
एक अध्ययनका क्रममा फेला परेका प्रमाणलाई आधार बनाएर वैज्ञानिकहरूको एक टोलीले मानिसको मृत्युको ४८ घन्टासम्म पनि उसको वीर्य गर्भधारणका लागि उपयोग गर्न सकिने र त्यसबाट स्वस्थ बच्चा जन्मिने दाबी गरेका छन् ।
यो अध्ययन जर्नल अफ मेडिकल एथिक्समा प्रकाशित भएको छ । त्यसमा दाबी गरिएअनुसार, मानिसको मृत्युपछि उसका शुक्राणुहरूलाई स्पर्म बैंकमा जम्मा गर्न मिल्छ ।
अध्येताहरूले यस विधिलाई नैतिक रूपमा स्वीकार गर्नुपर्ने र यसले गर्दा स्पर्म बैंकमा शुक्राणुहरूको मात्रा बढाउन सकिने लेखेका छन् ।
अध्ययनमा लेखिएअनुसार मरेपछि पुरुषहरूबाट लिइएको वीर्य दान गर्ने अनुमति दिइनुपर्छ ।
वीर्यदानसँग जोडिएको कानून कडा भएका कारण स्पर्म बैंकहरूमा वीर्यको मात्रा घटिरहेको देशका लागि यो अध्ययन एकदमै महत्त्वपूर्ण मानिएको छ ।
वैज्ञानिकहरूका अनुसार, मृत्युको ४८ घन्टाभित्र शवबाट वीर्य निकाल्न सकिन्छ । सर्जरीको सहायताले शवबाट शुक्राणु निकालेर त्यसलाई फ्रिजमा जोगाएर राख्न सकिन्छ ।