
ललितपुरको गोदावरी नगरपालिकामा मात्रै ५७ क्रसर तथा खानी उद्योग दर्ता छन् । तीमध्ये ३१ सञ्चालनमा छन् । तर, कसैले पनि मापदण्ड पूरा गरेका छैनन्, अवैध रूपमा सञ्चालित छन् । छिमेकी बागमती गाउँपालिकामा त दर्तासमेत नगरी नौ उद्योग सञ्चालनमा छन् ।
जिल्ला समन्वय समितिअन्तर्गतको खानी अनुगमन तथा समन्वय समितिले मापदण्डविपरीत अवैध रूपमा चलिरहेका क्रसर बन्द गर्न पटकपटक स्थानीय सरकारलाई निर्देशन दिएको छ । तर, कसैले पनि कार्यान्वयन गरेका छैनन् । ‘पछिल्लो दुई वर्षमा हामीले सातपटकसम्म उद्योगहरूको अनुगमन गर्दा मापदण्ड पूरा नगरेको, नवीकरण नगरेको र दर्तासमेत नगरी चलाएको पायौँ,’ जिल्ला समन्वय समितिका उपप्रमुखसमेत रहेका अनुगमन समितिका संयोजक विनेश महर्जनले भने, ‘यस्ता उद्योग बन्द गर्न स्थानीय तहलाई पटकपटक लिखित निर्देशन दियौँ, तर कार्यान्वयन गर्दैगर्दैनन् ।’
गत साउनमा राष्ट्रिय सतर्कता केन्द्रले पनि ललितपुरमा ढुंगाखानीका नाममा भइरहेको प्राकृतिक दोहनबारे छानबिन गरी दोषीलाई कारबाही गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई सिफारिस गरेको थियो । त्यसमाथि पनि कारबाही भएको छैन ।
क्रसर र खानी उद्योगले गोदावरी–६ स्थित टीकाभैरव, टुसाल गाउँ, गैरीगाउँ र जुरेडाँडाका स्थानीयलाई बिचल्ली पारेका छन् । १४ पुसमा टीकाभैरवस्थित दम्सिडोल सामुदायिक वनको जुरेडाँडा जनप्रतिनिधिकै स्काभेटरले धमाधम खनिरहेको सूचना महानगरीय प्रहरी वृत्त चापागाउँका प्रहरी निरीक्षक वीरेन्द्र पनेरूलाई आयो । उनी टोली लिएर सो क्षेत्र पुग्दा गोदावरी–६ का वडाध्यक्ष विष्णुमान महर्जनकै सगरमाथा र मनकामना ढुंगा तथा रोडा उद्योगको स्काभेटरले धमाधम जुरेडाँडा फोर्दै गरेको भेटियो । प्रहरीले घटनास्थल घेरा हालेर स्काभेटरसहित चालकलाई नियन्त्रणमा लियो । भ्यानमा हालेर चालकलाई सरासर चापागाउँ प्रहरी वृत्तमा ल्यायो ।
जनप्रतिनिधिबाटै सञ्चालित अवैध ढुंगाखानीको नालीबेली अनुसन्धान गर्ने योजना बनाउँदै थिए, इन्स्पेक्टर पनेरू । तर, त्यहीवेला फोनबाट आदेश आयो, ‘पक्राउ परेका चालकलाई तुरुन्त छाड्नू ।’ यति मात्रै होइन, उनी आफैँ कारबाहीमा परेको सूचना आयो । चापागाउँ वृत्तबाट महानगरीय प्रहरी परिसर ललितपुर सरुवा गरिएको सूचना आयो ।
उक्त घटना प्रत्यक्ष नियालिरहेका चापागाउँ वृत्त प्रमुख डिएसपी कृष्ण ओझालाई बुधबार नयाँ पत्रिकाले जिज्ञासा राख्दा निरीह जवाफ दिए । ‘क्रसर उद्योगबारे अब हामीलाई सोध्दै नसोध्नुस् । प्रहरी न क्रसर उद्योग दर्ता गर्ने निकाय हो, न नियमन गर्ने नै । त्यसो हुँदा यस विषयमा अब हामी प्रवेश नै गर्दैनौँ । अवैध रूपमा खुलेका क्रसर उद्योगबारे सोध्ने हो भने दर्ता गर्ने ठाउँमै जानुहोस्,’ उनको जवाफ थियो ।
कानुन कार्यान्वयन गर्ने प्रहरीलाई समेत निरीह बनाउने अवैध ढुंगा तथा रोडा उद्योगका सञ्चालक विष्णुमान महर्जन वडाध्यक्ष मात्रै होइनन्, नगरपालिकाले गठन गरेको खानी संरक्षण समितिको संयोजकसमेत हुन् । खानी दोहन गर्ने व्यक्तिलाई नै नगरपालिकाले खानी संरक्षण समितिको संयोजक बनाउनु आनौठोभन्दा बढी गम्भीर छ । नगरपालिकाले गोदावरी–८ का वडाध्यक्ष सुकबहादुर लामालाई पनि समिति सदस्य चयन गरेको छ । उनको क्रसर उद्योगले पनि डुकुछापस्थित डाँडा दोहन गरिरहेको छ ।
