
संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री योगेशकुमार भट्टराईले नेपाल आएका पर्यटकको पूर्ण सुरक्षा सरकारले गर्ने बताएका छन् ।
राष्ट्रिय फोटो पत्रकार समूह एनएफपीजे नेपालद्वारा प्रकाशित ‘नेपाल दर्शन–२०२०’ फोटो पुस्तक तथा पुरस्कार विवतरण कार्यक्रममा मन्त्री भट्टराईले अहिलेसम्म पर्यटक सुरक्षित रूपमा रहेको बताए । उनले पर्यटकलाई कुनै आपतविपदमा सरकार जुनसुकै बेला पनि उद्दार गर्ने बताए । उनले पर्यटकलाई आपतविपदमा सरकारले चाँडो सुरक्षा गर्न व्यवस्था मिलाएको समेत जानकारी दिए । उनले अन्नपूर्ण पदमार्गमा पनि करीव दुई सय जना पर्यटकलाई सुरक्षित ठाउँमा स्थान्तरण गरिएको बताए । उनले नेपाल भ्रमण बर्षलाई केहीले असफल बनाउन प्रयास गरेको भन्दै भौतिक पूर्वाधारको काम गुणात्मक रूपले अगाडि बढेको समेत बताए ।
उनले नेपाल भ्रमण बर्षले सवै लक्ष्य पूरा गर्न नसक्ने भन्दै भ्रमण वर्षलाई आधार बर्षको रूपमा मानेर एक दशक नेपाल भ्रमण वर्ष मनाउने सरकारको तयारी रहेको धारणा राखे । उनले पुस्तकमा समावेश फोटोले नेपाल चिनाएको भन्दै पुस्तकले पर्यटकलाई नेपाल चिन्न सहयोग मिल्ने बताए ।
'पुस्तकमा नेपालको हिमाल, पहाड, तराईदेखि सवै जातजाति भाषा संस्कृति झल्काउने फोटो रहेको छ,' उनले भने, 'पुस्तकमा रहेका फोटो हेरेर पर्यटक नेपाल घुम्ने ठाउँको छनोट गर्ने छन् ।'’ उनले पुस्तकलाई नेपालमा मात्र नभएर विदेशस्थित नेपाली कुटनीतिक नियोगमा पनि पुर्याउनुपर्ने भन्दै भ्रमण वर्ष सफल बनाउने पुस्तकको भूमिका समेत रहने बताए ।