सभामुख अग्निप्रसाद सापकोटाविरुद्ध परेको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिएन ।
वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले दायर गरेको रिटमा सुनुवाई गर्दै न्यायाधीश सपना प्रधान मल्लको एकल इजलासले विपक्षीका नाममा कारण देखाऊ आदेश भने जारी गरेको छ ।
त्रिपाठीले सापकोटा सभामुख हुन अयोग्य रहेको जिकिरसहित सर्वोच्चमा रिट दायर गरेका थिए ।
रिट निवेदकको मागबमोजिम अन्तरिम आदेश किन जारी नगर्ने भनेर विपक्षीका नाममा कारण देखाउ आदेश जारी भएको सर्वोच्च अदालत स्रोतले लोकान्तरलाई जानकारी दियो ।
यता रिट निवेदक वरिष्ठ अधिवक्ता त्रिपाठीले भने घटनाको अनुसन्धानका लागि बाटो खुलेको जिकिर गरे ।
सशस्त्र द्वन्द्वकालमा काभ्रेका अर्जुन लामाको हत्या गरेको आरोप सापकोटामाथि छ ।
'मृतक लामाकी पत्नी पूर्णीमाया न्यायका लागि भौंतारिएको अवस्थामा यससँग सम्बन्धित सबै प्रतिवेदन पेश गर्नु भनेर सर्वोच्चले भनेको छ,' अधिवक्ता त्रिपाठीले लोकान्तरसँग भने, 'अदालतको आदेशले प्रहरीलाई अनुसन्धानका लागि बाटो खोलिदिएको छ ।'
त्रिपाठीले सभामुखका लागि अयोग्य भन्दै रिट दायर गरेपनि सापकोटाले भने सभामुख निर्वाचित भएर पहिलो बैठक समेत सञ्चालन गरिसकेका छन् ।