
सरकारले गरेको कामको प्रचार हुन नसक्दा आलोचना भयो : सञ्चारमन्त्री बाँस्कोटा
सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले सरकारले गरेका कामको प्रचार हुन नसक्दा पार्टीमा आलोचना भएको बताएका छन्।
राष्ट्रिय सभागृहमा जारी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को दोस्रो पूर्ण केन्द्रीय कमिटी बैठकपछि सञ्चारकर्मीसँग सङ्क्षिप्त कुराकानी गर्दै उनले बैठकमा स्वभााविकरुपमा सरकारको राम्रो कुरा मात्र आउँदैन कमजोरी कुरा पनि केलाइने भएकाले आलोचना भएको बताए।
‘सरकारको आलोचना केही साथीले गर्नुभएको छ । कम्युनिष्ट पार्टीमा आलोचना हुनु स्वाभिक हो । कतिपय थाहा नभएर, कतिपय बुझेर र कतिपय गर्ने पर्ने कारणले आलोचना भएको हो,’ मन्त्री बाँस्कोटाले भने, ‘हामीले सरकारले गरेका उपलब्धिलाई प्रचार गर्न नसकेर आलोचना भएको हो।’
नेकपाका केन्द्रीय सदस्यसमेत रहेका मन्त्री बाँस्कोटाले बैठकमा सरकारले गरेका निकै राम्रा उल्लेखित कार्यलाई संलेषित गर्न जरुरी रहेको बताए। उनले सरकारका कामलाई पार्टी पङ्क्तिले सतही आधारमा विश्लेषण नगरी गम्भीर ढङ्गले अध्ययन गर्नुपर्ने बताए।
आमरण अनशनमा बस्दै लक्ष्मण थारु
थरुहट नेता लक्ष्मण थारुले थरुहट क्षेत्रको अधिकारका लागि आमरण अनशनमा बस्ने घोषणा गरेका छन् ।
थरुहट/थारुवान मोर्चा कैलालीले शनिवार धनगढीमा आयोजना गरेको अन्तर्क्रिया कार्यक्रममा उनले फागुन १ गतेदेखि आफ्नै नेतृत्वमा धनगढीमा आमरण अनशनमा बस्ने बताए ।
मोर्चाका केन्द्रीय संयोजक समेत रहेका थारुले शान्ति र सद्भावको लागि फागुन १ गतेदेखि आन्दोलनको घोषणा गरेको बताए ।
‘अब हामी अलिकति पनि बिचलित नभएर, देशको शान्ति र सद्भाव नबिगार्ने गरी हामी आन्दोलनको घोषणा गरेका छौं । फागुन १ गतेदेखि मेरै नेतृत्वमा धनगढी आमरण अनशनमा बस्दैछौं । फागुन २ गतेदेखि देशव्यापी रुपमा प्रदर्शन गर्छाैं । यदि त्यतिले भएन भने हामी फागुन ५ गतेदेखि ३ दिन आमहड्तालको घोषणा गर्दैछौं,’ उनले भने ।
खसान राष्ट्रिय संघर्ष समितिका केन्द्रीय उपाध्यक्ष एंव सुदूरपश्चिम अध्यक्ष रघुवीर ठगुन्नाले राज्य पुनःसंरचनाको क्रममा खसहरूलाई अन्यायमा पारेको दुखेसो सुनाए ।
‘शासकहरूले हामीलाई, लक्ष्मण थारु जातिवादी भन्छन् । जातीय आन्दोलन गरेको भन्छन् तर जातीयता त सत्तामा बस्नेले एकल जातीय शासन चलाइरहेका छन् । हामी त शोषित वर्ग आफ्नो अधिकार र भाग मात्रै खोजेका हौं,’ उनले अगाडि थपे ।
आफूहरूलाई खसआर्य भनी एउटैमा राखेपछि अन्यायमा परेको बताउँदै उनले थरुहट आन्दोलनप्रति ऐक्यवद्धता जनाएको उल्लेख गरे । मोर्चाले १४ बुुँदे माग राख्दै आन्दोलनको घोषणा गरेको छ ।
माघ ८ गते काठमाडौंमा पत्रकार सम्मेलन गरी आन्दोलनको कार्यक्रम सार्वजनिक गरेको मोर्चाले आफ्नो पहिलो माग अन्तर्गत सांसद रेशम चौधरी लगायतलाई जेलबन्दीको रिहाइको माग राखेको छ भने टीकापुर घटनावारे सत्यतथ्य छानबिन गर्नको लागि पूर्व न्यायाधीश गिरिशचन्द्र लाल नेतृत्वको न्यायिक समिति, गृह मन्त्रालयद्वारा अनुसन्धानका पूर्व प्रमुख देवीराम शर्माको संयोजकत्वमा गठिन छानबिन समितिको प्रतिवेदन र सर्वदलीय संसदीय समितिका प्रतिवेदनहरू सार्वजनिक गर्न माग गरिएको छ । आफूहरूलाई सूचनाको अधिकारबाट वञ्चित गरिएको भन्दै संयोजक थारुले प्रतिवेदनहरू सार्वजनिक गरिनुपर्ने माग राखे ।
आन्दोलनपश्चात भदौ ८ गते कर्फ्यू तथा निषेधाज्ञाको क्रममा थारुहरूको घर, पसल तथा व्यावसायिक केन्द्र्रमा गरिएको आगजनी, लुटपाट तथा चोरीमा संलग्नलाई पक्राउ गरी कानूनी कारवाहीको माग गरेको छ ।
मौजुदा सुदूरपश्चिमाञ्चल विकास क्षेत्रको सुदूरपश्चिम प्रदेश आफूहरूलाई अमान्य रहेको बताउँदै मोर्चाले पहिचानको आधारमा १० जोड १ कायम गरी राज्यको पुनःसंरचना गरिनुपर्ने माग गरेको छ ।
नेकपा केन्द्रीय सदस्यको निराशा : ‘कमण्डलु बोकेर जोगी बन्न मन छ’ !
