२३ जेठ २०८३, शनिबार

बेलाइतको ‘ब्रेक्जिट’ उपलब्धि

बेलाइतको ‘ब्रेक्जिट’ उपलब्धि

युरोपेली संघ (ईयू) छोड्ने संयुक्त अधिराज्यको इच्छा आज शुक्रवार पूरा हुँदैछ । अर्थात् ३१जनवरी २०२० को मध्यरातपछि संघको सदस्य-संख्या २७ मा झर्दैछ । ईयू र यूके बीचको ४७ वर्ष लामो साथ छुट्ने यस प्रकियालाई ‘सम्बन्धविच्छेद’ पनि भनिएको छ । यसरी अलग भएपछि बेलाइतले युरोपको मुख्यालय ब्रसेल्सबाट आउने थरीथरीका मानक र निर्देश पालना गर्नुपर्ने छैन, र देश सही अर्थमा सार्वभौमसत्तासम्पन्न स्वतन्त्र मुलुक हुन पाउने छ भन्ने ‘ब्रेक्जिट’ पक्षधरहरूको मान्यता रहिआएको छ ।

सन् २०१६ को जून महिनामा बेलाइतमा भएको जनमतसंग्रहको नतीजा यसैको पक्षमा गएको पनि हो, तर त्यसबेला र त्यसपछि बहाल भएका संसद्‌ले अवरोध खडा गर्दा ब्रेक्जिटमा विलम्ब हुन गयो । ईयू नछोड्ने मानसिकताका मतदाताहरूलाई राहत झैं पनि भयो ।

राजनीतिक हिसाबले बेलाइत आजैदेखि ईयूबाहिर गए पनि आर्थिक कारोबार,भन्सार व्यवहार र मानिसहरूको आवतजावत समेतका मौजुदा बन्दोबस्त तत्काल प्रभावित हुने छैनन्, ११ महिनाको प्रस्तावित ‘संक्रमणकाल’मा यी विषयमा दुई पक्षबीच सम्झौताहरू हुने छन् । त्यसपछि मात्र अर्थात् सन् २०२० को अन्त्यमा सबै हिसाबले बेलायत युरोपेली समुदायबाट निस्किसक्नेछ ।

प्रधानमन्त्री बोरिस जोन्सन यसबारे प्रतिबद्ध छन् । यस अवधिमा बेलाइतको अर्थतन्त्रलाई ओरालो लाग्न नदिन जोन्सनको टोलीले ईयू र संयुक्त राज्य अमेरिकासँग छुट्टाछुट्टै स्वतन्त्र व्यापार सम्झौता गरिसक्नु पर्ने हुन्छ । यसलाई विश्लेषकहरूले गतिलो चुनौती हुने देखेका छन् । तर भनिदै छ, अल्पकालमा हुने जोखिम बेहोर्न सके त्यो बेलाइतको दीर्घकालीन हितमा हुनेछ ।

यतिखेर युरोपका विभिन्न देशमा इलम-रोजगारी गरेर बसेका १० औं हजार ब्रिटिश नागरिकहरू अलमलमा परेका छन् । त्यसैगरी, बेलाइत युरोपको ‘साझा बजार’ मा छँदा लण्डन लगायतका स्थानमा बसोबास गरिरहेका युरोपका विभिन्न देशका नागरिकहरूको हैसियत के हुने समेतका विषयले चिन्ताको वातावरण देखिन्छ । करोडौं डलरका व्यापारिक कारोबार प्रभावित हुने अवस्थाको अर्को पाटो पनि छ ।

‘बेलाइतको भविष्यमाथि अनिश्चयको बादल मडारिएको छ’ भन्ने द इकोनोमिष्ट पत्रिकाको ताजा विश्लेषणले  केही समय जनमानस उद्वेलित रहने देखिंदैछ । बहिर्गमनको पूर्व-योजना अनुसारका आर्थिक कार्यक्रमहरू बेलैमा कार्यान्वयनमा लैजान सके प्रधानमन्त्री जोन्सनले बेलाइती जनतालाई एक तहको आश्वस्त राख्न सकेको मानिने छ ।

ईयूको लागि ब्रेक्जिटबाट के असर पर्छ त ? झट्ट हेर्दा केही पर्दैन, किनभने २८ सदस्य भएको संस्थाबाट एक सदस्य बाहिरिने मात्र हो । परन्तु वास्तविकता यो मात्र होइन । आखिर बेलाइतजर्मनी र फ्रान्सकै हाराहारीको हैसियत भएको सदस्य-राष्ट्र थियो । तसर्थ त्यसै अनुपातमा ईयूको शक्ति क्षीण हुनु अपरिहार्य छ यद्यपि बहुसंख्यक ईयू सदस्य-राष्ट्रले यस कुरालाई धेरै महत्व दिन चाहेको देखिंदैन । विगतका सङ्केतलाई आधार मान्दा अमेरिकाले युरोपसँगको सम्बन्धलाई भन्दा बेलाइतसितको निकटतालाई बढी महत्व दिनेछ । ईयूको लागि यो नोक्सानी नै हो ।

salt training

कमेन्ट गर्नुहोस्