संसारभरि मानिसहरू अनेकौं हर्कत गरिरहेका हुन्छन् र सामाजिक सञ्जालका कारण आजकल त्यस्ता हर्कत जहाँबाट पनि हेर्न पाइन्छ ।
भियतनामको दक्षिणी भागमा दुईजना मानिसले अनौठो र हाँसउठ्दो हर्कत गरेका छन् । मोटरसाइकलमा गुड्दै उनीहरूले साबुन लगाएर नुहाएको भिडियो अहिले भाइरल बनिरहेको छ ।
भिडियोमा दुई पुरुष जिउभरि साबुन दलिएको अवस्थामा देखिन्छन् । उनीहरूको बीचमा एउटा बाल्टिनमा पानी भरिएको छ ।
मोटरसाइकल चलाउनेले बीयरको क्रेटलाई सन्तुलनमा राखेको छ भने पछाडि बस्नेले आफूमाति अनि चलाउनेमाथि पानी हालेको देखिन्छ । उनीहरूले यो सब गरिरहँदा बाइक चाहिँ सडकमा गुडिरहन्छ ।
भिडियो भाइरल भएपछि प्रहरीले नम्बर प्लेट पत्ता लगाएर मोटरसाइकलमा हर्कत गर्नेहरूलाई पक्राउ गरेको छ ।
दुवैजनालाई विभिन्न ट्राफिक उल्लंघनको आरोप लगाइएको छ र जरिवाना पनि तिराइएको छ । अझ, बाइक पनि उनीहरूमध्ये कसैको पनि नभई अर्कैको भएको बुझिएको छ । यस्ता उरन्ठेउलाहरूलाई बाइक दिने मानिसलाई समेत जरिवाना तिराइएको छ ।