३० असार २०८३, मंगलबार
नेकपा केन्द्रीय कमिटी

नेकपा केन्द्रीय सदस्यको आक्रोश – रातोपिर्के सलामी मोहले कहाँ पुगिन्छ ?

नेकपा केन्द्रीय सदस्यको आक्रोश – रातोपिर्के सलामी मोहले कहाँ पुगिन्छ ?

सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) केन्द्रीय कमिटीको दोस्रो पूर्ण बैठकमा भएको समूहगत छलफलमा सरकार र पार्टी नेतृत्वको जमेर आलोचना भइरहेको छ ।

समूह १३ का टोलीनेता लेखनाथ न्यौपानेले शनिवार आफ्नो प्रस्तुति दिँदै पार्टीलाई होटेल र निजी निवासबाट चलाउन बन्द गर्नुपर्ने सुझाव पेश गरेका छन् ।

'पार्टीलाई पार्टी कार्यालयहरुबाट चलाउनुपर्‍यो । पार्टीलाई नेताका निजीनिवास र होटेलहरुबाट चलाउने प्रक्रिया पुरै रोक्नुपर्‍यो,' न्यौपानेले समूहको प्रतिनिधित्व गर्दै दिएको सुझावमा उल्लेख छ ।

त्यस्तै न्यौपानेको प्रस्तुतिमा 'रातो पिर्के सलामी' खाने नेताहरूमाथि पनि आलोचना गरिएको छ ।

न्यौपानेले प्रस्तुत गरेको समूहगत प्रतिवेदनको पूर्णपाठ  

राजनीतिक र संगठनात्मक प्रतिवेदनको मुख्य पक्षप्रति हाम्रो समूहको समर्थन रह्यो तर कतिपय भाषागत र विषयगत पक्षहरुलाई सच्याउन र थप्न जरुरी ठान्दछौं ।

अन्तर्राष्ट्रिय परिस्थितिमा

राजनीतिक प्रतिवेदनको पेज ८ मा आइपिएसको प्रसङ्गमा देशको नामै उल्लेख गरेर फलानो देशलाई घेर्न नभनौं, कुनै देशसँग नजिक र कुनै देशसँग ढाडा जस्तो भाव आएको छ, त्यस पक्षलाई सत्तारूढ पार्टीको संवेदनशीलतासँग मिल्लने गरी सच्याऔं ।

मध्यपूर्वमा देखिएको समस्या र त्यसले नेपाली समाजलाई पार्ने प्रभावबारे अन्तर्राष्ट्रिय परिस्थितिमा थपौं ।

राष्ट्रिय परिस्थितिमा

औपनिवेसिकता र अर्ध सामन्ती जस्ता शब्दाबली प्रयोग नगरौं । १२ पेजमा नेपाली समाजको चरित्रबारेको विश्लेषण एक आपसमा बाझिएको जस्तो गरी आयो, त्यसप्रति ध्यान जाओस् ।

सरकारको कामको समीक्षालाई चुनावी घोषणापत्रको आधारमा गर्दा सही हुन्छ साथै समीक्षा सुधार र रुपान्तरणका लागि बनाएर गर्दा अर्थपूर्ण बन्नेछ । प्रमले राख्नुभएको तथ्याङक र सूचकाँकहरु समावेश गर्दा राम्रो हुन्छ किनभने एकातिर दस्तावेजिकरण हुने र अर्कोतिर तलका कार्यकर्तासम्म जाने हुँदा पाठ्यसामग्री पनि बन्ने हुन्छ ।

तथ्याङ्क ठिकै भएपनि जनताले त्यसको आधारमा सकारप्रतिको धारणा सकारात्मक बनाउने परिस्थिति विद्यमान छैन । सरकारको कामको प्रचार कम भएर पनि होला तर राम्रा काम कम, नराम्रा बढी जस्तै सुन काण्ड, ठेकेदार काण्ड, वालुवाटार काण्ड, यति समूहसँग जोडिएको प्रसङ्ग अनि स्थानीय सरकारले लगाएको कर,  सरकारका प्रतिनिधि ठेकेदार हुने, उनीहरुले आफ्नै फर्मलाई ठेक्का पार्ने र आफ्नै डोजर प्रयोगले हामीमाथि बढी आलोचना भएको छ । त्यसकारण सरकारको कामबारे बाहिर मिलाएर प्रतिरक्षा पनि गरौं र यहाँ निर्मम ढंगले समिक्षा गर्ने आँट पनि गरौं ।

