
प्रतिबन्धित लागूऔषधसहित सिरहा प्रहरीले जिल्लाको छुट्टाछुटै स्थानबाट ४ जना युवकलाई पक्राउ गरेको छ ।
प्रहरी चौकी ठाडी सिरहाबाट खटिएको गस्ती टोलीले सिरहाको भगवानपुर गाउँपालिका–३ बाट लागूऔषधसहित शुक्रवार जिल्लाको नवराजपुर गाउँपालिका–१ निवासी २५ वर्षीय उपेन्द्रकुमार यादव र भगवानपुर गाउँपालिका–२ निवासी २२ वर्षीय अरुणकुमार यादवलाई पक्राउ गरेको हो ।
भारतबाट नेपालतर्फ आउँदै गरेको स९प ८५८२ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा लागूऔषध डाइलेक्स डिसी ७ बोतल र नाइट्राभेट ११ पिस बरामद भएपछि मोटरसाइकलमा सवार दुवै जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।
सिरहाको धनगढीमाई नगरपालिका–९ बाट प्रतिबन्धित लागूऔषध गाँजासहित जिल्लाको विष्णुपुर गाउँपालिका–५ निवासी २९ वर्षीय सुनिलकुमार पासवान र धनगढीमाई नगरपालिका–८ निवासी २४ वर्षीय महेन्द्र साहलाई पक्राउ गरेको छ ।
प्लास्टिकको झोलामा प्याकेट बनाएर गाँजा तस्करी भइरहेको गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय सिरहाबाट खटिएको सादा पोशाकको टोलीले साढे १४ किलो लागूऔषध गाँजासहित दुवै जनालाई पक्राउ गरेको हो ।
प्लास्टिकका बोरामा प्याकेट बनाएर स७प १२८२ नम्बरको मोटरसाइकलमा लुकाइछिपाइ ल्याइरहेको अवस्थामा दुवै जनालाई पक्राउ गरिएको सिरहाका प्रहरी उपरीक्षक उमाप्रसाद चतुर्वेदीले जानकारी दिए ।
लेनदेन बिगो मुद्दामा जिल्ला अदालत सिरहाबाट सजाय पाएर फरार सिरहाको बरियारपट्टी गाउँपालिका– ५ कजरा निवासी ६२ वर्षीय वेचनप्रसाद यादवलाई प्रहरीले पक्राउ गरेको छ ।