२४ जेठ २०८३, आइतबार

ऋचा शर्मा भन्छिन् : ‘आमाले आमाबिना कसरी बाँच्ने सिकाउनु भएन’

माघ २०, २०७६
ऋचा शर्मा भन्छिन् : ‘आमाले आमाबिना कसरी बाँच्ने सिकाउनु भएन’

 नर्भिक अस्पतालनजिकै होटलमा थिइन्, ऋचा शर्मा । मध्यरातको ११ः३५ बजेको थियो, अस्पतालबाट फोन आयो । ऋचाका हात थरथराए, आमालाई भेन्टिलेटरमा राखेको चार दिन भइसकेको थियो । डराई–डराई फोन उठाइन । चिकित्सकले यत्ति भने, ‘अब आउनुपर्‍यो ।’ 

आत्तिदै अस्पताल पुगिन। चिकित्सकले उनलाई जीन्दगीकै सबैभन्दा कठोर वाक्य सुनाए, ‘सी इज नो मोर।’ दिमाग पूरै हल्लियो, केही सोच्नै सकिनन्। आमाको बेडनजिकै गइन्, नर्सका आँखा रसाएका थिए। आमा निलो–कालो, चिसो र सुन्निएको। वरीवरी तीन दिदीहरु थिए, सब डाँको छोडेर रुन थाले। किन हो, ऋचा रुन सकिनन्। सायद, उनलाई आमाको अन्त्य पत्यार लागिसकेको थिएन। त्यहीबेला अस्पतालको कर्मचारीले भने ‘साढे तीन मिटरको कपडा ल्याउनुस्।’

सेतो र पहेलो कपडा हात परेपछि बल्ल ऋचालाई सत्यको बोध भएछ। बरर आँसु झरे।

पुस १८ गतेको रात थियो, त्यो।
....

गत वर्षको दसैंमा ऋचालाई आमाको आर्शिवाद थियो– अर्को वर्ष जोडीलाई नै टिका लगाउन पाउँ। आमाको चाह पूरा हुँदै थियो, मंसिर २१ गते दीपेक्षविक्रम राणासँग ऋचाको विवाह भयो। तर, महिना दिन नबित्दै कहिल्यै नआउने गरी गइन् आमा। आमा रीनादेवी शर्मा ६५ वर्षकी थिइन्।

ऋचाका अनुसार बिहेलगत्तै माइली दिदी राधासँगआमा अमेरिका जाने योजना थियो। भिसा प्रक्रियामात्र होइन, टिकट पनि लिइसकेकी थिइन्। बिहेको पर्सीपल्टदेखि बिरामी भइन्। अस्पताल–घर भइरह्यो। जब चिकित्सकले ‘हवाई यात्राका लागि योग्य’ भनेर लेखिदियो, आमाको मुड परिवर्तन भएछ।

उनले भनिछन्, ‘माघे संक्रान्ति आउँदैछ, ज्वाईं–छोरीलाई टिका लगाएर मात्र अमेरिका जान्छु।’ दिदी गए पनि साथीको साथमा अमेरिका पठाउन खोज्दै थिइन् ऋचा तर आमाको जिद्दीको सामू केही लागेन। ऋचाले सुक्सुकाउँदै भनिन्, ‘तर माघे संक्रान्तिमा आमाको १३ दिनको काजक्रिया गर्नुपर्‍यो।’ कस्तो दुखद संयोग !

