
राष्ट्रपति विद्यादेवी भण्डारीका सल्लाहकार सुशील प्याकुरेलले पदबाट राजीनामा दिएका छन् । प्याकुरेलले राष्ट्रपति भण्डारीलाई शुक्रवार राजीनामा पत्र बुझाएका हुन् ।
'सुदृढ लोकतन्त्रका लागि कानूनका सामु सबैको समान हैसियत कायम गराउने गणतन्त्र नेपालका आम नेपालीको आकांक्षाको पक्षमा योगदान गर्न मैले राष्ट्रपतिको विज्ञ सल्लाहकारको पदबाट राजीनामा गरेको हुँ,' प्याकुरेलले राजीनामा पत्रमा लेखेका छन् ।
राष्ट्रिय मानव अधिकार आयोगका पूर्व आयुक्त समेत रहेका प्याकुरेल २०७४ साल चैत ९ गते राष्ट्रपतिको सल्लाहकारमा नियुक्त भएका थिए ।
राष्ट्रपतिलाई राजनीतिक, सामाजिक र मानवअधिकारसम्बन्धी सल्लाह दिने गरी उनलाई नियुक्त गरिएको थियो ।
स्रोतका अनुसार अग्नि सापकोटालाई सभामुख पदको उम्मेदवार बनाउने निर्णयप्रति प्याकुरेल असन्तुष्ट थिए ।