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) केन्द्रीय कमिटी बैठकमा समूह नेता राजेन्द्र राईले पार्टीभित्रको बेथिति देख्दा कमण्डलु बोकेर जोगी बन्न मन लागेको बताएका छन् ।
बैठकमा समूह छलफलको रिपोर्टिङ गर्दै ११ नम्बर समूह नेता राईले पार्टी संगठन चौपट भएको गुनासो गरे ।
‘संगठन चौपट भयो, नेताहरूका आचार व्यवहार बिग्रिए । मलाई वैराग लागेर आउँछ, कमण्डलु बोकेर जोगी बन्न मन छ,’ राईले बैठकमा व्यक्त गरेको निराशा उदृत गर्दै एक केन्द्रीय सदस्यले भने ।
पार्टी बिग्रिएर कार्यकर्ता चिन्तित हुँदा समेत शीर्ष नेताहरू आनन्द मानेर रमाइरहेकोप्रति राईले झन् चिन्ता व्यक्त गरे । ‘सरकार पार्टीको निर्देशन अनुसार चल्नुपर्ने हो तर पार्टीको निर्णय सरकारले अवज्ञा गरिरहेको छ,’ राईले बैठकमा भने ।
व्यापारी नेताविरुद्ध नेकपामा जोडदार मत : कि व्यापार छाड, कि पार्टी छाड !
राजनीतिक आडमा व्यापार–व्यवसाय गर्ने प्रवृत्ति बढेको भन्दै नेपाल कम्युनिस्ट पार्टी (नेकपा) केन्द्रीय कमिटी बैठकमा विरोध भएको छ ।
समूहगत रिपोर्टिङ प्रस्तुत गर्ने क्रममा नेताहरूले नेकपाका सदस्यले शिक्षा र स्वास्थ्यको व्यापार–व्यवसायबाट टाढा बस्नुपर्ने माग गरेका छन् ।
पार्टीले समाजवादको कुरा गरिरहँदा कतिपय कम्युनिस्ट नेताहरूले शिक्षा र स्वास्थ्यलाई व्यापार बनाएर पैसा कमाउनु शोभनीय नहुने मत बैठकमा उठेको एक केन्द्रीय सदस्यले बताए ।
‘शिक्षा र स्वास्थमा नेकपाकै कतिपय नेताहरूको लगानीमा व्यापार भइरहेको छ । कि त व्यापार गर्न छाड्नुपर्यो, कि त पार्टी कमिटी छाड्नुपर्यो भन्ने आवाज उठेको छ,’ ती केन्द्रीय सदस्यले भने ।
बैठकमा संक्रमणकालीन न्यायलाई चाडो टुंगोमा पुर्याउनुपर्ने माग समेत गरिएको छ । अमेरिकी सहयोग परियोजना एमसीसीलाई हतारमा भन्दा पनि अध्ययन समिति बनाएर प्राप्त निष्कर्षका आधारमा अगाडि बढ्न समूहगत सुझाव प्राप्त भएको जनाइएको छ ।
‘बालुवाटार जग्गा प्रकरणमा पार्टीसँग पनि जोडिएर विषय आएकाले समिति बनाएर छानबिन गर्नुपर्ने विषय आएको छ,’ ती सदस्यले भने, ‘गुटबन्दीको प्रमुख कारक नेतासँग जोडिएका प्रतिष्ठान रहेकाले त्यसलाई व्यवस्थित गरेर मात्रै सञ्चालन गर्नुपर्ने माग समेत उठेको छ ।’
बैठकमा १५ मध्ये १४ समूहले रिपोर्टिङ राखिसकेका छन् भने समूहको अन्तिम रिपोर्टिङ हिमाल शर्माले राखिरहेका छन् ।
बैठकमा हिमाल शर्माको आक्रोश : ‘शीर्ष नेताको टाउकोमा आगो सल्काउनुपर्छ’
सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) केन्द्रीय कमिटी बैठकमा समूह नेता हिमाल शर्माले शीर्ष नेताको टाउकोमा आगो सल्काउनुपर्ने धारणा राखेका छन् ।
समूहगत रिपोर्टिङ राख्दै १५ नम्बर समूहका टोली नेता शर्माले पार्टी र सरकारमा मौलाएको भ्रष्टाचार र गुटबन्दी सचिवालयमा रहेका शीर्ष ९ जना नेताबाटै भइरहेकाले त्यसलाई नष्ट गर्न टाउकोमा आगो सल्काउनुपर्ने माग गरेका हुन् ।
