
नेकपा केन्द्रीय सदस्यको प्रश्न - अब हुने महाधिवेशन आठौँ हो कि दशौँ ?
सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को केन्द्रीय कमिटीको दोस्रो पूर्ण बैठकमा केन्द्रीय सदस्यहरूले विभिन्न मुद्दामा आफ्नो धारणा राखेका छन् ।
तत्कालीन एमालेको नवौं महाधिवेशन भइसकेको र माओवादीको सातौँ महाधिवेशन भइसकेको सन्दर्भमा केन्द्रीय सदस्य तथा प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले अबको महाधिवेशनका बारेमा प्रश्न उठाएका छन् ।
लोकान्तरसँग कुरा गर्दै थापाले महाधिवेशनका सन्दर्भमा स्पष्ट कुरा उठ्नुपर्ने माग गरेका छन् । उनले अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र केपी शर्मा ओलीलाई आफ्नो लिखित प्रतिवेदन बुझाउँदै महाधिवेशनका सन्दर्भमा स्पष्ट हुन आग्रह गरेका हुन् ।
अब फेसबुकमा ‘पोस्ट स्पोन्सर’ गर्न नपाइने
नेपाल राष्ट्र बैंकले सामाजिक सञ्जालमा गरिने विज्ञापनमा कडाइ गरेको छ ।
सामाजिक सञ्जालमा हुने विज्ञापनमा विदेशी मुद्रामा अवैधानिक च्यानलमार्फत भुक्तानी हुने भन्दै विदेशी विनिमय व्यवस्था विभागले यस्तो भुक्तानी नगर्न सचेत गराएको छ ।
विभागका कार्यकारी निर्देशक बमबहादुर मिश्रले शुक्रवार एक विज्ञप्ति जारी गर्दै सामाजिक सञ्जाल तथा इन्टरनेटमार्फत गरिने विज्ञापनबाट विदेशमा गैरकानूनी रकम पठाउने काम रोकिने बताएका हुन् ।
‘सामाजिक सञ्जाल तथा इन्टरनेट मार्फत गरिने विज्ञापनबापत अनौपचारिक माध्यमबाट विदेशमा भुक्तानी पठाउने र विदेशबाट त्यसरी रकम प्राप्त गर्ने काम गैरकानूनी हो,’ विज्ञप्तिमा भनिएको छ ।
यस्ता कारोवारबाट विदेशी विनिमय अपचलन हुने भएकाले कसैले त्यसरी कारोवार गरेको पाइएमा विदेशी विनिमय ऐन २०१९ र प्रचलित कानून बमोजिम कारवाही हुने विज्ञप्तिमा बताइएको छ ।
यसबाट फेसबुक र ट्वीटर जस्ता सामाजिक सञ्जालमा पोस्ट स्पोन्सर गर्न नपाइने भएको छ ।
नेकपा नेताहरूको सम्पत्ति छानबिन गर्न शक्तिशाली आयोग गठनको माग !
सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) केन्द्रीय कमिटीको दोस्रो पूर्ण बैठकको तेस्रो दिन आफ्नो समूहबाट प्रस्तुति दिँदै लेखनाथ न्यौपानेले नेताहरूको सम्पत्ति छानबिन हुनुपर्ने माग गरेका छन् ।
भ्रस्टाचारबाट देश आक्रान्त बनेको र भ्रष्टाचार नेताबाटै भएको निष्कर्षका साथ सम्पत्तिको पूर्ण छानबिन हुनुपर्ने माग न्यौपानेले गरेका हुन् ।
'भ्रष्टाचार भएको छ पनि भन्ने तर त्यो सम्पत्ति कहाँ छ भनेर नभन्ने प्रवृत्ति बढेको निष्कर्षसहित हामीले नेताको सम्पत्ति छानबिन गर्नुपर्ने माग गर्यौं,' न्यौपानेले लोकान्तरसँग भने ।
यसका लागि शक्तिशाली आयोग गठन गर्नुपर्ने र नेताहरूले राख्न पाउने सम्पत्तिको सिलिङ तोक्नुपर्ने माग न्यौपाने नेता रहेको समूह नम्बर १३ को तर्फबाट पेश भएको हो ।
त्यस्तै शीर्ष नेताबीच नै गुट उपगुट चलाउने प्रतिस्पर्धा भएको र यसलाई पूर्ण रूपमा निर्मूल गर्न पार्टीसम्बद्ध प्रतिष्ठानहरूको खारेजी गर्नुपर्ने माग पनि उठेको छ ।
केन्द्रीय कमिटी सदस्य राजेन्द्र राईले गुट-उपगुट मौलाउन प्रतिष्ठानहरू जिम्मेवार रहेको निष्कर्ष आफ्नो समूहको रहेको बताए ।
समूह ११ को नेता समेत रहेका राईले पार्टीमा गुट छ भनेर शीर्ष नेताहरूले नै स्वीकार्ने गरेको तर कसको गुट छ भन्ने प्रश्नमा नेताहरू चुप रहने गरेको बताए ।
'पार्टी गुटबन्दीको अखडा भयो,' राईले लोकान्तरसँग भने, 'गुटबन्दीका सबै कारक तत्वहरू नष्ट गर्नुपर्र्छ । त्यसका लागि नेताहरूको नामबाट खोलिएका प्रतिष्ठानहरू बन्द गर्नुपर्छ ।'
