
कर्णाली प्रदेशको राजधानी सुर्खेतमा शुक्रवार र शनिवार दिनभर नै गृहमन्त्री रामबहादुर थापा ‘बादल’, प्रहरी तथा सेनाका उच्च पदस्थ अधिकारी, कर्णालीका १० जिल्लाका प्रमुख जिल्ला अधिकारी प्रदेशको शान्ति सुव्यवस्था कायम गर्न आवश्यक रणनीति बनाइरहेका थिए ।
प्रदेश राजधानीमा शनिवार गृहमन्त्री बादलले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपालाई नियन्त्रणमा लिएको बताइरहँदा प्रतिबन्धित विप्लव नेतृत्वको नेकपाका कार्यकर्ताले बजारमा दिनदहाडै खुला प्रदर्शन गरेका छन् ।
सरकारद्वारा प्रतिबन्धित विप्लव नेकपाका कार्यकर्ताले ब्यानरसहित सुर्खेतमा प्रदर्शन गरेका छन् । नेकपाका नेता तथा कार्यकर्तालाई झूटा मुद्दा लगाएर जेल र हिरासतमा राखिएकाले कार्यकर्ताको रिहाइका लागि दबाबमूलक संघर्ष गर्ने नीतिअनुसार विरोध प्रदर्शन गरिएको जनाइएको छ ।
विप्लव नेकपाका सचिवालय सदस्य हेमन्तप्रकाश वली ‘सुदर्शन’ सहित धेरै कार्यकर्तालाई ‘ओली–प्रचण्ड सरकारले गैरन्यायिक ढंगले जेलमा राखेको’ विरोधमा प्रदर्शन गरिएको जनाइएको छ । सरकारले आस्थाका बन्दीलाई झूटा मुद्दा लगाएको र अदालतले छाड्न आदेश दिएपनि कानूनको बर्खिलाप हुने गरी पटक–पटक थुनामा राखेपछि गृहमन्त्री बादल सुर्खेतमै रहेका बेला दबाबमूलक कार्यक्रमस्वरूप प्रदर्शन गरिएको छ ।