
पोखराको पृथ्वीनारायण क्याम्पसका आंशिक प्राध्यापक विभिन्न मागसहित आन्दोलनमा उत्रिएका छन् ।
प्राध्यापकको आन्दोलनका कारण सयौं विद्यार्थीको पढाइ अवरुद्ध हुन पुगेको छ ।
आंशिक प्राध्यापक संघ पृथ्वीनारायण क्याम्पस इकाइले आफ्ना माग सम्बोधनका लागि दबाब दिन मंसिर २९ गतेदेखि चरणबद्ध आन्दोलन गर्दै आएको थियो ।
माग सम्बोधन नभएपछि राजीनामाको चेतावनी दिँदै आंशिक प्राध्यापकले २ दिनयता कक्षा बहिस्कार गरेरै क्याम्पस प्रशासन अगाडि निरन्तर धर्ना दिएका छन् ।
इकाइ अध्यक्ष सुनील गौतमले सामान्य तल्लोस्तरको श्रमको मूल्य पनि नदिई प्राध्यापन पेशामा लगाइएपछि ‘समान कामको, समान ज्याला’ माग्दै आन्दोलन गर्न बाध्य भएको बताए । उनले आफ्ना माग सम्बोधन नभएसम्म आन्दोलन फिर्ता नहुने बताए ।
इकाइ उपाध्यक्ष प्रकाशचन्द्र रेग्मी १३ वर्षदेखि आंशिक प्राध्यापन गर्दैआएका छन् । उनी क्याम्पसमा एक मात्र विषय फिजिक्स (विज्ञान संकाय) पढाउँछन् । रेग्मीले भने, ‘विगतमा पनि आन्दोलन भएको हो तर यस सम्बन्धमा कार्यदल गठन गरी गर्ने सहमति बमोजिम आन्दोलन स्थगित हुने गरेको थियो । प्रतिवेदन सार्वजनिक नगर्ने र हामीहरूलाई सधैं भुलभुलैयामा राख्ने गरेकोले यसपालि कडारुपमा प्रस्तुत भएका छौं ।’
रिक्त दरबन्दी करार स्वीकृतिमा ल्याउने र बाँकीलाई मासिक तलब दिने गरे तत्काल आन्दोलन रोकेर कक्षा कोठामा जान सकिने रेग्मीले बताए ।
पोखराकै जेठो तथा ठूलो क्याम्पस पृथ्वीनारायणमा पूर्णकालीन र आंशिक गरी ५४९ जना प्राध्यापक छन् । तीमध्ये २१८ जना आंशिक छन् । कक्षा बहिष्कार गरेका आंशिक प्राध्यापकले सोमवारदेखि बिहानी सत्रमा बिहान ६ देखि साढे ९ बजेसम्म र दिवासत्रमा बिहान ११ देखि दिउँसो ३ बजेसम्म प्रशासनमा धर्ना दिने गरेका छन् । उनीहरूले यसअघि क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी गरेका थिए ।
क्याम्पसले नियमित कक्षा सञ्चालन भइरहेको र कोर्स नसकिएको अवस्थामा समेत कक्षा बन्दको सूचना जारी गरी पठनपाठन भएको दिनको समेत तलब नदिने गरेको आंशिक प्राध्यापकको गुनासो छ ।
क्याम्पस प्रमुख प्रा.डा. चन्द्रबहादुर थापा आंशिकको समस्या विशेषखालको भएको बताउँछन् । ‘यो समस्या विकराल समस्या हो तर पनि समाधान मसँगै छैन । त्रिविले यो विषयमा चासो दिँदैन । स्नातक कोर्स २ वर्षेबाट ४ वर्षे बन्यो । स्नातकोत्तरको कक्षा सेमेस्टरमा छ, जसका कारण बढी प्राध्यापक आवश्यक छ तर माथि बस्नेहरूले समस्या बुझेका छैनन्,’ उनले भने ।
अनेरास्ववियू पृथ्वीनारायण क्याम्पस कमिटी अध्यक्ष राजन शर्माले आशिंक प्राध्यापकको समस्या जटिल रहेको स्वीकार गर्दै यसका नाममा विद्यार्थीको पठनपाठन रोकिन नहुने बताए ।