
सरकारका प्रवक्ता सूचना तथा सञ्चार प्रविधि मन्त्री गोकुल बास्कोटाले नेकपाका नेता भीम रावललाई ज्यान मार्ने धम्की अपत्यारिलो विषय भएको बताएका छन् ।
मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधि मन्त्री बास्कोटाले पत्रकारले सोधेको प्रश्नको जवाफमा भने, ‘यो चाहिँ तपाईंलाई पत्यार लाग्छ ? प्रधानमन्त्री त्यस्तो खालको हुनुहुन्छ र ? ज्यान मार्ने धम्कीको सत्यता छँदा पनि छैन ।’
मन्त्री बास्कोटाले कसले धम्की दिएको नाम सार्वजनिक गर्न चुनौती दिए ।
‘साँच्चै हो भने यसले योबाट फोन गरेको भने हामीले कारवाही गर्नुपर्छ । विचारकै कारण ज्यानको धम्की दिन मिल्दैन,’ बास्कोटाले भने, ‘प्रधानमन्त्री नेकपाकै नेता र उहाँ नेताकै । उहाँको सरक्षा व्यवस्था सरकारले गराइरहेको छ । ज्यान माथिको सुरक्षा खतरा छ भन्ने लाग्दैन । प्रधानमन्त्रीले आफ्नै कार्यकर्तामाथि तरबार र गोलीको माला भिरेर हिँड्नुहुन्छ, यो सत्य होइन ।’
यसअघि रावलले आफूलाई बालुवाटारबाट नै ज्यान मार्ने धम्की आएको दाबीसहित सञ्चारमाध्यमहरूलाई अन्तर्वार्ता दिएका थिए ।