तिनै तहमा पार्टी संयन्त्र बनाएर त्यसले सरकारको दैनिकी कामबाहेकका अरु काम चलाउने प्रक्रिया गएर मात्र हामीले ठिक गर्न सक्छौं ।

उपनिर्वाचनको समीक्षामा

राष्ट्रियसभा निर्वाचनको समीक्षा थपौं । जहाँ हामीलाई २ सिट नाफा भएको छ २ नं. प्रदेशबाट । चुनावी कोणबाट भएको राजपासँगको गठबन्धन सही नै भएपनि राजनीतिक दृष्टिकोणको आधारमा सापेक्षित प्रगतिशील शक्ति समाजवादीलाई निकालेर त्योभन्दा दक्षिणपन्थी शक्तिसँग सहकार्य गर्ने कुरो हाम्रो परिपक्वता हुँदैन ।

प्रतिवेदनमा उल्लेख भएको पार्टी महाधिवेशनको मिति कुनै पनि शर्तमा नसार्ने गरी काममा केन्द्रित हौं ।

संगठनमा

पार्टी संगठनलाई गुटले खायो । गुटको नेतृत्वमाथिबाट भयो । मरेका नेताहरुको नाममा बनेका संरचनाहरुले गुटलाई तलसम्म पुर्‍याउने काम गरे । यसलाई नियन्त्रण गर्नुपर्ने देखिन्छ ।

पार्टी संगठन विधिमा चलेन, ६ महिनामा बस्नुपर्ने केन्द्रको बैठक २१ महिनामा हुनु, पिवि गठन नहुनु आदि यसका उदाहरण हुन् । पिविको गठन र एकताका बाँकी काम यसै बैठकले गर्नु पर्ने ।

पार्टीलाई, पार्टी कार्यालयहरुबाट चलाउनुपर्‍यो । पार्टीलाई नेताका निजीनिवास र होटेलहरुबाट चलाउने प्रक्रिया पुरै रोक्नुपर्‍यो ।

अब एक सदस्य एक जिम्मेवारीमा जानुपर्छ । उस्तै इतिहास र क्षमताभएको एउटा साथीले जिम्मेवारीको भारी बोक्नु पर्ने बाध्यता, जसको समयअभावको कारण पार्टी काम प्रभावित हुने । तर त्यस्तै अर्को साथी कामविहिन बन्नुपर्ने अवस्थाको अन्त्य गरौं ।

समूहका सबै सदस्यहरुले समानुपातिक/समावेशीको विषय गम्भीर ढंगले उठाउनुभएको छ । यो नीति लेखाई र मुखमा मात्र सीमित भयो । यसलाई व्यवहारमै उतार्ने गरी विधानसहित कार्यान्वयनमा लैजाऔं । समावेशीको अधिकारभित्र पर्ने सबैको हकमा विशेसतः महिलाहरुको हकमा पार्टीका सबै कमिटीमा ३३ प्रतिशत र पदाधिकारीको हकमा एक तिहाई अनिवार्य सहभागी हुनेगरी अनिवार्य कार्यान्वयन गर्ने साथै राज्यका सबै निकायमा संविधानमा उल्लेख भएअनुसारको सहभागिता हुनुपर्ने ।

युवा, महिला र दलितहरुको सहभागिता कमिटीमा निश्चित गर्नका लागि पार्टी सदस्यता वितरणमै विशेष व्यवस्था गर्न जरुरी देखियो ।

संगठित सदस्यहरुको सदस्यता नवीकरण शुल्कमा व्यवहारिक (कि महिना घटाउने कि शुल्क घटाउने) निर्णय गरेर कामलाई अगाडि बढाउनुपर्ने देखिन्छ ।

