
प्रतिनिधि सभाको शुक्रवारको बैठकले केही संसदीय समितिका सदस्यको नाम हेरफेर गरेको छ ।
सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभा नियमावली २०७५ को नियम १७२ बमोजिम गठित विभिन्न समितिका सदस्यको नाम हेरफेर गरेको हो ।
गोकर्णराज विष्ट र पदम गिरी संघीय संसद्को अर्थ समिति, शिवमाया तुम्बाहाङफे र मायादेवी न्यौपाने उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति, मात्रिकाप्रसाद यादव र रामकुमारी चौधरी कानून न्याय तथा मानवअधिकार समितिमा रहने भएका छन् ।
थममाया थापा महिला तथा सामाजिक समिति, लालबाबु पण्डित राज्य व्यवस्था तथा सुशासन समिति, विद्या भट्टराई शिक्षा तथा स्वास्थ्य समिति, चक्रपाणि खनाल, रघुवीर महासेठ र धनबहादुर बुढा सार्वजनिक लेखा समितिमा रहनेछन् । प्रस्तावित नामलाई बैठकले सहमति जनाएको थियो ।
कार्यव्यवस्था परामर्श समितिमा प्रभू साह
बैठकले कार्यव्यवस्था परामर्श समितिको सदस्यको नाम पनि हेरफेर गरेको छ । रामेश्वर राय यादवको ठाउँमा प्रभू साहको नाम हेरफेर गर्ने सभामुखको प्रस्तावलाई बैठकले सहमति जनाएको थियो ।
सभामुखले प्रतिनिधिसभा नियमावली २०७५ को नियम १३ बमोजिम परामर्श समितिको सदस्यको नामावली हेरफेर गरेका हुन् ।
बैठकमा प्रतिनिधिसभाका सचिव गोपालनाथ योगीले ‘राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) (पहिलो संशोधन) विधेयक २०७५’का सम्बन्धमा राष्ट्रिय सभाबाट प्राप्त सन्देशको जानकारी गराएका थिए । सचिव योगीले राष्ट्रियसभामा उत्पत्ति भएको ‘नेपाल इन्जिनियरिङ परिषद् (पहिलो संशोधन) विधेयक, २०७६’ र ‘संघ, प्रदेश र स्थानीय तह (अन्तरसम्बन्ध व्यवस्थापन) विधेयक, २०७६’का सम्बन्धमा राष्ट्रिय सभाबाट प्राप्त सन्देश सहितको विधेयक बैठकमा टेबुल गरेका थिए ।