कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा टिप्परको ठक्करबाट मोटरसाइकल सवारको मृत्यु भएपछि स्थानीय आक्रोशित हुँदा जिल्ला प्रशासन कार्यालयले कर्फ्यू आदेश जारी गरेको छ ।
प्रशासन कार्यालयले सार्वजनिक सूचना जारी गर्दै मंगलवार बसेको सुरक्षा समितिको बैठकले साँझ साढे ६ बजेदेखि बुधवार बिहान ६ बजेसम्मका लागि कर्फ्यू आदेश जारी गरिएको छ ।
सहायक प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर खड्काद्वारा जारी विज्ञप्तिमा कर्फ्यू लाग्ने क्षेत्र पूर्वमा इत्राम खोला, पश्चिममा बाङ्गेसिमल, उत्तरमा कपासे व्यारेक र दक्षिणमा रत्न राजमार्गको २०० मिटर दक्षिणसम्म निर्धारण गरिएको छ ।
कर्फ्यूको बेला आवतजावत गर्न, भेला जम्मा हुन र अन्य कुनै पनि काम कुरा गर्न नपाउने आदेश जारी गरिएको छ ।
मंगलवार बिहान वीरेन्द्रनगर नगरपालिका–३ गौतम चोकनजिकै भे१ख २२४२ नम्बरको टिप्परले ठक्कर दिँदा कालिकोट जिल्लाको महावै गाउँपालिका–३ का २१ वर्षीय केशरबहादुर सिंहको मृत्यु भएको थियो ।
सिंहको मृत्युपछि स्थानीय र मृतकका आफन्त आक्रोशित भएर प्रदर्शनमा उत्रिएका थिए । उत्तेजित भीडबाट तोडफोड, आगजनी र धनजनको क्षति हुनसक्ने भएकाले कर्फ्यू आदेश जारी गरिएको प्रशासनले जनाएको छ ।
