
रुसको राजधानी मस्कोको दोमोदेदोभो विमानस्थलमा बन्दै गरेको तेस्रो धावनमार्गमा सुखोई सुपरजेट १०० विमान ओर्लेपछि यात्रुहरू आत्तिएका छन् ।
उक्त धावनमार्ग बन्न वर्षौंदेखि विलम्ब भइरहेको थियो ।
कुल ९९ मानिस सवार विमान बिहीवार मध्याह्न मस्कोको दोस्रो व्यस्त विमानस्थलको बन्दै गरेको धावनमार्गमा सुरक्षित रूपमा अवतरण गरेको थियो । यसरी अवतरण गर्दा यात्रु र विमान कर्मचारीलाई कुनै चोटपटक लागेन अन्य कुनै जटिलता पनि देखिएन ।
विमानका यात्रुले खिचेको भिडियोमा विमान कुनै पनि रेखा वा मार्क नभएको धावनमार्गमा बिस्तारै ओर्लेको देखिन्छ ।
धावनमार्गमा कुनै संकेत चिह्न नदेखिएपनि यात्रुहरूले शंका गरेनन् ।
इरएयरो क्यारियर नामक एयरलाइन्सका पाइलटले विमान अवतरण गर्दा आपतकालीन स्थिति नआएको तर यसरी अवतरण गराउनु आफ्नो गल्ती भएको बताए । मस्कोमा मौसमको हाल खराब भएको र आफूले अपूर्ण धावनमार्गलाई मात्र देखेको उनले बताए । यो धावनमार्ग पुरानोभन्दा २८० मिटर मात्र पर छ ।
आफूले नियमित किसिमको अवतरण गराएको र विमानले भुइँ छोएपछि मात्र गलत ठाउँमा ओर्लिएको थाहा पाएको पाइलटले बताए ।
दोमोदेदोभो विमानस्थलको तेस्रो धावनमार्ग सन् २०१४ देखि बनाइन शुरू गरिएको थियो र दुई वर्षमा सक्ने लक्ष्य लिइएको थियो । तर मुख्य ठेकेदार टाट पल्टिएपछि ८० प्रतिशत काम सकिएको धावनमार्ग अपूरो नै छोडिएको थियो । यो कहिलेदेखि पूर्ण सञ्चालनमा आउने हो भन्ने निश्चित छैन ।
एजेन्सी