
वैज्ञानिकहरूले धेर तातेपछि आफैं पसिना निकालेर चिसिने फोन विकसित गर्न लागेका छन् ।
मानव सहितका धेरै स्तनधारीहरू गर्मीमा पसिना निकालेर तातोलाई हटाउने गर्छन् ।
फोनको तापक्रमलाई घटाउनका लागि पानी निकाल्न र पानीले फोन बिगार्न नदिनका लागि मान्छेको कपालभन्दा तीन गुणा बाक्लो धातु बनाइँदैछ ।
त्यो पानी हावा बनेर बिलाउँछ अनि त्यसले फोनबाट निस्कने अतिरिक्त तापलाई उडाउँछ ।
चीनका वैज्ञानिकहरूले यो अनौठो आविष्कार गरेका हुन् । व्यापक रूपमा प्रयोग गर्न अहिलेका लागि यो एकदमै महंगो रहेको तर भविष्यमा यसको उपयोग गर्न सकिने उनीहरूले बताए ।
फोन बाहेक अन्य विद्युतीय उपकरणमा पनि यसको उपयोग गरेर उपकरणलाई बढी तात्नबाट बचाउन सकिन्छ ।
शांघाई जियाओ तोङ विश्वविद्यालयमा रेफ्रिजरेसन इन्जिनीयरिङको अध्ययन गर्ने रुझु वाङले भने, ‘माइक्रोइलेक्ट्रोनिक्सको विकास भएसँगै थर्मल म्यानेजमेन्ट प्रविधिको माग बढेको छ किनकि सबै कम्पोनेन्टहरू कसिकसाउ गरी खाँदिएका हुन्छन् र चिपहरू तात्न सक्छन् ।’
‘उदाहरणका लागि, प्रभावकारी चिस्यान प्रणालीको अभावमा हाम्रा फोनहरूको सिस्टम ब्रेकडाउन हुन सक्छ र लामो समय फोन चलाउँदा वा ठूलो याप लोड गर्दा फोन तातेर हातै डढ्न सक्छ,’ उनले थपे ।
शरीरको तापक्रमलाई नियमन गर्नका लागि स्तनधारीहरूले पसिना निकाल्छन् र चिनियाँ वैज्ञानिकहरूले त्यसैबाट प्रेरित भएर फोनको पसिना निकाल्ने व्यवस्था गर्न लागेका हुन् ।
विद्युतीय उपकरणहरूलाई शीतल राख्न फ्यान वा मैन र फ्याट्टी एसिडहरू उपयोग गर्ने गरिएको छ ।
तर यिनीहरू शीतल बनाउनका लागि प्रभावकारी नरहेको अनि पानी निकालेर त्यसलाई ग्यासमा परिणत गर्दा १० गुणा बढी प्रभावकारी हुने चिनियाँ वैज्ञानिकहरू बताउँछन् ।
एजेन्सी