शुक्रवार सातवटै प्रदेशका तर्फबाट अध्यक्ष सँगसँगै सम्पर्क समन्वय समिति, उपत्यका विशेष समिति र प्रवास कमिटीबाट प्रतिवेदन पेश भएको थियो ।
त्यससँगै ४ वटा समूहहरूले आफ्नो प्रस्तुति दिएका थिए । समूह १३ बाट लेखनाथ न्यौपाने, ९ बाट भगवती चौधरी, ६ बाट दिनानाथ शर्मा र २ बाट कमला रोकाले समूहगत प्रस्तुति दिए ।
समूहगत प्रस्तुतिमा सबै समूहबाट अमेरिकी सहयोग परियोजना (एमसीसी)का बारेमा प्रस्तुति आएको केन्द्रीय सदस्य रामप्रसाद सापकोटा 'दीपशिखा'ले बताए ।
'एमसीसीका बारेमा धेरै केन्द्रीय कमिटी सदस्यहरूले बुझेको पाइएन, तर यसको विरोध र समर्थन भने सबैले गरेका छन्,' उनले लोकान्तरसँग भने, 'यसका लागि एउटा कार्यदल बनाएर अघि बढ्ने मोटामोटी निष्कर्ष आएको छ ।'
नेता राम कार्कीले विगतबाट उपलब्धि मात्र लिने तर त्यसको दायीत्व नलिने प्रवृत्ति देखाउन नहुने बताएका छन् ।
१४ नम्बर समूहको टोलीनेतासमेत रहेका कार्कीले नेपालको कम्युनिस्ट आन्दोलनको विगतले प्रत्येक कुरामा शंका गर्न सिकाएको बताए ।
'एमसीसीका बारेमा बहस हुनु सकारात्मक हो,' उनले भने, 'यो प्रत्येक जनताले बहस गर्न पाउनुपर्ने विषय हो । यससँग जोडिएका प्रत्येक सवालहरूको जवाफ खोज्नुपर्छ ।'
कार्कीले विश्वमा 'डाटा कोलोनाइजेसन'को अवस्था आउनेतर्फ पनि सचेत हुनुपर्ने बताए ।
शनिवार बिहान ११ बजेबाट शुरू हुने अर्को बैठकमा बाँकी रहेका समूहहरूले समूहगत प्रस्तुति दिनेछन् ।
अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल 'प्रचण्ड'ले पेश गरेको राजनीतिक प्रतिवेदन र महासचिव विष्णु पौडेलले पेश गरेको सांगठनिक प्रतिवेदन र विधान संशोधन प्रस्तावमा केन्द्रीय कमिटी सदस्यहरूले १५ वटा समूह बनाएर सामूहिक छलफल गरेका थिए ।
बिहीवार पार्टी केन्द्रीय कार्यालय धुम्बाराही, पेरिसडाँडा र राष्ट्रिय सभागृहमा छुट्टाछुट्टै समूहको छलफल चलेको थियो ।
तीनवटै दस्तावेजमाथि धेरैजसो समूहको छलफल बिहीवारै सम्पन्न भएको भएपनि एकाध समूहले शुक्रवार बिहान पनि छलफल गरेका थिए ।
समूह १ मा उर्मिला अर्याल र आनन्द पोखरेल टोली नेता छन् भने समूह २ मा कमला रोका छिन् ।
प्रहरीका एसएसपी सौरभ राणा निलम्बित
नेपाल प्रहरीका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सौरभ राणा निलम्बनमा परेका छन् ।
संघीय प्रहरी इकाइ धरानमा कार्यरत राणाले एक महिलामाथि यौन दुर्व्यवहार गरेको उजुरी परेको थियो ।
गृह मन्त्रालयले एसएसपी राणालाई निलम्बन गरेको नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायब महानिरीक्षक (डीआईजी) शैलेश थापा क्षेत्रीले पुष्टि गरे ।
डीआईजी क्षेत्रीले लोकान्तरसँग भने, ‘उहाँलाई अनुशासन र आचरण विपरीत काम गरेको हुनाले निलम्बन गरिएको हो ।’
गत कात्तिकमा धरानकी एक महिलाले राणाविरुद्ध गृह मन्त्रालयमा उजुरी दिएकी थिइन् ।
प्रदेश २ सरकारले छोरी शिक्षा बिमाको रकम बढाएर ३ लाख पुर्यायो
प्रदेश नम्बर २ सरकारले 'बेटी पढाऊ, बेटी बचाऊ' अभियानअन्तर्गत 'छोरी शिक्षा बिमा'को रकम बढाएर १ लाखबाट ३ लाख पुर्याएको छ ।
प्रदेश मन्त्रिपरिषद्को शुक्रवार बसेको बैठकले छोरी शिक्षा बिमाको रकम वृद्धि गर्ने निर्णय गरेको स्रोतले लोकान्तरलाई जानकारी दियो ।
स्रोतका अनुसार उक्त निर्णयको औपचारिक जानकारी आजै पत्रकार सम्मेलन गरेर दिने तयारी छ ।
बढेको रकम यो अभियानको शुरूआतदेखि नै जन्मेका छोरीहरूको हकमा लागू हुनेछ ।
२०७५ माघ २ गतेयता जन्मेका बालिकालाई २० वर्षपछि रु. १ लाख दिने गरी निःशुल्क बिमा गर्न शुरू गरिएको थियो ।
अब बिमाको रकम थप २ लाख बढेर कुल ३ लाख पुगेको छ ।