२६ असार २०८३, शुक्रबार

अन्तर्राष्ट्रिय यात्रु दुई लाख घटे, आन्तरिक हवाई यात्रु ३२ लाख

माघ १२, २०७६
अन्तर्राष्ट्रिय यात्रु दुई लाख घटे, आन्तरिक हवाई यात्रु ३२ लाख

विश्वमै सुरक्षित र आरामदायी यात्राको माध्यम हो, हवाइजहाज। छोटो समयमा लामो दूरी तय गर्ने साधन पनि जहाज नै हो। आरामदायी र छिटो छरितोका लागि देशभित्रै हवाइयात्रा गर्ने नेपालीको संख्या बर्सेनि बढ्दै गएको छ।

सन् २०१९ को एक वर्षमा नियमित र चार्टर उडानका वायुसेवा प्रयोग गरेर ३१ लाख ८८ हजार ४ सय ७९ जनाले आन्तरिक उडानमा यात्रा गरेका छन्। नेपाल नागरिक उड्डयन प्राधिकरणको तथ्यांकअनुसार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल प्रयोग गरेर आन्तरिक उडान गर्ने नियमित उडानका नौवटा वायुसेवा र १० वटा हेलिकप्टर छन्।

सन् २०१९ को यो संख्या गत वर्ष सन् २०१८ को तुलनामा ११.९६ प्रतिशत बढी हो। गत वर्ष आन्तरिक उडानका यात्रुको संख्या २८ लाख ४७ हजार ७ सय ५२ थियो। गत वर्षको तुलनामा यो वर्ष तीन लाख ४० हजार ७ सय २७ जना यात्रु वृद्धि भएको तथ्यांक छ।

आन्तरिक उडानका वायुसेवा कम्पनीले सन् २०१९ मा ९१ हजार ८ सय १६ वटा उडानमार्फत त्रिभुवन विमानस्थलबाट बाहिरिने १५ लाख ३७ हजार र भित्रने १८ लाख ५१ हजार यात्रुलाई सेवा दिएका छन्। यसरी सन् २०१८ मा १४ लाख ७२ हजार भित्रिएका र १३ लाख ७५ हजार यात्रु बाहिरिएका थिए। सन् २०१९ मा आन्तरिक उडानका वायुसेवा ३ हजार १ सय १२ टन कार्गो पनि बोकेका छन्। यस्तो कार्गो सेवा गत वर्ष ३ हजार ६ सय ९३ टन थियो।

नियमित उडानमा सेवा दिने बुद्ध, यती, तारा, सिम्रिक, नेपाल वायुसेवा, सौर्य, श्री, समिट र सीता एयरलाइन्सले यात्रु उडानमा सेवा दिइरहेका छन्। यस्तै, हेलिकप्टर उडानमा अल्टिच्युड एयर, डाइनेस्टी, हेलि एभरेस्ट, कैलाश, मनाङ, माउन्टेन, प्रभु, सिम्रिक, श्री र समिटसहितको १० वटा हेलिकप्टर कम्पनीले सेवा दिएका छन्। हेलिकप्टर कम्पनीले चार्टर उडान गरेका छन्। अरु नियमित उडानका वायुसेवाले भने चार्टर र कार्गो सेवासमेत दिएका छन्।

आन्तरिक वायुसेवाले सन् २०१८ मा दिएको यात्रु उडानको सेवा सन् २०१७ को तुलनामा १६ दशमलव १६ प्रतिशतले यात्रुदर बढाएका भए पनि सन् २०१९ को वृद्धिदर भने करिब १२ प्रतिशत मात्रै छ। यात्रु उडानको संख्या बढेपछि वृद्धिदर कम भएको प्राधिकरणले जानकारी दिएको छ। यो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने उडान तथा अवरणको मात्रै तथ्यांक हो। काठमाडौं बाहिरका विमानस्थलमा हुने उडान र अवतरणको तथ्यांक भने प्राधिकरणसँग छैन।

