२३ जेठ २०८३, शनिबार

सुरक्षा कोषमा दर्ता नहुने बैंकले निक्षेप नपाउने

माघ १७, २०७६
सुरक्षा कोषमा दर्ता नहुने बैंकले निक्षेप नपाउने

सामाजिक सुरक्षा कोषमा दर्ता नहुने वाणिज्य बैंकले उक्त कार्यालयको निक्षेप नपाउने भएका छन् । बढाइएको समयमा पनि बैंकहरू दर्ता हुन नगएपछि कोषले सदस्य नभएका बैंकलाई निक्षेप नदिने नीति ल्याएको हो । यसका लागि कोषले लगानीसम्बन्धी कार्यविधि नै परिमार्जन गरेको छ ।

कार्यविधिको परिच्छेद २ को चार नम्बर बुँदामा वाणिज्य बैंकमा निक्षेप राख्न (लगानी) का लागि न्यूनतम सर्त छन् । सोही व्यवस्थामा ‘सामाजिक सुरक्षा कोषमा संस्था र कर्मचारी सूचीकृत गरेको’ भन्ने थप गरेर कोषमा दर्ता हुन नआउने बैंकलाई निक्षेप नदिने नीति ल्याइएको हो ।

बैंकहरूलाई दर्ता हुन आउन प्रोत्साहन गर्ने उद्देश्यले लगानी कार्यविधि परिमार्जन गरिएको सामाजिक सुरक्षा कोषका कार्यकारी निर्देशक कपिलमणि ज्ञवालीले बताए । ‘कोषमा गएपछि निक्षेप पनि पाइन्छ भन्ने आभास दिलाउन सो निर्णय भएको हो,’ उनले भने । बैंक तथा वित्तीय संस्थाले उठाएका माग सम्बोधनका लागि छलफल भइरहेको पनि उनको भनाइ छ ।

सदस्य नहुने बैंकलाई निक्षेप नदिने निर्णय गरेर कोषले राम्रो नगरेको बैंकर्स संघका अध्यक्ष भुवन दाहालले बताए । ‘यो दुर्भाग्यपूर्ण निर्णय हो,’ उनले भने, ‘विवादित विषयमा छलफल भइरहेको समयमा कोषले निक्षेप रोक्ने निर्णय नगरेको भए हुन्थ्यो ।’

आफ्ना जायज माग सम्बोधन भएलगत्तै बैंकहरू कोषमा दर्ता हुने उनको भनाइ छ । ‘बैंकहरू कहिल्यै पनि कोषको विरुद्धमा थिएनन्, छैनन्,’ उनले भने, ‘हाम्रो माग कर्मचारीले खाइपाई आएको सुविधा नघटोस् भन्ने मात्र हो ।’ यस्तो माग बैंकहरूको मौलिक अधिकार भएको उनको दाबी छ । अहिले बैंकहरूले सरकारद्वारा प्रवर्द्धित कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषमा रकम जम्मा गरिरहेका छन् । ‘एउटा सरकारी कोषमा जम्मा रकम अर्को सरकारी कोषमा राख्दा बैंकलाई आपत्ति छैन,’ उनले भने, ‘त्यसका लागि कर्मचारीले खाइपाई आएको सुविधा नघट्ने ग्यारेन्टी कोषले गरोस् ।’

प्राय: बैंक तथा वित्तीय संस्था कोषमा दर्ता भएका छैनन् । अरू निजी क्षेत्रको हालत पनि त्यस्तै छ । यसअघि कोषमा लक्ष्मी, प्राइम, प्रभु, नेफाल त्रेडिट एन्ड कमर्स, मेगा, जनता र ग्लोबल आईएमई गरी ७ वटा वाणिज्य बैंक मात्र दर्ता भएका थिए । पछिल्लो पटक सिभिल बैंक दर्ता भएको कोषले जनाए पनि बैंकले अस्वीकार गरेको छ । दर्ता प्रक्रियाबारे बुझ्न गए पनि दर्ता नभएको बैंक स्रोतले बताएको छ । कोषमा दर्ता भएका मध्ये लक्ष्मी बैंकले मात्र कर्मचारी पनि सूचीकृत गरेको छ । कोषको प्रावधानअनुसार अहिलेको अवस्थामा लक्ष्मी बैंकले मात्र निक्षेप पाउनेछ । कोषको लगानी कार्यविधिमा वाणिज्य बैंकमा मात्र मुद्दती निक्षेप राख्न पाउने व्यवस्था छ । पछिल्लो पटक कोषले गत मंसिर १४ सम्म कोषमा दर्ता हुने समय थपेको थियो । अवधि सकिएको पनि दुई महिना बितिसकेको छ । यो अवधिमा न त बैंकहरू दर्ता हुन गएका छन्, न त कोषले ताकेता नै गरेको छ ।

यसअघि राष्ट्र बैंकले पनि बैंक तथा वित्तीय संस्थालाई कोषमा दर्ता हुन सूचना जारी गरेको थियो । तर बैंक तथा वित्तीय संस्थाका कर्मचारीले कोषमा दर्ता हुन असहमति जनाएका छन् । यही कारण बैंक तथा वित्तीय संस्था कोषमा दर्ता हुन नगएका हुन् । बैंक तथा वित्तीय संस्थाले संयुक्त रूपमा राष्ट्र बैंकलाई पत्र लेखेर हालकै अवस्थामा कोषमा दर्ता हुन नसकिने अडान लिएका थिए । पत्रमा विभिन्न १४ बुँदा उल्लेख छ । उल्लिखित बुँदामा विभेद रहेकाले तीनमा संशोधन नभएसम्म कोषमा नजाने बैंकहरूको अडान छ ।

सामाजिक सुरक्षा कोष कर्मचारीको हकहितका लागि ल्याइए पनि कतिपय व्यवस्थामा कर्मचारी नै असन्तुष्ट रहेकाले तत्काल दर्ता हुन नसकिएको पत्रमा उल्लेख छ । ‘कोषको कार्यविधिमा हाल कर्मचारीहरूले खाइपाई आएको र बैंक तथा वित्तीय संस्थाबाट पाउने तलब तथा अन्य सुविधा घट्ने भएकाले कर्मचारी स्तरबाट नै कार्यविधिको विरोध भएको छ,’ पत्रमा भनिएको छ । सामाजिक सुरक्षा योजनाका विभिन्न बुँदाउपर पुनरावलोकन गरी आवश्यक परिमार्जन गरिनुपर्ने साथै बैंक तथा वित्तीय संस्थाको हकमा कोषमा दर्ता हुँदा कर्मचारीले पाइरहेको सुविधा कटौती हुने बैंकहरूको दाबी छ । समान योगदान गर्दा पनि सरकारी कर्मचारी र निजी कर्मचारीले पाउने सुविधामा विभेद रहेको बैंकहरूको दाबी छ । पेन्सन गणना सूत्रमा पनि विभेद रहेको बैंकले राष्ट्र बैंकमा पेस गरेको पत्रमा उल्लेख छ ।

कोषमा रहेको सरकारी कर्मचारीको रकम र त्यसको नाफाबापत कर्मचारीले प्राप्त गरेको रकममा आयकर लाग्दैन । कान्तिपुर दैनिकमा खबर छ ।

salt training

कमेन्ट गर्नुहोस्