
यातायात अभावमा अपिहिमाल गाउँपालिका–३ का कपुरसिंह कार्कीले पारि बगरदेखि आठ घण्टाको उकालो चढेर गाउँ जानुपर्ने समस्या कायमै छ ।
घाजिर, सितीलगायत गाउँका स्थानीयले खाद्यान्न, निर्माण सामग्रीदेखि बिरामी र अशक्तलाई घण्टौँ पिठ्युँमा बोकेर सडक मार्गसम्म पुर्याउनुपर्ने बाध्यता रहेको उनले बताए ।
दार्चुलाको दुर्गम गाउँपालिकामध्येको अपिहिमाल गाउँपालिका केन्द्रसम्म सडक पुगेको छैन । मार्माको पारिबगरदेखि मकरीगाडसम्म गत वर्ष सडकको ट्र्याक खुलेको छ ।
मकरीगाडसम्म आशिंक रुपमा यातायात सूचारु भएपनि मकरीगाडदेखि गाउँपालिका केन्द्रसम्म पुग्न चार घण्टा पैदल यात्रा गर्नुपर्छ ।
गाउँपालिका केन्द्रबाट चार घण्टा हिँडेर गाउँसम्म पुग्ने घाजिरका स्थानीयले सडक निर्माण गरिदन सरकारसँग अनुरोध गरेका छन् । गोरखापत्र दैनिकमा खबर छ ।