
दिलिप महतोको परिवारलाई ५ लाख राहत दिने मन्त्रिपरिषद्को निर्णय
नदी दोहन गर्ने क्रसर उद्योग व्यवसायीबाट मारिएका भनिएका धनुषाको मिथिला नगरपालिका–५ श्रीपुरका दिलिप महतोको परिवारलाई राहत स्वरुप ५ लाख रुपैयाँ दिने निर्णय गरिएको छ ।
२ नम्बर प्रदेश सरकारको सोमवार बिहान बसेको मन्त्रिपरिषद् बैठकले राहत दिने निर्णय गरेको हो ।
प्रदेश सरकारका मुख्य न्यायाधीवक्ता दिपेन्द्र झाले प्रदेश सरकारले राहत दिने निर्णय गरेको बताए । उनका अनुसार महतोको हत्यामा संलग्न रहेका अभियुक्तमाथि कडा कारवाही गर्न समेत प्रदेश सरकारले पहल गरिरहेको छ ।
‘अभियोजनकर्ताले कर्तव्य ज्यानमा मुद्दा चलाइ सर्वस्वसहित जन्मकैदको मागदावी गर्ने वातावरण बनेको छ,’ उनले भने, ‘चुरेको दोहन नियन्त्रण हुने गरी प्रदेश वातावरण कानूनको मस्यौदा समेत तयार भएको छ ।’
टिप्परले किचेर महतोको हत्या गरिएको भनेर स्थानीय बासिन्दा विरोधमा उत्रिएका छन् । नदी दोहन नियन्त्रणको अभियान चलाउने र जथाभावी ढुंगा, गिट्टी, बालुवा संकलनको विरोध गर्ने गरेका महतोको मृत्युलाई शंकास्पद रुपमा हेरिएको छ ।
मेलम्चीमा चिनियाँ ठेकेदार आएपछि धमाधम काम, सुरुङ ‘फिनिसिङ’ अन्तिम चरणमा
मेलम्ची खानेपानी आयोजनामा सुरुङ ‘फिनिसिङ’को काम अन्तिम चरणमा पुगेको छ ।
अब झण्डै ४०० मिटरमा मात्रै अन्तिम काम (फाइनल फिनिसिङ) बाँकी रहेको छ । ४ महिना पहिले चिनियाँ निर्माण कम्पनी सिनो हाइड्रोले काम शुरू गरेसँगै तीव्रगतिमा काम अघि बढेको छ ।
इटालियाली निर्माण कम्पनी सीएमसीले काम अलपत्र छाडेर जाँदा यहाँ सुरुङमा भुइँ ढलानको काम २.५ किलोमिटर र भित्ता ढलान २.५ किलोमिटर बाँकी थियो ।
बाँकी काम अहिले कम्पनीले आवश्यक जनशक्ति परिचालन गरेर अघि बढाइएको मेलम्ची मेलम्ची खानेपानी विकास समितिका सूचना अधिकारी राजेन्द्रप्रसाद पन्तले बताए ।
नियमितरूपमा काम गरिरहँदा आगामी २ महिनामा सुरुङको काम सम्पन्न हुने उनको भनाइ छ । उनले भने, ‘यही गतिमा काम भइरहँदा २ महिनाभन्दा बढी समय नलाग्ने देखिएको छ ।’
आयोजना निर्माणका क्रममा यसअघि धेरै अवरोध भएपनि अहिले अवरोध कम भएकाले तोकिएको अवधिमा सम्पन्न हुने वरिष्ठ डिभिजनल इञ्जिनीयर पन्तले बताए । अहिले सो आयोजनाको समस्याका रूपमा सिएमसीले काम छाडेर गएपछि उसले सहायक ठेकेदारलाई दिनुपर्ने बाँकी रकम भुक्तानी भएको छैन ।
अहिलेसम्म कामदारको भुक्तानी भइसकेको भएपनि सहायक ठेकेदार र आपूर्तिकर्ताको भुक्तानी टुंगो लाग्न बाँकी छ ।
नक्कली भ्याट बिलबाट कर छली प्रकरण : भाटभटेनी लगायतले मुद्दा हारे, कर असुल्न सर्वोच्चको फैसला
नक्कली भ्याट बिल जारी गरी छली गरिएको झण्डै सवा ३ अर्ब कर असुल्न सर्वोच्च अदालतले बाटो खोलिदिएको छ ।
प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबरा र न्यायाधीश प्रकाशकुमार ढुंगानाको संयुक्त इजलासले भाटभटेनी सुपरमार्केट, शंकर अक्सिजन ग्यास प्रालि लगायतविरुद्ध फैसला सुनाएको हो ।
यी विभिन्न कम्पनीले नक्कली भ्याट बिल जारी गरी ३ अर्ब २५ करोड रुपैयाँ छली गरेको निष्कर्ष आन्तरिक राजस्व विभागले निकालेको थियो ।
