
इसेवामा खाता खोल्नेको संख्या करीब ३० लाख, एक करोड भन्दा बढीले लिन्छन् इसेवाका सेवा
क्यासलेस अर्थतन्त्रको परिकल्पना गर्दै एक दशकअगाडि सञ्चालनमा आएको नेपालको पहिलो भुक्तानी सेवा प्रदायक ‘इसेवा’ ११औं वर्षमा प्रवेश गरेको छ ।
सन् २००९ मा बेटा भर्जन रिलिज गरी २०१० जनवरी २५ बाट सेवा सुरु गरेको इसेवा एक दशकको अवधिमा मुलुकका हरेक स्थानमा पुग्न सफल भएको छ ।
मोबाइल तथा इन्टरनेटको माध्यमबाट भुक्तानी गर्न सकिने सेवा दिएको इसेवा नेपालका हरेक नगरपालिका, गाउँपालिका तथा वडासम्म पुगेर क्यासलेस अर्थतन्त्रका निर्माण गर्ने सरकारको अभियानमा ठुलो योगदान दिन सफल भएको छ ।
एक दशकको अवधिमा इसेवामा प्रत्यक्षरूपमा खाता खोल्नेको संख्या करीब ३० लाख पुगेको छ । यसैगरी अप्रत्यक्ष रूपमा करीब एक करोड जनसंख्याले इसेवामार्फत सेवा लिइरहेका छन् । हाल इसेवाका देशभर करीब ८० हजार एजेन्ट (इसेवा जोन तथा पोइन्ट) रहेका छन् । हालसम्म इसेवाको मोबाईल एप्स् डाउनलोड गर्नेको संख्या पनि करीब २० लाख पुगिसकेका छन् ।
दशवर्ष पुरा भइ एघारौँ वर्षमा प्रवेश गरेको उपलक्ष्यमा इसेवाका प्रमुख कार्यकारी अधिकृत सुभास सापकोटाले भने, ‘यो एक दशक हाम्रा लागि निकै उत्साहजनक रह्यो । कुराकानीका लागि मात्र सिमित भएको मोबाईललाई हामीले वित्तीय कारोबार गर्नसक्ने बनाउन सफल भएका छौँ । आगामी दिनमा पनि हामीले आम जनजीवनलाई सहज बनाउने खालका विभिन्न सेवा थप गर्दै जानेछौँ ’।
इसेवाले नेपालका सुविधा सम्पन्न क्षेत्रदेखि विकट वस्तीहरुमा धेरै किसिमका सहजता ल्याएको छ । आम मानिसले लाइन बस्नुपरेमा सबैभन्दा पहिले इसेवालाई सम्झन थालेका छन् । आगामी दिनमा हरेक नेपालीको पहुँचमा पुर्याउने गरी अगाडि बढ्ने र थप सेवाहरु विस्तार गर्दै लगिने कम्पनीको योजना रहेको छ ।
इसेवाबाट मोबाइल, टेलिफोन, इन्टरनेट, बिजुली तथा खानेपानीको महशुल भुक्तानी, रिचार्ज, हवाइजहाज, बसको टिकट, स्कुल कलेजको शुल्क लगायतका दुई हजार भन्दा बढी सेवाहरूको शुल्क भुक्तानी गर्न सकिन्छ ।
इसेवामा हाल ४९ वटा बैंक तथा वित्तीय संस्था सदस्य रहेका छन् । यी बैंकबाट इसेवामा सहजै रकम जम्मा गर्न तथा इसेवाबाट बैंक खातामा रकम पठाउन सकिन्छ ।
यस्तो छ इसेवाको दशवर्षे संघर्ष र सफलताको उतारचढाव
सन् २००९ मा बेटा भर्जन ल्याउँदा इसेवा डेक्स्टप कम्युटर बाट मात्र चलाउन मिल्थ्यो ।
सुरूमा बजारमा रिचार्जकार्ड सहजै नपाइने अवस्था थियो भने नेपाल टेलिकम पनि इलेक्ट्रोनिक्स् रिचार्जमा गइसकेको थिएन ।