नयाँ पुस्तालाई पार्टीमा आकर्षित गर्ने उपायहरुको खोजी गर्न जरुरी भयो । अलिअलि आएका नयाँ पुस्ताका प्रतिनिधिहरुलाई माक्र्सवादको आधारभूत प्रशिक्षण दिने व्यवस्था गरेर पार्टी काममा जोडौं । उमेर पुगेपछि जिम्मेवारीबाट विदा हुने विधि पनि निश्चित गरौं ।

व्यक्तिलाई हेरेर विधान बदल्ने संस्कार बिल्कुल नगरौं । केन्द्रमा बहुपद जरुरी हो भने सबै संरचनामा बहुपदमा जादा विधान बदल्ने विषयतर्क संगत हुन्छ ।

सचिवालय कार्यकारी संरचना होइन र नबाऔं ।

पार्टी स्कूललाई व्यवस्थित गरेर नियमित काममा उतारौं । पार्टी स्कूलबाट उत्तीर्ण भएका सदस्यलाई बढवामा प्राथमिकता दिने व्यवस्था गरौं । अन्य पार्टी मुख्यत गैरकम्युनिस्टबाट हाम्रो पार्टीमा आउनेहरुलाई आधारभूत प्रशिक्षण गरेर मात्र कमिटीमा राख्ने निर्णय गरौं ।

जिल्ला र त्यसमा रहेको महानगर कमिटीबिचको समस्या विधानमा उल्लेख भएअनुसार नै हो भनेर मूर्त निर्णय गरेर कार्यान्वयनमा जानु नै सही हुन्छ ।

जनवर्गीय संगठनहरुको सन्दर्भमा

विचार/नीतिमा पार्टी आवद्धता एवं संगठनमा स्वायत्तता र जनवर्गीय संगठनभित्र पार्टी कमिटी निर्माण गरेर उनीहरुलाई पार्टीकरण गर्ने विधिमा जानु सही हुन्छ ।

समूहमा एकरुपतामा उठेका महत्वपूर्ण  विषयहरु

एमसीसी जस्ताको तस्तै निर्णयमा लानु हूँदैन । विज्ञ समूह बनाएर उनीहरुसँगको छलफलपछि एमसीसीलाई आइपिएससँगको सम्बन्ध प्रष्ट पर्ने (होइनभन्ने भएपछि) र एमसीसीका असमान प्रवाधानहरु समानातामा बदलेर मात्र अघि बढ्नुपर्छ । जनतामा कम्युनिस्टले राष्ट्रघाती काम गरे भनेर प्रचार हुने खतराबाट बच्न र पार्टीलाई विभाजित हुनबाट जोगाएर मात्र यसबारे निर्णय लिन राम्रो हुन्छ ।

भ्रष्टाचारबारे जे भन्दै आएका छौं, त्यसले काम गरेको छैन् । त्यसकारण यसबारे डोज थप्नु पर्ने देखिन्छ । नीतिगत र खलेआम भ्रष्टाचार हामी भित्र पनि मौलायौ । यसबारे हामी निर्मम भएनौं भने आज कम्युनिस्ट भनेर छाती खोलेर हिंड्न समस्या भएको मात्र छ। यहींबाट हामी भित्रको भ्रष्टाचार रोकेनौ भने यसैले हामीलाई खाइदिन्छ र कम्युनिस्ट आन्दोलनलाई नै बदनाम गर्छ ।

राजनीतिक नियुक्तिमा विकृति बढी भयो । यार्टीभित्रै कै त्यस काम सम्बन्धमा योग्य सार्थीहरु छन् भने उनीहरुलाई त्यस्ता ठाउँमा नपठाउनु र बाहिरका मान्छे खोज्दै पठाउनुको कारण पनि भ्रष्टाचार नै हो ।

संवैधानिक निकाय जस्तै महिला आयोग र अरुहरुमा नियुक्ति नहुँदा सरकार अपूर्ण भएको देखिन्छ । विश्वविद्यालयका पदाधिकारी लगायत राजदूतहरु छिटो नियुक्ति गर्दा सरकारको कामले गति लिन्छ । संवैधानिक परिषद्मा मधेशको प्रतिनिधित्व हुनेगरी निर्णय गर्दा सन्देश राम्रो जान्छ ।

