२२ जेठ २०८३, शुक्रबार

अलमलमै बित्यो जनप्रतिनिधिहरूको ३३ महिना

माघ १८, २०७६
अलमलमै बित्यो जनप्रतिनिधिहरूको ३३ महिना

स्थानीय तहको सम्भावनालाई समृद्धिमा रूपान्तरण गर्न व्यवस्थित योजना बनाउनुपर्ने कानुनी व्यवस्था भए पनि त्यसतर्फ स्थानीय तहका सरकारको ध्यान जान सकेको छैन । स्थानीय सरकार सञ्चालन ऐनले स्थानीय तहले वार्षिक, आवधिक र रणनीतिक योजना बनाउनुपर्ने कानुनी व्यवस्था गरेको छ ।

स्थानीय तहको वार्षिक, आवधिक र रणनीतिक योजनाको अभावमा सङ्घीय सरकारको दिगो विकासको लक्ष्य हासिल गर्न कठिन बन्दै गएको स्थानीय शासन विज्ञको अनुभव छ । स्थानीय तहलाई पाँच वर्ष, १० वर्ष र १५ वर्षमा कस्तो बनाउने भन्ने स्पष्ट चित्रण नै उक्त योजनाले गर्ने तर्क विज्ञको छ ।

डेढ सयले बनाए सहरी योजना
स्थानीय तहका जनप्रतिनिधि विकासका योजनामा अलमलमा परिरहेको बेला विज्ञले स्थानीय तहको दिगो विकासका लागि वार्षिक, आवधिक र रणनीतिक योजना बनाउन सुझाव दिएका हुन् । एसियाली विकास बैङ्क (एडीबी) को सहयोगमा १५० वटा नगरपालिकाले भने एकीकृत सहरी विकास योजना निर्माणको प्रारम्भिक कार्य सुरु गर्न लागेका छन् । अन्य नगरपालिका र गाउँपालिकाको भने त्यसतर्फ ध्यान जान सकेको छैन ।
स्थानीय शासनविज्ञ रमेशकुमार अधिकारीले स्थानीय तहको निश्चित स्थानमा विद्यालय, खेलमैदान, बाटो, पुल खानेपानी, पर्यटकीय स्थल सांस्कृतिक क्षेत्र लगायतका भौतिक संरचना निर्माण गर्न वार्षिक, आवधिक र रणनीतिक योजना आवश्यक भएको बताए।

उहाँका अनुसार स्थानीय तहप्रति नागरिकको अपेक्षा धेरै छ । उक्त अपेक्षा क्रमिक रूपमा पूरा गर्न स्थानीय तहले उक्त योजना निर्माण गर्नुपर्छ । अधिकारीले आवधिक योजनाले स्थानीय र राष्ट्रिय आवश्यकताबीच तालमेल गर्छ, वार्षिक विकास कार्यक्रम र दीर्घकालीन सोच तर्जुमा भई योजना व्यवस्थित रूपमा अगाडि बढ्छ भन्नुभयो । वार्षिक योजनाले अल्पकालीन र क्षणिक समस्याको मात्र समाधान गर्छ । वार्षिक, आवधिक र रणनीतिक योजनाले स्थानीय तहमा भएका साधन र स्रोतको उचित पहिचान गर्छ । सङ्घीय सरकारको दिगो विकासको लक्ष्यलाई समेत स्थानीय सरकारको यस योजनाले सहयोग पुर्‍याउने बताए।

अर्का स्थानीय शासन विज्ञ वीरकृष्ण महर्जनले राष्ट्रिय योजनाको फ्रेमवर्कभित्र स्थानीय सरकारलाई राख्न अनिवार्य रूपमा स्थानीय सरकारले वार्षिक, आवधिक र रणनीतिक योजना बनाउनुपर्ने बताए । अधिकांश स्थानीय सरकार वार्षिक योजनामै रमाएर बसेका छन् । वार्षिक योजनामा मात्र रमाउँदा दिगो रूपमा सोच्नुपरेन । उहाँले स्थानीय सरकारले दैनिकी मात्र चलाउने वा आवधिक रूपमा विकासका योजना पनि सञ्चालन गर्ने हो भने।

उनका अनुसार स्थानीय तहको आर्थिक वृद्धि र सामाजिक रूपान्तरण गर्न सेवा र सुविधा सर्वसुलभ र गुणस्तरीय बनाउन वार्षिक, आवधिक र रणनीतिक योजना आवश्यक छ । स्थानीय तहका जनप्रतिनिधिले भने स्थानीय आवश्यकता अनुसार आवधिक र गुरुयोजना निर्माण गरिरहेको दाबी गरेका छन् । सबै स्थानीय तहमा एउटै प्रकृतिको योजना आवश्यक हुँदैन त्यहाँको भूगोल र परिस्थिति अनुसार अल्पकालीन, मध्यकालीन र दीर्घकालीन योजना बनाउने हो अहिले सोही अनुसार काम भइरहेको उनीहरूको भनाइ छ । गाउँपालिका राष्ट्रिय महासङ्घ नेपालका अध्यक्ष होमनारायण श्रेष्ठले स्थानीय तहको आवश्यकता अनुसार गुरुयोजना र आवधिक योजना रणनीतिक योजना बनाउने काम क्रमिक रूपमा अगाडि बढेको बताए।

अलमलमै बित्यो ३३ महिना
स्थानीय तहका जनप्रतिनिधिको करिब तीन वर्ष अलमलमै बितेको छ । दुर्गम स्थानीय तहमा कर्मचारीको र कानुनको अभावमा कार्य सम्पादन समस्या भएको गुनासो यथावत् छ । सुगम स्थानीय तहमा कर्मचारी र जनप्रतिनिधिबीच आन्तरिक द्वन्द्वले अपेक्षाकृत काम हुन सकेको छैन । गोरखापत्र दैनिकमा खबर छ ।

salt training

कमेन्ट गर्नुहोस्