
ब्राजिलमा गत बिहीवारदेखि परिरहेको अविरल वर्षाका कारण ५३ जनाको मृत्यु भइसकेको छ ।
दक्षिणपूर्वी भागमा आँधी समेत आएकाले मिनास गेराइस राज्यमा ४४ जना अनि छिमेकको एस्पिरितो सान्तोमा नौजनाको मृत्यु भएको स्थानीय अधिकारीहरूले बताए ।
कम्तीमा १९ जना हराइरहेका छन् र २० हजारभन्दा बढी मानिसलाई सुरक्षित स्थानमा सारिएको छ ।
मिनास गेराइसको राउल सोआरेसमा दुईतल्ले घर शनिवार बगेको छ । थियागो दोस सान्तोस आफ्नो घरबाट अलि पर हुँदा घर बगेको थियो ।
उनले ब्राजिली पत्रिका ओ टेम्पोलाई घर नजिकको एक पुल भत्केको बताए । मातिपो नदीको किनारमा उनको घर थियो ।
दोस सान्तोसले घर बगेको क्षणलाई भिडियोमा कैद गरेका छन् ।
उनले पत्नी, पाँच वर्षीय छोरा र पत्नीपट्टिका परिवारलाई शनिवार निकालिएको तर परिस्थिति सुध्रिएला कि भनी आफू त्यतै बसेको बताए ।
पानी घरको दोस्रो तल्लामा पुगेपछि घर बिस्तारै लड्यो र नदीमा बग्यो ।