काठमाडौं बाहिरबाट आउने वायुसेवाको संख्या रहने भए पनि प्रादेशिक उडानको तथ्यांक छैन। प्रादेशिक उडान गत वर्ष प्रभावकारी नभएकाले पनि तथ्यांक नभएको प्राधिकरणको भनाइ छ। अब भने पोखराबाट विराटनगरमा पनि उडान हुने भएको छ। अन्य आन्तरिक उडानका लागि पनि सरकारले प्रवद्र्धन गर्न थालेको छ।

आन्तरिक उडानमा सबैभन्दा बढी यात्रु बोक्ने वायुसेवामा हरेक वर्ष बुद्ध एयर नै अगाडि आउने गरेको छ। जहाज संख्या धेरै भएको र सहरी क्षेत्रका विमानस्थलमा मात्रै उड्ने र एकैपटकमा ७२ जनासम्म यात्रुलाई सेवा दिने ठूला जहाज भनएकाले पनि बुद्ध एयर बर्सेनि अग्र स्थानमा आउने गरेको छ। यो वायुसेवा एक्लैले सन् २०१९ मा १५ लाख ९१ हजार यात्रुलाई सेवा दिएको छ। यस्तो सेवा गत वर्ष वर्षको १३ लाख २५ हजारको तुलनामा साढे दुई लाखभन्दा बढी हो। आन्तरिक उडानको अग्रणी वायुसेवा कम्पनी बुद्ध एयरले आन्तरिक उडानमा १३ वटा जहाज प्रयोग गरिरहेको छ।

 अन्तर्राष्ट्रिय यात्रु दुई लाख घटे

नेपालमा सन् २०१९ मा उडान गर्ने अन्तर्राष्ट्रिय वायुसेवाको यात्रु आवागमन भने दुई लाख ३ हजार ९ सय २३ जनाले घटेको छ। प्राधिकरणले सार्वजनिक गरेको यस्तो तथ्यांकअनुसार सन् २०१९ मा त्रिभुवन विमानस्थलबाट भएको उडान र अवतरणमा अन्तर्राष्ट्रिय यात्रु ४१ लाख ३८ हजार ५ सय ६३ जना छन्। यो संख्या गत वर्ष सन् २०१८ को तुलनामा ४.६९ प्रतिशले घटेको हो। सन् २०१८ मा ४३ लाख ४२ हजार ४ सय ८६ जना यात्रुले विमानस्थल प्रयोग गरेर विदेश यात्रा गरेका थिए।

वायुसेवा निगम पहिलो

अन्तर्राष्ट्रिय यात्रुको संख्या घटेको भए पनि जहाज संख्या थप भएको र अन्तर्राष्ट्रिय उडान गन्तव्य विस्तार तथा वाइडबडीका कारण नेपाल वायुसेवा निगमको यात्रु भने बढेको छ। निगमले सन् २०१९ को एक वर्षको अवधिमा ७ लाख ३५ हजार ८३५ जना यात्रुलाई अन्तर्राष्ट्रिय उडानमा सेवा दिएको छ। यस्ता यात्रु संख्या निगमका सन् २०१८ मा ४ लाख ९१ हजार ९ सय ७९ जनामात्रै थियो। निगमको वार्षिक यात्रु वृद्धिदर ४९.५६ प्रतिशत बढेको छ।

नेपालमा नियमित तथा चार्टर उडान गरेका विभिन्न ३५ वायुसेवाको तुलनामा निगम पहिलो स्थानमा आउन सफल भएको हो। विगतका वर्ष निगमको बजार हिस्सा गुम्दै गएको भए पनि न्यारोवडी र वाइडबडी जहाज भित्रिएपछि यसको बजार पुनः बढ्न सुरु गरेको हो। आन्तरिक उडानमा भने निगम जहाज अभाव र व्यवस्थापन कमजोरीकै कारण बर्सेनि खुम्चदै गएको छ।

salt training

कमेन्ट गर्नुहोस्