
गायिका आस्था राउतले आफूलाई प्रहरीले ‘तँ’ भनेर दुव्र्यवहार गरेको भन्दै बिहीबार सामाजिक सञ्जालमार्फत एउटा श्रव्यदृष्य सामग्री ‘भिडियो’ राखेकी थिइन् ।
उक्त भिडियो सामाजिक सञ्जालमा भाइरल छ ।
दश मिनेट ३१ सेकेन्डको भिडियोमा उनले प्रहरीलाई अपशब्द प्रयोग गरी गालीगलौज गरेको सुन्न सकिन्छ ।
लोकान्तरले सार्वजनिक गरेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सुरक्षा जाँचका बेला भएको सबै गतिविधिको सीसीटिभी फुटेजमा प्रहरीको भन्दा गायिका राउतको गतिविधि शङ्कास्पद देखिन्छ ।
सिसी टिभी फुटेजमा महिला प्रहरीले सुरक्षा जाँचका बेला कुनै दुव्र्यवहार गरेको नदेखिने महानगरीय प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक विश्वराज पोखरेलले बताए ।
राउतले नै अभद्र व्यवहार गरेको फुटेजमा देखिएको भन्दै उनले घटनाको अनुसन्धान भइरहेको जानकारी दिए । यस विषयमा महिला प्रहरीले महानगरीय प्रहरी कार्यालयमा घटनाको विवरणसहित जानकारी गराएकी छिन् ।
उक्त विवरणमा ‘सुरक्षाको जाँच गर्न खोज्दा किन गर्नुप¥यो, म गायिका हो, चिन्नु भएन ?’ भनेर गायिका राउतले उल्टै प्रश्न गरेको फुटेजमा उल्लेख रहेको कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक किरण बज्राचार्यले बताए ।
राउतलाई बोलाएर सोधपुछ गर्ने अवस्था देखिएको भन्दै उनले महिला प्रहरीबाट कुनै दुव्र्यवहार नभएको जिकिर गरे । घटना बुधबार अपराह्नको हो । राउत त्रिभुवन विमानस्थलको आन्तरिक उडान कक्षबाट भद्रपुर जाँदै गर्दा उक्त घटना भएको थियो ।