लामो समयदेखि जारी सुनुवाइपछि सर्वोच्चले सोमवार फैसला सुनाएको हो ।
उपसभामुख तुम्बाहाम्फेको नयाँ अडान - दलबाट उम्मेदवार यकिन नभई राजीनामा दिन्न
उपसभामुख डा शिवमाया तुम्बाहाङफेले नेपाल कम्युनिष्ट पार्टी(नेकपा)ले सभामुखका लागि उम्मेदवार यकिन गरी निर्वाचनका लागि अनुरोध नगरेसम्म उपसभामुख पदबाट आफूले राजिनामा नदिने स्पष्ट पारेकी छिन् ।
सङ्घीय संसद् भवनस्थित आफ्नै कार्यकक्षमा राष्ट्रिय समाचार समिति र न्यूज एजेन्सी नेपाल सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले भनिन्, 'सभामुख रिक्त नहुने संविधानको परिकल्पनालाई हामीले ग्रहण गर्नुपर्छ, जबसम्म दलले उम्मेदवार टुङ्ग्याएर मेरो उम्मेदवार यो हो भनेर अगाडि सार्दैन, त्यतिबेलासम्म उपसभामुखले राजीनामा गरेर प्रतिनिधिसभालाई नेतृत्वविहीन बनाएर छाड्ने पक्षमा म छैन ।'
उपसभामुख तुम्वाहाङफेले नेकपाको सचिवालयले उपसभामुखबाट राजीनामा दिन आग्रह गरी पठाएको पत्रसमेत बुझ्न अस्वीकार गरेकी छिन् । नेकपाले आइतबार सङ्घीय संसद् सचिवालयमा उक्त अनुरोध पत्र पठाएको थियो ।
अहिलेको गतिरोध अन्त्य गर्ने वा प्रतिनिधिसभाको बैठक सञ्चालन गर्ने भन्ने निर्णय अहिले प्रतिनिधिसभामा बहुमत प्राप्त दल नेकपाको हातमा रहेको उल्लेख गर्दै उनले भनिन्, 'विभिन्न परिस्थितिका कारण व्यवस्थापिका जस्तो महत्वपूर्ण स्वतन्त्र संस्थाको नेतृत्व प्रदान गरिरहेको व्यक्तिलाई कुनै दल विशेषले नेतृत्वबाट बाहिर जाउ भनेर निर्देशन जारी गर्न संविधान त मिल्दैन ।'
प्रतिनिधिसभामा रहेर मैले काम गरिरहेको अवस्थामा म स्वतन्त्र व्यक्ति हो, जतिबेला दलले उम्मेदवार बनायो र म निर्वाचित भए, त्यसलगत्तै मैले दलको साधारण सदस्य नरहने गरी दल त्याग गरेको स्मरण गर्दै उनले भनिन्, 'मैले स्वतन्त्र ढङ्गबाट प्रतिनिधिसभालाई नेतृत्व प्रदान गर्नुपर्छ, त्यो गरिरहेको छु । कसैको प्रभावमा पर्दिन र डर नमानी काम गर्छु भनेर शपथ लिएको थिए ।'
अझै पनि केही समय राजीनामा गर्ने पक्षमा आफू नरहेको बताउँदै उनले भनिन्, 'दलले उम्मेदवार अझै अघि बढाएका छैनन्, दलले उम्मेदवार अघि बढाइसकेपछि प्रतिनिधिसभाको बैठकमा सभामुखको निर्वाचन प्रक्रियालाई अघि बढाउने सन्दर्भमा राजीनामा दिन्छु, निर्वाचनअघि बढछ, संविधानले दिएको डयुटी मैले पूरा गर्नुपर्छ ।'
उनले संविधान नै नेपालमा सबैभन्दा ठूलो भएकाले यसले निर्देशन गरेर राष्ट्र र सरकार चल्छ भने सबै त्यसैका आधारमा चल्नुपर्ने बताइन् । उनले भनिन्, 'कुनै दल विशेषले राजीनामा देऊ भने पनि मैले यो संस्थालाई खाली गर्न मिल्दैन, संविधानले प्रतिनिधिसभालाई रिक्त हुने भनेर कल्पना गरेको छैन, नेकपाले राजीनामा दिन निर्देशन जारी ग¥यो भन्ने विषय मैले सञ्चारमाध्यमबाट थाहा पाएको हुँ ।'
प्रतिनिधिसभाको बैठकका लागि प्रशस्त विजनेश भए पनि प्रतिनिधिसभाको पहिलो कार्यभार सभामुख निर्वाचन गर्नुपर्ने भएकाले विगतका बैठक स्थगन गर्नुपरेको उल्लेख गर्दै उनले दलले आफ्नो उम्मेदवारको तय अहिलेसम्म नगरेको, माघको ६ गतेका लागि अर्को बैठक तोकिएको भन्दै त्यही दिनदेखि सदन नियमित अघि बढ्ने सम्भावना रहेको बताइन् ।