर भने ।'
अंशुले भनिन्, ‘मिम बनाएर भिडियो पठाउने गरेको छ । उसँग मेरो हरेक क्रियाकलापको फोटो भिडियो हुन्छ ।'
उनले थपिन्, ‘भिडियो किन बनाएको ? म प्रहरीलाई भन्दिन्छु, मिम बनाउन छोड भन्दा पनि तिमी जेसुकै गर भन्छ ।’
महिला सबैभन्दाबढी पीडित
साइबर अपराध अनुसन्धान ब्यूरो तथ्याङ्कलाई हेर्ने हो भने महिला सबै भन्दा समाजिक सञ्जालबाट पीडित भएको देखिन्छ ।
चालू आर्थिक वर्ष ०७६/७७को मंसिर महिनासम्म ४ सय ७३ जना महिला समाजिक सञ्जालका माध्यमबाट पीडित भएको देखाएको छ ।
मंसिर महिनाको अन्त्यसम्म दर्ता भएका ८ सय १८ उजुरीमा आधा भन्दा धेरै अर्थात् ४ सय ७३ उजुरी महिला पीडित भएको देखाएको छ ।
दैनिक १० देखि १२ उजुरी
केन्द्रीय साइबर अपराध ब्यूरो नेपाल भोटाहिटीमा दैनिकजसो १० देखि १२ वटा उजुरी पर्ने गरेका छन् । सामाजिक सञ्जालमध्ये ९६ दशमलव ८ प्रतिशत बढी अपराध फेसबूकमा भएको देखिएको छ ।
स्थापना भएको ९ महिनामा ब्यूरोमा फेसबूकका ९ सय ६ वटा, यूट्युबका ३ वटा, इन्स्ट्राग्रामका ५ वटा, इमोका २ वटा, वेबसाइटमा २ वटा, ट्विटरका २ वटा, भाइबरमा ४ वटा र अन्यका १५ वटा गरी ९ सय ३७ उजुरी परेको ब्यूरोका वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) नविन्द्र अर्यालले लोकान्तरलाई बताए ।
अर्यालले भने, ‘सूचना प्रविधिको प्रयोगसँगै साइबर अपराधका घटनाहरू बढिरहेका छन् । हाम्रोमा पनि दैनिक १० देखि १२ उजुरी परिरहेकै छन् ।’
कति भए सामाजिक सञ्जालमार्फत अपराध ?
पछिल्लो ४ वर्षमा सामाजिक सञ्जालमा १ सय ३१ वटा अपराधका घटना भएका उजुरी प्रहरीसमक्ष आएका छन् । सामाजिक सञ्जाल फेसबूकमार्फत सबैभन्दा धेरै अपराधका घटना भएको छ ।
आर्थिक वर्ष २०७२/७३ मा सामाजिक सञ्जाल फेसबूकमा भएको अपराध १७ वटा, २०७३/०७४ मा २२ वटा, २०७४/०७५ मा ५० वटा र २०७५/०७६ को वैशाखसम्म ९ महिनामा ४२ वटा अपराधका मुद्दा महाशाखामा दर्ता भएका छन् ।
आर्थिक वर्ष २०७२/७३ मा ह्याकिङका अपराध ४ वटा, २०७३/०७४ मा १ वटा, २०७४/०७५ मा २ वटा र २०७५/०७६ को ९ महिनामा ८ वटा उजुरी दर्ता भएको अपराध अनुसन्धान महाशाखाको तथ्यांकले देखाएको छ ।