१२ असार २०८३, शुक्रबार

‘जुद्धशमशेर मेरो प्राण लिन उत्सुक थिए’

माघ १६, २०७६
‘जुद्धशमशेर मेरो प्राण लिन उत्सुक थिए’
फाइल तश्वीर

जुद्धशमशेर, आज मेरो प्राण लिन उत्सुक छ । तर म मर्दिनँ । मेरो आत्मा अमर छ । यो नश्वर देह मातृभूमिको सेवाका निमित्त अर्पण गर्न पाउनु मेरो सौभाग्य हो ।'

एकतन्त्रीय जहानियाँ राणा शासनविरुद्ध हुँकार गर्दै फाँसीमा चढ्नुअघि शहीद शुक्रराज शास्त्रीको मुखबाट निस्किएका यी वाक्यले शहीदको गर्विलो गाथा प्रस्ट हुन्छ । शास्त्रीसँगै जेलमा रहेका गोविन्दप्रसाद उपाध्यायले आफ्नो संस्मरणमा त्यो कहालीलाग्दो अन्तिम साँझबारे लेखेका छन् 'घरबाट ल्याएको दूधसँग रोटी खान शास्त्रीजी पकाउँदै थिए तर खानै नदिएर बाहिर लगे ।' जेलघरबाट बाहिर जाँदाजाँदै शास्त्रीले उपस्थित सबै भाइलाई भने, 'नमस्ते ! मर्नु सबैले पर्छ, तर यसरी मर्न पाउँदा मेरो नाउँ अमर भयो ।'

चकमन्न बाग्मती किनार । माघको कठ्याङ्ग्रिँदो चिसो । बाग्मतीमा डुबुल्की मारेर वेदका ऋचा वाचन गर्दै टेकुस्थित खरीको रूखमा टाँगिएको डोरीमा शुक्रराजले अन्तिम पटक पुलुक्क हेरे । १९९७ साल माघ १० गतेको राति प्रसन्नतापूर्वक फाँसी गलामा लगाउँदै शुक्रराज शास्त्रीले प्राण त्याग गरेका थिए । छातीमा टाँगिएको थियो, 'देशद्रोहीलाई यस्तै सजाय हुन्छ ।'

काठमाडाैं सहरका जनता तर्साउन माघ ११ गते दिनभर शुक्रराजलाई रूखमै झुन्ड्याइएको थियो । वाङ्मय शताब्दीपुरुष सत्यमोहन जोशीसँग ९७ सालको त्यो घटनाका तस्बिर आज पनि उत्तिकै ताजा छ । जोशी भन्छन्, 'शुक्रराजलाई फाँसी दिएको हल्ला सुनेपछि दौडेर हेर्न पुगेको थिएँ । पचलीनिर मचलीमा खरीको सानो बोटमा झुन्ड्याइएको रहेछ ।'

शताब्दीपुरुष जोशी ७९ वर्षअघिको त्यो मिर्मिरे बिहान सम्झन्छन्, 'शुक्रराजको शवमुन्तिर लौरो टेकेर उभिएका थिए, पिता पण्डित माधवराज जोशी । उहाँमा छोराको बलिदानीप्रति गर्व थियो । त्यहाँ कोही बोल्न सक्ने अवस्था थिएन ।'

सेतै दाह्री फुलेका ८२ वर्षका माधवराजले छोराको वीरतापूर्ण मृत्युवरणप्रति सम्मान गर्दै व्यक्त गर्नुभएको भनाइ जोशी अहिले पनि सम्झनुहुन्छ, 'छोरा हुनु त यस्तो पो, क्याबात छोरा । देशको लागि जे गरिस्, ठीक गरिस् ।'
शुक्रराज शास्त्रीकी बहिनी चन्द्रकान्तादेवी मल्लले आत्मकथामा उल्लेख गरेअनुसार १९९५ साल माघमा शुक्रराजलाई पक्रिएको चार दिनपछि शुक्रकी श्रीमती मेनकादेवी सुत्केरी भएकी थिइन् । त्यसको केही दिनपछि नै नवजात छोरी र श्रीमती मेनकादेवीको मृत्यु भएको थियो । आत्मसमर्पणभन्दा फाँसी स्वीकार गर्ने शुक्रराजको निर्णयप्रति बुवा माधवराजले गर्व अनुभूति गर्दै भन्नुभएको थियो, 'शुक्र, तिमीलाई ज्यान सजाय दिने बेला यो यो वेदमन्त्र पढेर आफ्नो प्राण विसर्जन गर । स्याबास् बेटा ।'

शुक्रराजको मृत्युपछिको दृश्यलाई भीमनिधि तिवारीले पनि शब्दचित्रमा उतार्नुभएको थियो । भीमनिधि तिवारीले माघ ११ को घटनाबारे लेख्नुभएको छ, 'शहीद शुक्रराजको दर्शन गर्न म पचली गएको थिएँ । ठूलो भीडको बीच एउटा फोटोग्राफरले शहीदको फोटो खिच्न लाग्दा पुलिसहरूले उसलाई झपारेर घोक्र्याएर पठाएको मैले देखँे । अनि मलाई सुझ्यो, यो मूर्तिको अवश्य पनि ऐतिहासिक महìव हुन्छ । अनि त्यो काम मैले लिएँ, यानि शब्दचित्र लेख्न थालेँ ।'
उहाँले लेख्नुभएको छ, 'स्थान पचलीको चौबाटो, पात सबै झरेको, रूखको आग्नेय कोणपट्टिको हाँगामा झुन्ड्याइएका, घाँटी छड्के परेको, आँखा चिम्लेका ।'

विक्रम संवत् २०१२ देखि माघ १६ गतेलाई शहीद दिवस मनाउन थालिएको हो । यद्यपि, हालसम्म मुलुकमा कति शहीद छन् भन्ने यकिन छैन । काठमाडौँ महानगरपालिकाले शहीद दिवस मनाउन थालेको थियो । १९९७ साल माघ १० गते पचलीमा शुक्रराज शास्त्रीलाई फाँसी दिइएको थियो । माघ १३ गते सिफलमा धर्मभक्त माथेमालाई मृत्युदण्ड दिइएको थियो । त्यस्तै गङ्गालाल श्रेष्ठ एवं दशरथ चन्दलाई माघ १५ गते शोभाभगवतीमा फाँसी दिइएको थियो ।
जहानियाँ राणा शासनविरुद्ध राजनीतिक गतिविधि गरेको आरोपमा मृत्युदण्ड पाएका चार सहिदको सम्मानस्वरूप २०१२ सालदेखि माघ १६ गते शहीद दिवस मनाइँदै आएको छ । गोरखापत्र दैनिकमा खबर छ । 

salt training

कमेन्ट गर्नुहोस्