क्रसर र खानी उद्योगले गोदावरी–६ स्थित टीकाभैरव, टुसाल गाउँ, गैरीगाउँ र जुरेडाँडाका स्थानीयलाई समेत बिचल्ली पारेका छन् । गैरीगाउँ र जुरेडाँडाका स्थानीयको त उठिवास नै लागेको छ । अन्त जान नसकेकाहरूको बारीका साँध पनि स्काभेटरले खनिसकेको छ । टुसाल गाउँमा भेटिएकी ३६ वर्षीया नानीमैया नगरकोटीले भनिन्, ‘पुख्र्यौली घर जुरेडाँडा हो । साढे ६ रोपनी जग्गा त्यहीँ छ । तर, खानीको डोजरले जग्गाको साँधसम्म खनेको छ । आज हो कि भोलि पहिरोले लैजाला भन्ने डर छ । विरोध गर्न कहाँ जाऊँ ? आफ्नै वडाको अध्यक्षले यति धेरै अन्याय गरे ।’
वडाध्यक्ष विष्णुमान महर्जनका सहोदर भाइ हुन्, वीरेन्द्रमान महर्जन । उनी हातहतियार उद्योगमा जेल सजाय भोगेका अभियुक्त पनि हुन् । वडाध्यक्ष दाइको उद्योगसँगै छ वीरेन्द्रमानको गुणसभु ढुंगा तथा रोडा उद्योग । जुरेडाँडा दोहनमा उनको स्काभेटर पनि दैनिक चल्छ । महर्जन दाजुभाइको भन्दा माथि सुदर्शन विष्टको अविरल ढुंगा तथा रोडा खानी छ । मधुसूदन डोटेलले चलाएको निराकार ढुंगाखानी पनि सँगै छ ।
यी सबैको दैनिक काम सामुदायिक वन जुरेडाँडा ताछ्ने हो । डाँडा भत्काएर निस्किएको गेग्य्रानले नल्लु खोलाको किनार छोपिसकेको छ । गत वर्ष खोलामा भेल आउँदा गेग्य्रानकै कारण खोला थुनियो । खोला झन्डै सय मिटर माथि टुसाल गाउँसम्म पुग्यो । टुसाल गाउँका ३२ वर्षीय राजकुमार नगरकोटीले भने, ‘क्रसरले मिचेर खोलालाई खोल्साजस्तो बनायो । पोहोरको बर्खामा बाढी आयो । गेग्य्रानले खोला थुनियो । ताल बनेर घरको आँगनमुनिसम्म पानी आयो । धन्न पछि ताल फुटेर मात्रै हो, नत्र घरै बगाउँथ्यो ।’
जुरे ताछ्ने क्रम दिनभर त चल्छ नै, राति पनि रोकिन्न । मेसिनको कर्कस आवाजले गाउँका विद्यार्थीको पढाइमा समेत असर गरेको छ । टुसालस्थित सरस्वती आधारभूत विद्यालयमा कक्षा ८ मा अध्ययनरत राजेश नगरकोटीले नयाँ पत्रिकासँग भने, ‘दिनरात स्काभेटर चल्छ । कर्कस आवाजले पढ्नसमेत सकेका छैनौँ । विद्यालय रहँदा होस् वा घर छँदा, मेसिनकै आवाजले सताउँछ ।’
खानीबाट उड्ने धुलोको असर उत्तिकै विकराल छ । धोएर सुकाएको लुगा झन् धुलाम्ये हुन्छ । भान्छाकोठादेखि ओछ्यानसम्म धुलो पुग्छ । टुसाल गाउँकी ३६ वर्षीय सुनीता तामाङले भनिन्, ‘जताजतै धुलो छ । खाने थालमा धुलो, लुगामा धुलो, ओछ्यानमा पनि धुलैधुलो हुन्छ । धुलोले निसास्सिएलाजस्तो भइसक्यो ।’
गोदावरी नगरपालिकाका मेयर गजेन्द्र महर्जन मापदण्डविपरीतका उद्योग बन्द गर्ने बताउँछन् । ‘घरेलु तथा साना उद्योग ललितपुरमा क्रसर उद्योगको फाइल पुगेको छ । हामीले उद्योगबाट फाइल मगाएका छौँ । फाइल पाएपछि अध्ययन गरी नवीकरण गर्न मिल्नेलाई नवीकरण गर्छौँ, नमिल्नेलाई बन्द गर्छौँ,’ उनले भने ।
क्रसर तथा खानी सञ्चालनका लागि बागमती प्रदेशको मापदण्ड
