२२ जेठ २०८३, शुक्रबार
स्ववियू निर्वाचन तयारी

कमजोर आत्मबल लिएर स्ववियू चुनाव लड्दै नेविसंघ, विद्यार्थी नेता भन्छन् - पार्टीका नेताले डुबाए !

कमजोर आत्मबल लिएर स्ववियू चुनाव लड्दै नेविसंघ,  विद्यार्थी नेता भन्छन् - पार्टीका नेताले डुबाए !

एक वर्षअघि नै विघटन भएको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको भातृसंगठन नेपाल विद्यार्थी संघ (नेविसंघ)भित्र स्वतन्त्र विद्यार्थी यूनियन(स्ववियू) निर्वाचनमा कसरी भाग लिने भन्ने बहसको आरम्भ भएको छ ।

त्रिभुवन विश्वविद्यालय कार्यकारी परिषदको बैठकले फागुन १४ गते स्वतन्त्र विद्यार्थी यूनियनको निर्वाचन मिति तोकेको हो । निर्वाचनको मिति तोकिएसँगै अन्य विद्यार्थी संगठनहरू तयारीमा जुटेका छन् । तर नेविसंघ पार्टीको आन्तरिक गुटबन्दीका कारण थप अन्योलमा फँसेको छ ।

नेविसंघका नेताहरूले संगठन विघटित अवस्थामा रहेपनि क्याम्पसहरूमा रहेका इकाई संगठनहरू चुनावको तयारीमा लागेको दाबी गरेका छन् ।

२०७३ साल भदौ २ गते भएको ११ औं महाधिवेशनले तोकेको केन्द्रीय कार्यसमितिको २ वर्षे म्याद गतसाल भदौ २ गते सकिएको थियो । नेविसंघको विधानमा एकपटक ३ महिनाका लागि म्याद थप्न सकिने प्रावधान छ । थपिएको समयमा तत्कालीन नेतृत्वले १२ औं महाधिवेशन गर्न नसकेपछि राजनीतिक निर्णयको नाममा थप २ महिना समय दिइएको थियो ।

पार्टीभित्रको आन्तरिक गुटबन्दीका कारण दोस्रोपटक थपिएको म्यादमा पनि १२ औं महाधिवेशन हुन सकेन । त्यसपछि गतसालको माघमा बसेको नेपाली कांग्रेस केन्द्रीय समितिले तदर्थ समिति गठन गर्ने भन्दै तत्कालीन केन्द्रीय समिति विघटन गर्यो ।

नेविसंघका तत्कालीन सभापति नैनसिंह महरले त्रिभुवन विश्वविद्यालय कार्यकारी परिषदले घोषणा गरेको स्ववियू निर्वाचन स्वागतयोग्य भएको टिप्पणी गरेका छन् ।

लोकान्तरसँग कुरा गर्दै महरले स्ववियू निर्वाचनका लागि नेविसंघको केन्द्रीय कार्यसमिति हुनु र नहुनुले खासै अर्थ नराख्ने बताए । 'नेविसंघका क्याम्पस इकाई समितिहरू छँदैछन् त्यसैले तयारीका लागि समस्या पर्दैन,' महरले भने, 'पार्टीको आन्तरिक गुटबन्दीका कारण नेविसंघलाई केही समस्या परेको सत्य हो । यसबारेमा पार्टी नेतृत्वले तत्काल केही न केही सोच्नुपर्छ ।'

महरले त्यतिबेला पार्टीको आन्तरिक गुटबन्दीका कारण महाधिवेशन गराउन नसकेको बताए ।  

११ औं महाधिवेशनमा महामन्त्रीको उम्मेद्वारी दिएका दिपक भट्टराईले स्ववियू निर्वाचनलाई आफूहरूले स्वागतयोग्य कदमका रूपमा लिएको बताए । 'ठूलो संघर्षबाट प्राप्त भएको संस्थाको गरिमालाई पार्टीका नेताहरूले गुटबन्दी गरेर सिध्याउन खोजेका छन्,' कांग्रेसका शीर्ष नेताहरूप्रति लक्षित गर्दै भट्टराईले लोकान्तरसँग भने, 'अहिले केन्द्रीय कार्यसमिति छैन । अप्ठेरो त छ । नेताहरू मूकदर्शक बनेर बसेका छन् ।'