पार्टीभित्र अवसरको वितरण न्यायपूर्ण भएन । कसैलाई थपेको थप्यै गर्ने र कसैलाई धकलेको धकेल्यै गर्ने संस्कारले समाजमा न्याय स्थापनागर्ने कुरो कसरी मिल्छ । पछिल्लो राष्ट्रिय सभासम्बन्धि निर्णय पनि अवसरमा न्याय स्थापित भएको देखियो ।

सीमाबारे रुपमा फरक देखिएपनि सारमा सरकारमा हुँदा र नहुँदा परक देखिनुहँुदैन । लिम्पियाधुरा सहितको हाम्रो देशको नक्शा सार्वजनिक गर्ने निर्णय यसै बैठकले गर्नुपर्छ ।

सांस्कृतिक विचलनले हामीलाई वुर्जुवाकरणतिर तीव्रतामा लगिरहेको छ । आचारसहिंता आयो तर भौतिकवादी दृष्टिकोणको आधारमा आउन जरुरी देखिन्छ । व्रतबन्ध गर्ने भन्ने जस्ता विषयले हामी कुन दर्शनद्वारा निर्देशित छौं भन्ने प्रश्न उठिहाल्छ नि । आचारसहिंता पहिला माथिबाट लागू गरेर विश्वासको वातावरण बनाएपछि मात्र तल लैजादा सहजतामा कार्यान्वयन गर्न सकिन्छ ।

पार्टीभित्रबाट राजकीय भूमिकामा गएकाहरुको एउटा सुकिलो वर्ग र जान नपाएकाहरु अर्को गनाउने वर्ग पार्टीभित्रै बन्नु हामी कम्युनिस्ट नबन्ने प्रक्रियाको थालनी हो । त्यसकारण पार्टीभित्रको नयाँवर्ग निर्माण र त्यसको अन्त्य गर्ने काम थालिहाल्नुपर्छ ।

संघीय लोकतान्त्रिक गणतन्त्रका लागि लड्दा सहिद भएका र वेपत्ता भएका योद्धाहरुको सम्मान र घाइते एवं अपाङ्ग भएका सार्थीहरुको दैनिकी चलाउने व्ययस्था यही हाम्रो पार्टी नेतृत्वको सरकारले गर्न जरुरी छ ।

संघीय प्रणाली स्थापित गर्न राजधानी वा नाम तोक्ने काम माथिबाट पटक्कै नगरौं । ३ नम्बरको निर्णयले राम्रो सन्देश गएको छैन।

विकास वजेट खर्च नहुनाका कारण खोजौं र खर्च बढाउने गरी योजना बनाउन लागौं ।

चुनावलाई सस्तो र मितव्ययी बनाउन साथै भ्रष्टाचार कम गर्न पनि निर्वाचन प्रणाली फेर्नुपर्छ । विकल्पको रुपमा पूर्ण समानुपातिक प्रणाली हुनसक्छ ।

महत्वको प्रस्ताव

डिस्कोर्सको ट्रेन्ड सिफ्ट गरौँ र बहस गर्ने संस्कारमा पसौं । यसका लागि पहिलो विषय समाजवाद बन्नुपर्छ ।

नेपाली प्रकृति र समाज अनुकूलको समाजवादबारे मूर्त काममा केन्द्रित हुन आवश्यक छ । हामी नेताहरु अनुत्पादक काम जस्तै साना साना कार्यक्रममा जान रुचाउने, उद्घाटन, सिलन्यास र रातो पिर्के सलामीमा रमाउने र पुरै समय त्यसैका लागि खर्च गर्ने तर रणनीतिक काममा अलिकति पनि समय नछट्याउने प्रवृत्तिले समाजबाद गफमा सीमित हुन्छ । त्यसकारण पार्टीको एउटा हिस्साका साथै सिनियर नेताहरुले पनि कार्य समयको एकहिस्सा समाजवादबारे अध्ययान, खोज र अनुसन्धानमा सामूहिक ढंगले लगाउदा मात्र गुणात्मक परिणाम निकाल्न सकिन्छ । 

salt training

कमेन्ट गर्नुहोस्