इसेवाले टेलिकममा गएर रिचार्ज कार्ड ल्याई पिन नम्बर हातले कोट्याएर आफ्नो सिस्टममा राखेर रिचार्ज बेच्ने गर्दथ्यो । त्यसपछि नेपाल टेलिकमले इलेक्ट्रोनिक्स् रिचार्ज सिस्टम बनाएपछि मात्र इलेक्ट्रोनिक्स् पीन उपलब्ध गराउन थालेको हो । सुरूमा रिचार्ज कार्ड घोटेर सिस्टमममा पीन राख्नका लागि पनि दर्जनौ कर्मचारी राख्नुपरेको थियो । तर अहिले अत्याधुनिक प्रविधिले रियलटाइममै टपअप तथा बिल भुक्तानी गर्न सकिन्छ ।
इसेवाको पहिलो आधिकारिक मर्चेन्ट बुद्ध एयर हो । अहिले बुद्ध एयरलगायत अन्य सबै एयरलाइन्स्को टिकट इसेवामार्फत लिन सकिन्छ । हरेक दिन हजारौँ जनाले इसेवामार्फत एयरलाइन्स् टिकट लिएर आफ्नो गन्तव्यमा पुग्ने गर्दछन् ।
सन् २०१० मा आधिकारिक रूपमा सेवा सुरू गरेको गरेको इसेवा सन् २०१२ सम्म एफवान सफ्टको एउटा प्रोडक्ट रहेको थियो । २०१२ मा छुट्टै कम्पनीका रूपमा स्थापना भएर सेवा दिँदै आएको छ । यतिबेला इसेवाको ब्राण्ड कलर निलो बाट परिवर्तन गरी हरियो बनाइएको थियो । २०१३ बाट एजेन्ट मोडलमा गएको इसेवाका २०१४ मा ५ हजार एजेन्ट र एक लाख ग्राहक पुगेका थिए । आजको दिनमा इसेवामा मर्चेन्टको संख्या ८० हजार पुगिसेको छ ।
२०१७ मा इसेवाले मोबाइल एप्लिकेशनमार्फत इन्टरनेट र एसएमएस दुबै भर्र्जनबाट इसेवाका सेवा लिन सकिने प्रणालीको विकास गर्यो । २०१६ मा नेपाल राष्ट्रबैंकले भुक्तानी सेवालाई नियमन गर्ने नीति लिएसँगै इसेवाले नेपाल राष्ट्रबैंकमा इजाजतका लागि निवेदन दिएका थियो । २०१७ मा इसेवाले नेपाल राष्ट्र बैंकबाट लाइसेन्स् प्राप्त गरेको थियो ।
इसेवाले विभिन्न सामाजिक उत्तरदायीत्वका कार्यक्रम पनि गर्दै आएको छ । कम्पनीले हालसम्म विभिन्न विद्यालयलाई डिजिटल बनाउने उदेश्यले करीब ५ सय वटा कम्प्युटर वितरण गरिसकेको छ भने इलाइब्रेरी स्थापना, निशुल्क रूपमा अत्याधुनिक किसिमका शैक्षिक सफ्टवेयर समेत वितरण गरेको छ । यस्तै नेपालको खेल क्षेत्रको विकासका लागि विभिन्न किसिमका सहयोग, खेल तथा खेलाडी प्रायोजन तथा अन्य विभिन्न सामाजिक गतिविधि गर्दै आएको छ ।
तीनजना युवाको परिकल्पनाबाट सुरू भएको एफवानसफ्ट कम्पनी अन्तरगत इसेवासँगै करीब एक दर्जन कम्पनी सञ्चालनमा छन् । यस गु्रपले अहिले एकहजार भन्दा बढि दक्ष जनशक्तिलाई रोजगारी प्रदान गर्न सफल भएको छ । इसेवाले हालसम्म दक्षिण एशीयाली खेलकुद साग, एन्फाका विभिन्न फुटबल म्याच तथा क्रिकेटका ठुला खेलहरूको टिकट विक्री तथा व्यवस्थापन सफल रूपमा गरिसकेको छ ।