भट्टराईले नेविसंघ एकजुट भएर निर्वाचनमा होमिन तयार रहेको बताए । 'हामी निर्वाचनको सवालमा यो या त्यो भन्दैनौं,' उनले भने ।

नेविसंघका पूर्वमहामन्त्री तथा ११ औं महाधिवेशनमा सभापतिका प्रत्यासी मनोजमणी आचार्यले माघ १५ गते जाडो विदा नसकिँदै पार्टीले नेविसंघको तदर्थ समिति घोषणा गर्नुपर्ने टिप्पणी गरेका छन् ।

'जाडो विदा सकिएलगत्तै निर्वाचनका लागि युद्धस्तरमा जानुपर्छ,' आचार्यले भने, 'संगठनका गतिविधिहरू क्याम्पसमा भइरहेका छन् । सदस्यता वितरण लगायतका कामहरू रोकिएको छैन । क्याम्पसको इकाई समितिको सभापतिले नै निर्वाचनका लागि संगठन दर्ता गर्न सक्ने प्रावधान छ ।'

उनले तत्काल केन्द्रीय समिति घोषणा गरेर अघि बढ्नुको विकल्प नरहेको बताए । 'पार्टी नेतृत्वले यसबारेमा बेलैमा सोच्नुपर्छ,' उनले भने, 'पार्टीले अन्य कुराहरू प्याकेजमा हल गर्न सक्छ, केही समय लगाउन सक्छ तर जाडो विदा सकिएर क्याम्पस खोलिनुभन्दा अगाडि नेविसंघको नेतृत्व दिनुपर्यो ।'

स्ववियू निर्वाचनमा २८ वर्षे उमेरहद लाग्ने भएकाले अब चुनिएर आउने नेताहरू फ्रेस हुने उनको दाबी छ ।

११ औं महाधिवेशनबाट निर्वाचित महामन्त्री कुन्दन काफ्लेले नेविसंघको केन्द्रीय कार्यसमिति विघटन भएपनि क्याम्पस र जिल्ला युनिटले आफ्नो काम गरिरहेको दाबी गरे । लोकान्तरसँग कुरा गर्दै काफ्लेले भने, 'फ्यासिलीटेट गर्ने केन्द्रीय समिति छैन, यसबाट केही असर त पक्कै पुग्छ । नेतृत्वले तत्काल यस विषयलाई सम्बोधन गर्नुको विकल्प छैन ।'

नेविसंघका तत्कालीन केन्द्रीय सदस्य शुशील भट्टले नेताहरूले 'घर सल्काएर खरानीको व्यापार' गर्न खोज्दा यो स्थिति आएको आरोप लगाए । '१ वर्ष भइसक्यो, पार्टीले यसबारेमा केही निर्णय दिएको छैन । नेताहरू आफू लडेका लड्यै छन्, हामीलाई पनि लडाए ।'

नेविसंघका नेताहरूले केन्द्रीय कार्यसमिति तत्काल गठन गर्ने पार्टी नेतृत्वलाई आग्रह गरेको भएपनि नेताहरूबीच निरन्तर बढिरहेको विवादका कारण तदर्थ समिति टुंगो लाग्ने परिस्थिति बनेको छैन । पटक-पटक सहमतिको प्रयास भएपनि सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलबीच नेविसंघ तदर्थ समिति गठनमा अहिलेसम्म कुनै सहमति हुन सकेको छैन ।

salt training

कमेन्ट गर्नुहोस्