
मंगलवार भएको टिप्पर दुर्घटनामा कालिकोट महावै गाउँपालिकाका २० वर्षीय केशर सिंहको घटनास्थलमै ज्यान गएको थियो । त्यसको चार दिनपछि आज टिप्पर मालिक र पीडित पक्षबीच सीडीओसमक्ष पाँच बुँदे सहमति भएको छ ।
जिल्ला प्रशासन कार्यालय सुर्खेतमा भएको उक्त सहमति पश्चात वीरेन्द्रनगरमा शान्ति सुरक्षा कायम भएको छ भने मृतकका आफन्तले आन्दोलनका सबै कार्यक्रम फिर्ता लिएको बताएका छन् । मृतकका आफन्त पञ्चा सिंहका अनुसार मुख्यमन्त्री महेन्द्रबहादुर शाहीका प्रमुख स्वकीय सचिव खेम सिंह, राप्रपाका नेता जनक सिंह, पीडित पक्ष, टिप्पर मालिक र प्रशासन बीच पाँच बुँदे सहमति भएको हो ।
टिप्पर चालक राजकुमार बोहोरा प्रहरी नियन्त्रणमा आइसकेकाले नीजलाई हदैसम्मको कारवाहीका लागि पीडित पक्षले किटानी जाहेरी दिई निजलाई कानूनी कारवाहीका लागि अगाडि बढाउने, पीडित पक्षलाई कानून बमोजिम दिइने क्षतिपूर्तिको लागि तत्काल प्रक्रिया अगाडि बढाउने सहमति भएको हो । यस्तै पीडित परिवारलाई थप राहत प्रदान गर्न प्रदेश सरकार र घटनालाई लिएर भएको आन्दोलनको क्रममा भएका घाइतेको उपचारका लागि कर्णाली प्रदेश सरकार सामाजिक विकास मन्त्रालय र सम्बन्धित निकायमा अनुरोध गर्ने, शव पोस्टमार्टमका लागि प्रदेश अस्पतालमा राखिएकोमा त्यसको पोस्टमार्टम आजै गरी सदगतको लागि पीडित पक्षले बुझिलिने र घटनालाई लिएर आजसम्म भएका विरोधका कार्यक्रम सबै फिर्ता लिई स्थितिलाई सामान्य बनाउन सबैले पहल गर्ने सहमति भएको मृतकका आफन्त पञ्चा सिंहले जानकारी दिइन् ।
सहमति हुनुअघि बिहीवार बिहान वीरेन्द्रचोकमा प्रदर्शनकारीले प्रहार गरेको ढुंगाले लागेर दैलेखका एक बालक घाइते भएका छन् । आन्दोलनकारीलाई नियन्त्रणमा लिने बहानामा प्रहरीले धरपकड गरिरहेका बेला दैलेखका ११ वर्षीय बालक हिमाल नेपालीको दाँत खसेको थियो ।