सत्तापक्ष र विपक्षी दलका नेताहरुले नवनियुक्त सभामुख अग्निप्रसाद सापकोटाले संसद्लाई जनता र सांसद्को आवाज उठाउने मञ्चका रूपमा स्थापित गर्नुपर्ने बताएका छन्।
प्रतिनिधिसभामा आइतबार सभामुखको निर्वाचनपछि पत्रकारसँग कुरा गर्दै सत्तारूढ नेकपाका वरिष्ठ नेता झलनाथ खनालले सापकोटाले सभामुखको जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्नसक्ने बताए।
नेकपाका अर्का वरिष्ठ नेता माधवकुमार नेपालले सभामुख सापकोटाले निष्पक्ष र सन्तुलित भूमिका निर्वाह गर्नसक्ने अपेक्षा व्यक्त गरे।
नेपाली काँग्रेसका नेता दिलेन्द्रप्रसाद बडूले सभामुखको भूमिकामा निर्वाचित सापकोटाले लोकतान्त्रिक मूल्यमान्यतालाई कायम गर्ने अपेक्षा व्यक्त गरे।
राष्ट्रिय जनता पार्टीका नेता राजेन्द्र महतोले सभामुख सर्वसम्मतरूपमा चयन हुनु सकारात्मक भएको बताए।
सङ्घीय समाजवादी पार्टीका अध्यक्ष डा बाबुराम भट्टराईले सापकोटा बौद्धिक व्यक्तित्वसमेत रहिसकेका र जनयुद्धकालमा सहकार्य रहेको उल्लेख गर्दै कार्यकाल सफलताको कामना गरे।