२५ जेठ २०८३, सोमबार

रोजगारी सिर्जना गर्ने उद्योगलाई नगरपालिकामा कर छुट

रोजगारी सिर्जना गर्ने उद्योगलाई नगरपालिकामा कर छुट

बागलुङ नगरपालिकाले रोजगारी सिर्जना हुने गरी खोलिने सेवा तथा उत्पादनमूलक उद्योगमा कर छुट दिने भएको छ ।

सोमवार सम्पन्न छैटौं नगर सभाले स्थानीय स्रोत, साधनको प्रयोग गरी सञ्चालन हुने उद्योग, व्यवसायलाई करमा सहुलियत दिने निर्णय गरेको हो ।

नगरपालिकाले कम्तीमा २० जनालाई रोजगारी सिर्जना गर्ने गरी खोलिने होटललगायत सेवा तथा उत्पादनमूलक उद्योगमा लाग्दै आएको वार्षिक करमा ५ वर्षसम्मलाई ५० प्रतिशत छुट दिने भएको हो । उद्योग, व्यवसायका लागि बन्ने भवनको नक्सापास दस्तुरमा पूरै छुट दिने निर्णय गरिएको नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत डण्डपाणि शर्माले जानकारी दिए ।

‘उद्योग बन्ने ठाउँमा सडक, खानेपानी, बिजुली लगायतका सुविधा पुर्‍याउन पनि नगरपालिकाले विशेष सहयोग गर्छ,’ उनले भने । नेपाल भ्रमण वर्षसँगै नगरपालिकाले घोषणा गरेको बागलुङ भ्रमण वर्ष–२०७७ लाई लक्षित गरी सेवामूलक उद्योगको प्रवद्र्धन गर्न नगरपालिकाले कर छुटको योजना ल्याएको छ ।

उद्योग, व्यवसायमैत्री वातावरण सिर्जना गरी नगरको आर्थिक विकासलाई गति दिइने नगरपालिकाले जनाएको छ । 

छुट योजनाले लगानीकर्ता आकर्षित हुने विश्वास लिइएको छ । जिल्लामा हाल स–साना घरेलु तथा मझौला उद्योग सञ्चालनमा रहेपनि ठूलो रोजगारी सिर्जना गर्ने खालका उद्योग छैनन् ।

सरकारको ‘एक स्थानीय तह, एक औद्योगिक ग्राम’ को लक्ष्यअनुरुप सो नगरपालिकाको पनि औद्योगिक ग्राम निर्माणको प्रक्रिया अगाडि बढेको छ । 

नगर सभाले नगर प्रहरीसम्बन्धी विधेयक–२०७६ लाई पारित गरेको छ । वडा नम्बर ६ सिमदेखि वडा नम्बर ७  कालीमाटीसम्मको सडक स्तरोन्नतिका लागि प्रदेश सरकारबाट प्राप्त बजेट ७५ लाख रुपैयाँलाई नगरको कूल बजेटमा समावेश गर्ने निर्णय गरेको छ । योसँगै चालू आवमा नगरको बजेट १ अर्ब ३ करोड ३२ लाख रुपैयाँ पुगेको छ ।

salt training

कमेन्ट गर्नुहोस्