नेकपा बैठकमा पार्टीभित्र विकृति बढेको भन्दै चिन्ता व्यक्त गरिँदै आएको छ । पार्टीका नेता नै व्यापार व्यवसायमा लागेकाले झन् विकृति बढेको बताउँदै नेता शर्माले त्यसको अन्त्य गर्न कार्यविधि बनाउनुपर्ने धारणा राखेका छन् ।
‘शिक्षा र स्वास्थ्य क्षेत्रको व्यापारमा जोडिएका नेताहरूलाई १ वर्षभित्र त्यहाँबाट मुक्त हुन कार्यविधि नै बनाएर निर्देशन दिनुपर्छ,’ शर्माको भनाइ उदृत गर्दै एक केन्द्रीय सदस्यले भने ।
नेकपा बैठकमा समूहगत छलफलको रिपोर्टिङ सुनाउने क्रम सकिएको छ । बैठकमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ तथा महासचिव विष्णु पौडेलले राजनीतिक र सांगठनिक प्रतिवेदन पेश गरेपछि समूह विभाजन गरेर छलफल गरिएको थियो ।
प्रचण्डपुत्री रेनु दाहालको माग : शासकीय स्वरुप 'प्रत्यक्ष निर्वाचित कार्यकारी' हुनुपर्छ !
सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) केन्द्रीय कमिटीको दोस्रो पूर्ण बैठकको चौथो दिन समूह नेताहरूले आफ्नो प्रस्तुति दिने क्रम शुरू भएको छ ।
शनिवार बिहान ११ बजेदेखि शुरू भएको बैठकमा १२ नम्बर समूहको टोली नेता रेणु दाहाल, ४ नम्बरका नेता जगन्नाथ खतिवडा र ३ नम्बर समूह नेता खिमलाल भट्टराईले आफ्नो प्रस्तुति दिएका हुन् ।
आफ्नो प्रस्तुति दिंदै खतिवडाले समाजवादको आधार निर्माण गर्नुपर्नेमा जोड दिए ।
‘जनवादी केन्द्रीयता पनि सही ढंगले लागू भएको छैन, समाजवादको आधार तयार भएको छैन,’ उनको भनाई उदृत गर्दै केन्द्रीय सदस्य गणेशमान पुनले लोकान्तरसँग भने ।
आफ्नो समूहको प्रस्तुति दिने क्रममा रेनु दाहालले शासकीय स्वरूप परिवर्तन गर्नुपर्ने आवश्यकता औंल्याएकी छिन् । ‘हामीले खोजेको शासकीय स्वरूप त्यही ढङ्गबाट लागू भएको छैन,’ दाहालले आफ्नो प्रस्तुति राख्ने क्रममा भनिन् ।
संविधानमा भएको शासकीय स्वरुपको व्यवस्थालाई परिवर्तन गरेर ‘प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख हुने व्यवस्थामा पार्टी जानुपर्ने उनको माग छ । नेत्री दाहालका बुवा तथा नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तत्कालीन माओवादी पार्टीको नेतृत्व गर्दा प्रत्यक्ष निर्वाचित कार्यकारीको एजेन्डा अगाडि सारेका थिए तर संविधान निर्माण गर्दा सम्झौता गर्नुपरेकाले प्रचण्डले प्रत्यक्ष निर्वाचित कार्यकारीको माग छाडेका थिए । नेकपा बैठकमा प्रचण्डपुत्री रेनु दाहालले प्रत्यक्ष कार्यकारीको मागलाई ब्यूताएकी छन् ।
यसैगरी बैठकमा आफ्नो प्रस्तुति दिंदै नेता भट्टराईले पार्टीको गुटबन्दी शीर्ष नेताबाटै भइरहेको भन्दै आक्रोश पोखेका थिए ।
केन्द्रीय सदस्य पुनले बैठकमा संघीयताको पुनर्संरचना गर्नुपर्ने विषय उठेको बताए । उनले भने, 'स्थानीय तह, प्रदेश तथा संघको पुनर्संरचना गर्नुपर्छ, यसका लागि पार्टी लाग्नुपर्छ भन्ने विषय उठेको छ।'
नेकपाको दोस्रो केन्द्रीय कमिटीको पूर्ण बैठक बुधवारबाट शुरू भएको थियो ।
आमन्त्रित केन्द्रीय समिति समेत गरेर ४४६ जनाको जम्बो कमिटीको बैठकमा व्यक्तिगत धारणा राख्न समय नपुगेपछि १५ वटा समूहमा बाँडिएको थियो ।