विवाह जीवनको सुखद उत्सव ! त्यसमाथि प्रशारणरत टेलिभिजन रियालिटी सो ‘कमेडी च्याम्पियन’को निर्णायक हुन् उनी। जहाँ उनको कामै हाँस्ने। तर, यहीबेला आमाको शोक ! दबिएको स्वरमा ऋचाले भनिन्, ‘यस्तो बेला सम्हाल्नै गाह्रो हुँदोरहेछ। डर लागेजस्तो, आतस लागेजस्तो हुन्छ।’

हरेक सन्तानका लागि आमाको माया र स्नेह अवर्णीय हुन्छ। ऋचालाई लाग्छ, उनका लागि आमा र आमाका लागि उनी, अझ विशेष थिए। पछिल्लो १० वर्षमा आमालाई कतिपटक अस्पताल लगिन्, कुनै गणना छैन, अनगिन्ती। १२ वर्षअगाडि बुबा बितेपछि आमामाथि एकपछि अर्को समस्या देखापर्‍यो।

‘ब्रेन हृयाम्रेज’ भयो। पित्तथैलीबाट स्टोन निकालियो। पाठेघर निकालियो। रक्तचाप अस्थीर हुन्थ्यो। ऋचा आमाको हेरचाहका लागि हरबखत खटिरहिन। ऋचाकी जेठी दिदी रेखा भक्तपुरमा छिन्, माइली राधा अमेरिका बस्छिन्। साइली राखी जर्मनीमा अनि दाई भारतमा। आमाचाहिँ बालुवाटारमा ऋचासँग बस्थिन्। साथमा थिइन्, ऋचाकी ८५ वर्ष पुगेकी हजुरआमा। छोरी गुमाएको पीडाले हजुरआमालाई कत्ति पोल्दो हो? सोच्दामात्र पनि ऋचाको मुटु चिरिन्छ।

ऋचाको बिहेका लागि आमा आतुर थिइन्। जब वैशाखमा बिहे हुने पक्का भयो, आमामा खुशी होइन, निराशा छाउन थाल्यो। ऋचा भन्छिन्, ‘सायद आमालाई एक्लोपनको भयले सताएको हुनुपर्छ। उहाँलाई कुनै कुरामा खुशी नै हुन छोडिसकेको थियो। एकखालको डिप्रेसन थियो कीजस्तो लाग्छ।’ बिहेको लागि कपडा, गरगहना किन्न सुरु भयो। तर, अहँ आमालाई वास्तै थिएन।

बरु बिहेका लागि अमेरिका र जर्मनीबाट छोरी आउने भएपछिचाहिँ उत्साही थिइन्। एक्लोपन होला भनेरै छोरीहरुले योजना बनाएका थिए, घरी अमेरिका घुमाउने, घरी जर्मनी। नेपालमा चाहिँ कहिलेकाहीं मात्र बस्ने। ऋचा सुनाउँछिन्, ‘हामी चार छोरीसँगबाहेक कुनै रात एक्लै नराख्ने सल्लाह गरेका थियौं।’तर, बिहे नजिकिँदै गएपछि आमालाई रोगले च्याप्दै लग्यो।

आमाको भित्री मनको व्यथा बुझेरै ऋचा भन्ने गर्थिन, ‘आमा बिहेपछि केही परिवर्तन हुन्न, तपाईंलाई केही पर्दा मसँधै सँगै हुन्छु।’ आमालाई पत्यार लाग्दैन्थ्यो। उनी भन्ने गर्थिन्, ‘अँ, अर्काको घर गएपछि कहाँ त्यस्तो हुन्छ?’ अर्थात्, छोरीको बिहेपछि कोही हुन्न भन्ने पीर थियो उनलाई।

दसैंअगाडि ऋचाले ‘पानीफोटो’ नामक फिल्म खेल्ने भइन्। रोल्पा र स्याङ्जामा सुटिङ हुँदै थियो। अरु बेला नयाँ फिल्म खेल्दैछु भन्दा आमा दंग पर्थिन् तर त्यतिबेला उनको मुहारमा उदासीपन छायो। सिधैं नभने पनि बिहेअगाडि त्यति टाढा जान लाग्दा आमालाई खल्लो लागिरहेको ऋचाले महसुस गरिन्, तीनचार दिन मनाउन खोजिन् तर आमामा खुशी छाएन। ‘आमाको मन दुखाएर फिल्म खेल्न मन लागेन, अन्तिम समयमा फिल्म छोडें,’ ऋचा भन्छिन्, ‘जब यो कुरा सुनाएँ, आमा बेडबाट उठेर नाच्नुभयो।’