ढुंगा संकलन तथा क्रसर उद्योग सञ्चालनका लागि बागमती प्रदेश सरकारले मापदण्ड तोकेको छ । यी उद्योग खोला र वर्षात्को प्रवाह सीमा किनारबाट पहाडमा तीन सय मिटर र तराईमा पाँच सय मिटरको दूरीमा हुनुपर्नेछ । त्यस्तै, हाइटेन्सन लाइनबाट सय मिटर, राजमार्गको मापदण्ड क्षेत्रबाट पहाडमा तीन सय मिटर र तराईमा पाँच सय मिटर दूरीमा हुनेपर्ने तोकिएको छ ।
शिक्षा र स्वास्थ्य संस्था, धार्मिक, सांस्कृतिक पुरातात्विक महत्वका स्थान तथा सुरक्षा निकायबाट पहाडमा एक किलोमिटर र तराईमा दुई किलोमिटर दूरीमा मात्रै यस्ता उद्योग खोल्न सकिन्छ । निकुञ्ज, आरक्षण क्षेत्र, संरक्षण क्षेत्रबाट पहाडमा दुई किलोमिटर, तराईमा दुई किलोमिटर, घना बस्तीबाट पहाडमा दुई किलोमिटर, तराईमा दुई किलोमिटर, वन क्षेत्रबाट पहाडमा एक किलोमिटर र तराईमा दुई किलोमिटर दूरीमा मात्रै उद्योग खोल्न सकिने मापदण्ड छ । त्यस्तै, पक्की पुलबाट पाँच सय मिटर, अन्तर्राष्ट्रिय सीमाबाट एक किलोमिटर कायम हुनुपर्नेछ ।
खानी संरक्षण समितिका संयोजक तथा वडाध्यक्षकै दुई क्रसर उद्योग
गोदावरी नगरपालिकाले प्राकृतिक दोहन रोक्न वडा नं. ६ का अध्यक्ष विष्णुमान महर्जनको संयोजकत्वमा खानी संरक्षण समिति गठन गरेको छ, तर उनी आफैंले दुई क्रसर उद्योग खोलेर टीकाभैरवस्थित दम्सिडोल सामुदायिक वनको हराभरा डाँडामा डोजर चलाइरहेका छन्
फाइल मगाएका छौँ, मापदण्ड नपुगेका उद्योग बन्द गराउँछौँ : गजेन्द्र महर्जन
मेयर, गोदावरी नगरपालिका
गोदावरी नगरपालिकाका मेयर गजेन्द्र महर्जनले मापदण्डविपरीतका उद्योग बन्द गर्ने बताए । ‘घरेलु तथा साना उद्योग कार्यालयमा क्रसर उद्योगको फाइल पुगेको छ । हामीले त्यहाँबाट फाइल मगाएका छौँ । अध्ययन गरेर नवीकरण गर्न मिल्नेलाई गर्छौँ, नमिल्नेलाई बन्द गराउँछौँ,’ उनले भने ।
गृह मन्त्रालय भन्छ– सिडिओको अधिकार कटौतीपछि दोहन बढ्यो
अधिकांश ठाउँमा स्थानीय तहकै मिलेमतोमा बालुवा, गिटी, रोडा ठेक्काको नाममा प्राकृतिक स्रोतमाथि दोहन भइरहेको छ । अझ नदीजन्य पदार्थको उत्खनन, वितरण र ओसारपसारसम्बन्धी अनुगमन गर्ने जिल्ला अनुगमन तथा समन्वय समितिको संयोजक सिडिओको सट्टा जिल्ला समन्वय समितिका प्रमुखलाई बनाइएपछि अनियमितता झन् बढेको छ । त्यो समितिमा सिडिओ र प्रहरी प्रमुखको प्रतिनिधित्व मात्र हुन्छ, भूमिका खुम्च्याइएको छ ।
स्थानीय तहको चुनावअघि अनुगमन समितिको प्रमुख सिडिओ हुने प्रावधान थियो । चुनावपछि सिडिओ सदस्य मात्र हुने र समन्वय समितिको प्रमुख नै संयोजक रहने मापदण्ड सरकारले बनाएको हो । क्रसर व्यवसायीकै दबाबमा सिडिओको जिम्मेवारी खुम्च्याइएको गृह मन्त्रालयका अधिकारीहरूको भनाइ छ । त्यसपछि सिडिओहरू मूकदर्शक बनेका छन् । ‘पछिल्लो समय क्रसर उद्योगको अनुगमनमा सिडिओको अधिकार कटौती भएको छ,’ गृहका प्रवक्ता केदारनाथ शर्माले भने, ‘कतिपय अवस्थामा सिडिओले अनियमितता रोक्न खोज्दा पनि सक्दैनन्, दोहन बढेको छ ।’ तर, कतिपय जिल्लामा सिडिओ र प्रहरीको समेत मिलेमतो हुने गरेको स्रोत बताउँछ । नयाँ पत्रिकामा खबर छ ।