२८ जेठ २०८३, बिहीबार

नेकपामा सन्नाटा : यस्तो छ ओली–प्रचण्डको दाउ !

माघ १, २०७६
नेकपामा सन्नाटा : यस्तो छ ओली–प्रचण्डको दाउ !

नेकपाका दुई अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीचको असमझदारीले सत्तारुढ दलमा ‘सन्नाटा’ छाएको छ । 

आइतवार तेस्रो पटक ६ माघसम्मका लागि संसद बैठक स्थगित भएयताका २ दिन नेकपाका २ अध्यक्षबीच संवाद छैन ।

प्रधानमन्त्री ओली सरकारी निवास बालुवाटारमा व्यस्त छन् भने अर्का अध्यक्ष दाहाल खुमलटार–चितवन आउजाउ गरिरहेका छन् ।

मंगलवार प्रधानमन्त्री ओली बालुवाटारमै चेम्बर अफ कमर्सका प्रतिनिधिसँगको भेटघाटदेखि उच्च स्तरीय प्रशासन सुधार कार्यान्वयन तथा अनुगमन समितिको प्रतिवेदन बुझ्ने कार्यक्रममा व्यस्त देखिए । दाहाल भने बिहान पार्टीका नेता भीम रावल, अग्नि सापकोटा लगायतसँग अलग–अलग छलफल गरी चितवन पुगेर फर्केका छन् ।

नेकपाभित्र सभामुख चयन, विकास र सहयोग सम्बन्धी अमेरिकी नियोग मिलेनियम च्यालेन्ज कर्पाेरेसन (एमसीसी) का विषयमा पार्टी नेताहरूकै बीचमा तीव्र ध्रुवीकरण भइरहेको छ । दाहालले चितवन पुगेर मंगलवार साँझ थुप्रै मिटिङ गर्नुपर्ने भएकाले आफू २ घण्टाका लागि मात्र माडी आएको बताए पनि त्यस्तो छलफल दाहाल फर्केपछि पनि भएको छैन । 

संसद्मा झण्डै दुईतिहाइ मतका साथ बलियो उपस्थिति रहेको नेकपाले सभामुख उम्मेदवार चयन गर्न नसक्दा संसद् एक महिना बन्धक बनिसकेको छ तर बन्धक संसद् खुलाउने र पार्टीभित्रको ध्रुवीकरण तोड्न नेकपाका २ अध्यक्षलाई तीव्र दबाब भएपनि ओली–दाहाल संवादमा छैनन् । 

दुवै अध्यक्ष २ दिनयता एक–अर्का अध्यक्षले चाल्ने कदमको सूक्ष्म अध्ययन गर्दै बसेका छन् । ‘दुवै अध्यष केही दिन पर्ख र केरको नीतिमा देखिनुभएको छ,’ नेकपाका एक स्थायी समिति सदस्यले भने, ‘प्रधानमन्त्री आफू अनुपस्थित बैठकको निर्णय दाहालले कसरी कार्यान्वयन गर्न सक्छन् भनेर हेर्न थाल्नुभएको छ, दाहाल पनि प्रधानमन्त्री ओलीको अबको स्टेप के हुनसक्छ भनेर बसिरहेको देखिनुहुन्छ ।’

नेकपाभित्रको गाँठो फुकाउन संवादमा बस्नुपर्ने दुवै अध्यक्षनिकट नेतासँगको संवादमा छन् । दाहाल सचिवालयका एक सदस्यले मंगलवार चितवनबाट साँझ काठमाठौं फर्केर अन्नपूर्णसँग भने, ‘दुई दिनयता संवादमा गतिरोध छ, राजनीति चकमन्न छ ।’

सभामुखका लागि ओली र दाहालका आ–आफ्नै रुचिका पात्र छन् । सभामुखको पात्र चयनमा सकस परिरहेका बेला २३ पुसमा नेता बामदेव गौतमको भैसेपाटी निवासमा बसेको बहुमत सचिवालय सदस्यको ‘प्यानल बैठक’ले ओली–दाहालबीच झन् असमझदारी बढेको छ । अध्यक्षद्वयमा बढेको असमझदारीका कारण उपसभामुख शिवमाया तुम्बाहाङ्फेको राजीनामा अड्किएको नेकपा नेता बताउँछन् । आजको अन्नपूर्ण पोस्ट दैनिकमा समाचार छ ।

salt training

कमेन्ट गर्नुहोस्