
नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पछिल्ला दिनमा कांग्रेस पार्टीभित्र निष्ठावान र इमान्दार व्यक्तिहरूलाई किनारा लगाउँदै जान थालिएको र मूल्यांकनको परिपाटी हराउन थालेको बताएका छन् ।
नेपाली कांग्रेस नेपाली बेसीशहर नगरसमिति वडा नं- १ ले लमजुङको उदिपुरमा आयोजना गरेको कार्यकर्ता भेटघाट तथा वनभोज कार्यक्रमलाई सम्बोधन गर्दै कोइरालाले निष्ठा र वैचारिक राजनीति कांग्रेसबाट हराउन थालेकाले लोकतन्त्र कमजोर हुँदै गएको बताए ।
आफू पार्टीभित्र वैचारिक ऊर्जा भर्ने अभियानमा लागेको बताउँदै नेता कोइरालाले पार्टी यतिबेला इतिहासकै कठिन मोडमा पुगेको बताए । नेता कोइरालाले पार्टीभित्र लेनदेन र भागबण्डा अझ बढेको पनि बताए ।
१४औं महाधिवेशनपछि भागबण्डा र गुटको अन्त्य हुने दाबी कोइरालाको थियो । गुटबन्दी, भागबण्डा र लेनदेनको राजनीति अन्त्यका लागि आफूले कुनै कसर बाँकी नराख्ने उनले बताए ।

कार्यक्रममा लमजुङ कांग्रेसका सभापति भेषबहादुर पौडेल, कास्की कांग्रेसका पूर्व सभापति यज्ञबहादुर थापा, तनहुँ कांग्रेसका पूर्व सभापति ध्रुव वाग्ले, खोटाङ कांग्रेसका पूर्व सभापति सुभाष पोख्रेल लगायतले वर्तमान पार्टी नेतृत्व मुलुकको परिस्थिति र कार्यकर्ताको भावनाअनुसार अगाडि बढ्न नसकेको बताए ।