०८ साउन २०८३, शुक्रबार

गण्डकीमा नेकपा र कांग्रेसका १/१ जनाले गरेनन् मतदान

गण्डकीमा नेकपा र कांग्रेसका १/१ जनाले गरेनन् मतदान

संघीय संसद्को माथिल्लो सदन राष्ट्रिय सभामा रिक्त १८ जना सदस्य चयनका लागि बिहीवार सातै प्रदेशमा मतदान भएको छ । यसैक्रममा गण्डकी प्रदेशमा पनि शान्तिपूर्ण वातावरणमा मतदान सम्पन्न भएको छ । 

पोखराको राष्ट्र बैंक चोकस्थित जिल्ला निर्वाचन कार्यालय परिसरमा मतदान व्यवस्था मिलाइएको थियो । मतभारका हिसाबले गण्डकीमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) उम्मेदवारको जित सुनिश्चितजस्तै छ ।

मतदानमा नेकपा र कांग्रेसका १/१ जना अनुपस्थित भएका छन् । नेकपाका तर्फबाट दामोदर कुण्ड गाउँपालिका मुस्ताङका अध्यक्ष छोम्तेन लोप्चन र कांग्रेसको तर्फबाट सिरानचोक गाउँपालिका गोरखाकी उपाध्यक्ष  रिता देवकोटा मतदानमा सहभागी नभएका हुन् ।

नेकपाबाट अन्यमा पार्टी प्रवक्ता समेत रहेका गोेरखाका नारायणकाजी श्रेष्ठ र महिलातर्फ तनहुँकी भगवती न्यौपाने उम्मेदवार छन् ।

मतदानका लागि गण्डकी प्रदेश मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ पनि निर्वाचन कार्यालय परिसरमा पुगेका थिए ।

२ सदस्यका लागि गण्डकीमा ५ जनाले उम्मेदवारी दिएका छन् ।

सत्तारुढ नेकपा र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले दुवैै पदमा मनोनयन दर्ता गराएकोमा प्रदेश र प्रतिनिधिसभाको उपचुनावमा सहकार्य गरेको राष्ट्रिय जनमोर्चाले एक पदमा मात्रै उम्मेदवारी दिएको छ ।

कांग्रेसबाट अन्यमा स्याङ्जाका सूर्यप्रसाद रेग्मी र महिलातर्फ म्याग्दीकी बिमला गौचन प्रतिस्पर्धामा छन् । जनमोर्चाबाट कास्कीका शंकर बरालमात्र छन् ।

गण्डकीमा सुरेन्द्र पाण्डे र बृन्दा आले रानाको कार्यकाल सकिएपछि यहाँ चुनाव भएको हो ।

गण्डकीमा नेकपाबाट पूरा कार्यकाल पाउनेमा अन्यतर्फ गणेश तिमिल्सिना, दीननाथ शर्मा, महिलातर्फ शान्ति जिसी र दीपा गुरुङ छन् भने दलितमा खेमबहादुर विक यसअघि नै निर्वाचित भएका थिए भने कांग्रेसका प्रकाश पन्थ अपाङ्गता कोटाबाट सांसद बनेका छन् ।

गण्डकीमा नेकपाको मतभार एकलौटी छ । नेकपाका १ सय २३ मतदाता छन् भने कांग्रेससँग ९८ र राष्ट्रिय जनमोर्चासँग ६ मत छ । समाजवादी पार्टी र राप्रपाको २/२ मत छ ।

मतभार हिसाब गर्दा नेकपाको मात्रै ३ हजार ४ सय १४ मतभार छ भने कांग्रेससँग २ हजार १ सय ९६ मतभार छ । नेकपाबाहेक अरू सबै पार्टी मिल्दा पनि चुनाव जित्न मत पर्याप्त हुँदैन ।

salt training

कमेन्ट गर्नुहोस्