तनहुँ जिल्ला अदालतले लागुऔषध मुद्दाका एक अभियुक्तलाई दुई वर्ष कैदको फैसला गरेको छ । जिल्ला न्यायाधीश दुर्गाप्रसाद ढुङ्गेलको सोमबारको इजलासले शुक्लागण्डकी नगरपालिका–४ बस्ने कृष्ण प्रजापतिलाई दुई वर्ष कैदको फैसला गरेको हो ।
साथै उनलाई रु एक लाख जरिवाना गर्ने फैसलासमेत भएको जिल्ला अदालतका श्रेस्तेदार सुदर्शन खनालले जानकारी दिए।
सोही मुद्दामा पक्राउ परेका शुक्लागण्डकी नगरपालिका–४ बस्ने धतुरे भन्ने आशिष श्रेष्ठ, सोही नगरपालिका–३ बस्ने प्रेम भन्ने सुरज थापा, वडा ४ बस्ने टाटे भन्ने प्रकाश परियार,वडा–३ बस्ने हरि माककाले भन्ने मार्क श्रेष्ठ र रुपन्देही सम्मरीमाई गाउँपालिका–७ बस्ने अजयकुमार यादवलाई रु दुई हजार जरीवानाको फैसला गरेको उनले बताए।
साथै शुक्लागण्डकी नगरपालिका–३ बस्ने मेन्टल भाइ भन्ने विकास मगरले भने अदालतबाट सफाइ पाएका छन् । निजहरुविरुद्ध जिल्ला प्रहरी कार्यालय तनहुँले गत वैशाख ३० गते जिल्ला अदालतमा मुद्दा दर्ता गरेको थियो ।