२३ असार २०८३, मंगलबार

दीपिकाप्रति कंगनाको कटाक्ष : टुक्रे ग्याङको पछि लागेर हि‌ंड्दिन

माघ ५, २०७६
दीपिकाप्रति कंगनाको कटाक्ष : टुक्रे ग्याङको पछि लागेर हि‌ंड्दिन

एकले अर्काको अस्तित्व नस्विकार्ने प्रवृत्ति बलिउडमा चर्को छ । प्रतिस्पर्धात्मक बजारका कारण र फिल्म उद्योगमा टिकिरहन सेलिब्रेटीहरू एकअर्काप्रति होच्याउने र तल खसाल्न उद्यत रहेको देखिन्छन् ।

अभिनेत्री दीपिका पादुकोणले दस दिनअघि जवाहरलाल नेहरू (जेएनयू) विश्वविद्यालयमा पुगेर आन्दोलनकारी विद्यार्थीप्रति ऐक्यबद्धता जनाएपछि उनको कदमको पक्ष र विपक्षमा बलिउडदेखि राजनीतिक क्षेत्रसम्म पक्ष र विपक्षमा विभाजन भयो । प्राय: विवादका मुद्दामा आफ्नो मुख खोलिहाल्न रुचाउने अर्की अभिनेत्री कंगना रनावतले भने बल्ल दीपिकाको उक्त कदमबारे टिप्पणी गरेकी छन् ।

दीपिकाको जेएनयू भ्रमणबारे प्रतिक्रिया दिने क्रममा कंगनाले सुरुवातमा ‘त्यो दीपिकाको प्रजातान्त्रिक अभ्यास’ भन्दै अन्यले टिप्पणी दिइरहनु आवश्यक नरहेको जिकिर गरिन् । ‘मलाई लाग्छ, त्यो उनले (दीपिकाले) आफ्नो प्रजातान्त्रिक अधिकारको अभ्यास गरेकी हुन्, जुन उनले पाउँछिन्,’ कंगनाले कुरालाई बढाउँदै थपिन्, ‘उनैलाई पनि आफूले चालेको कदमबारे राम्रोसँग थाहा छ । त्यसैले मलाई उनले गरेको उक्त कामप्रति यसो गरेको भए हुन्थ्यो वा यसो नगरेको भए हुने भनेर कुनै विचार दिइरहनु आवश्यक ठान्दिनँ ।’

तर आफ्नै समकक्षी अभिनेत्रीविरुद्ध चर्को आलोचना भइरहेको उक्त मुद्दामा कंगनाले मौनता साँधेर बस्ने कुरै थिएन । स्वयं कंगनाले पनि यसलाई मौकाको रूपमा उपयोग गर्न चाहिरहेकी हुन सक्थिन् । नभन्दै भूमिका जे बाँधे पनि अन्तत: भनिन्, ‘बरु मैले भए के गर्थें त्यो भन्न सक्छु ।’ त्यसपछि दीपिकाप्रति कटाक्ष गर्दै कंगना खुलिन्, ‘म भएको भए कुनै पनि हालतमा त्यहाँ (जेएनयू) जान्नथें र त्यस्ता टुक्रे ग्याङले जे गर्छन् त्यसको पछि लागेर हिँड्दिनथें ।’

त्यसपछि कंगनाले दीपिकाको कदमलाई हाँसोमा उडाइदिइन् । ‘म त त्यस्ता देश नै टुक्राउन खोज्नेको समर्थन कहिल्यै गर्न चाहन्नँ । जब देशका राष्ट्रसेवक जवान मारिन्छन् अनि खुसियाली मनाउने त्यस्ता जत्थाहरूलाई प्रोत्साहन गर्ने वा शक्तिशाली बनाउने गरी साथ दिन चाहन्नँ । अनि त्यस्ताको पक्षमा म हुने कुरै भएन । तर अझै पनि म भन्छु, दीपिकाले के गरिन् भन्ने बारेमा भने कुनै टिप्पणी गर्न चाहन्नँ ।’

त्यसो त दीपिकाको कदमप्रति राजनीतिक रंग पनि लाग्यो । सरकारविरोधी आन्दोलन गरिरहेका विद्यार्थीको पक्षमा उभिएको कारण भारतीय जनता पार्टीका प्रवक्ताले अभिनेत्रीको फिल्म ‘छपाक’ लाई नै बहिस्कार गर्ने अभियान चलाएका थिए । जुन ट्वीटरमा ट्रेन्डिङमा पनि आयो । यसबारेमा भने कंगनाले केही फरक मत राखेकी छन् । दीपिकाको कदमप्रति व्यंग्य कसेकी कंगनाले फिल्म बहिस्कारको अभियानको विरोध गर्दै भनिन्, ‘एउटा फिल्म त्यसको गुणका आधारमा चल्ने नचल्ने हुन्छ । कसैले बहिस्कार गर्दैमा फरक पर्ने हैन । ट्वीटरमा विरोध गर्नेहरू कति नै पो छन् र यदि फिल्म नै राम्रो छ भने विश्वास गर्नुस्, तिनै विरोध गर्नेहरूले समेत हलसम्म गएर फिल्म हेर्छन् । गतिलो फिल्मलाई कसैले पनि रोक्न सक्दैन ।’ जब कि कंगनाकी बहिनी रंगोली चन्डेलले दीपिकाले ‘छपाक’ चलाउने हत्कन्डाका रूपमा उक्त भ्रमणको उपयोग गर्न खोजेको भन्दै आलोचना गरेकी थिइन् । कान्तिपुर दैनिकमा खबर छ ।

salt training

कमेन्ट गर्नुहोस्