
बेलायतको बोरिस जोनसन सरकारले सन् २०२० को अन्त्यसम्ममा नयाँ आप्रवास प्रणाली ल्याउने भएको छ ।
गृहमन्त्री प्रीति पटेलले अस्ट्रेलियाको जस्तो अंकमा आधारित आप्रवास प्रणालीको अनुसरण गर्नुपर्ने बताएकी छन् ।
बेलायतले युरोपेली संघबाट जनवरी महिनाभरिमा हटिसक्ने अनि सन् २०२० को अन्तिम दिनसम्ममा युरोपेली संघका सबै नियमावलिलाई त्याग्ने योजना बनाएकाले नयाँ आप्रवास प्रणाली ल्याउन खोजेको हो ।
बेलायती सरकारका एक स्रोतले द डेली एक्सप्रेस पत्रिकालाई बताए, ‘संसारभरिका प्रतिभाशाली र क्षमतावान कामदारहरू बेलायत आउन चाहन्छन् तर हामीले बेलायतमा अदक्ष कामदारहरूको संख्या घटोस् भन्ने कुरालाई पनि सुनिश्चित गर्नु जरूरी छ ।’
सोमवार प्रधानमन्त्री बोरिस जोनसनले ब्रेक्जिटपछिको आप्रवास प्रणाली उलटफेर गरने बताए ।
बेलायतमा आवश्यक पर्ने कामका लागि कामदारहरूलाई निवेदन दिन लगाउने र उनीहरूको योग्यताका आधारमा अंक दिएर प्रवेशाज्ञा दिने योजना बनिरहेको छ ।
उनीहरूले आफ्नो क्षेत्रमा बिताएको समय, उनीहरूको शैक्षिक योग्यता, उमेर र अंग्रेजी भाषामा दक्षताले अंक निर्धारण गर्नेछ ।