
काठमाडौँ महानगरपालिकाले मध्यपुर थिमी नगरलाई अन्तरनगर साझेदारी कार्यक्रमअन्तर्गत १ करोड रुपैयाँ अनुदान रकम प्रदान गरेको छ।
नगरको वडा ४ मा पर्ने शंखधर पार्क निर्माणका लागि उपलब्ध गराएको उक्त अनुदान रकम बुधबार महानगरका मेयर विद्यासुन्दर शाक्यले थिमीका मेयर मदनसुन्दर (जगुलु) श्रेष्ठलाई हस्तान्तरण गरे।
नगर प्रवेशद्वार नजिक आयोजना गरिएको सम्झौता तथा रकम हस्तान्तरण पछि मेयर शाक्यले पार्क निर्माणको शिलान्यास गरेका थिए।

काठमाडौं जिल्लाका सबै नगरलाई सार्वजनिक जग्गा संरक्षण गर्न, हरियाली बढाउन तथा पार्क निर्माण गर्न ११ करोड रुपैयाँ अनुदान दिइएकाे उनले बताए।
थिमीका मेयर श्रेष्ठले महानगरबाट उपलब्ध भएको अनुदान रकमबाट निर्माण हुने पार्कबाट नगरबासीलाई लाभ पुग्ने बताए। 'नगरको समृद्धिकालागि हामीले आन्तरिक र बाह्य दुवै प्रकारका श्रोत परिचालन गरेका छौं,' मेयर श्रेष्ठको भनाइ थियो । वडा ४ का अध्यक्ष कुमार श्रेष्ठले महानगरको सहयोगमा आफ्नो वडामा ठूलो योजना सञ्चालन हुने भएकोमा खुशी लागेको बताए।
पार्क निर्माणका लागि १७ करोड रुपैयाँको गुरुयोजना तयार पारिएको छ । शुरुमा १७ रोपनी क्षेत्रफलबाट काम थालनी गरिनेछ । त्यसपछि क्रमशः जोडिएको ५३ रोपनी जग्गामा पार्क बिस्तार गर्ने नगरको योजना छ ।