बिहेको दुई दिनअगाडि पार्क भिलेजमा पार्टी थियो, आमा बल्लतल्ल पुगिन् तर रमाउनै सकिनन्। कोठामा हिटर बालेको थियो तर उनी ‘चिसो भयो’मात्र भनिरहन्थिन्। मान्छेहरु वरपर देख्दा झर्को मानेझैं गर्थिन्। ऋचाका अनुसार त्यतिबेला माइली दिदीलाई आमाले ‘किन यहाँ मान्छेहरु आएका’ भनेर सोधिछन्। उनले छोरीको बिहे हुँदै छ भनेरसमेत भुलिछिन्। ऋचा भन्छिन्, ‘ब्रेन हृयाम्रेज भएकाले बेलाबेला आमाको स्मरणशक्ति हराउँथ्यो। त्यतिबेला चाहिँ दिमागमा अक्सिजन कम भएछ।’ यता, बिहे छ। अर्कातिर, आमाको स्वास्थ्य बिग्रदो छ। बडो सकसमा थिइन ऋचा। धन्न ! त्यतिबेला आमाको ख्याल गर्न दिदीहरु थिए।

ऋचाको रगतमा हेमाग्लोबिनको कमी थियो, त्यसैले आमा दैनिक एउटा अनार छोडाएर खुवाउँथिन्। बिहेको दिन पनि टिका लगाउँदा ज्वाईंलाई भनिछन्, ‘अरु केही नभए पनि अनारचाहिँ दैनिक खुवाउनु है।’ त्यसको पर्सीपल्ट उनलाई नै निमोनिया भएर अस्पताल भर्ना गर्नुपर्‍यो। अमेरिकाको टिकट क्यान्सिल गरियो। एक सातापछि ऋचा आमासँगै बस्न थालिन्, दम बढिरहेको थियो। आफूसँगै भएपछि आमामा आत्मविश्वास बढेको महसुस गर्थिन् उनी, त्यसैले सकेसम्म आमाकै साथमा बस्थिन्।
....

पुस १२ गते शनिबार। कमेडी च्याम्पियनको सुटिङ थियो। घरबाट निस्कने बेला आमालाई भनिछन्, ‘अब पर्सी आउँछु।’ आमाले फ्याट्ट सोधिछन्, ‘मलाई केही भयो भने त बीचमै पनि आउछेउ नि?’ मनमा चिसो नपसेको होइन तर ‘यहाँ के यस्तो कुरा गर्‍या’ भन्दै ऋचा घरबाट निस्किन।

नभन्दै भयो त्यस्तै। आइतबार घरमै आमा लडिछन्, अस्पताल लैजान हतार–हतार पतिसहित पुगिन्। अरु बेला ढोकाबाट आमा सहजै निस्किन्थिन्, त्यो दिन निस्कनै सकिनन्, ज्वाईंले बोकेर गाडीमा राखे।
त्यसपछि त्यो घर कहिल्यै फर्केर आइनन्।

आईसियुमा राखेपछि अमेरिका र जर्मनीमा रहेका दिदीहरुलाई खबर गरिन्, उनीहरु पर्सिपल्टै आइपुगे। तर, ऋचाका दाईले बिहेपछि भारत जाने बेला नागरिकता र पासपोर्ट नेपालमै बिर्सेछन्। फ्लाईटमा आउन पाएनन्, रेलमा आउनुपर्ने भयो। उनी आइतबार बिहान आईपुग्ने भए, शुक्रबार राति आमाले संसार छोडिसकेकी थिइन्।
....

आमालाई पहेलो कुर्ता सुरवाल खुब मनपर्थ्यो। बिहेपछिको पार्टीमा लगाउन ऋचाले त्यस्तै कुर्ता किनिदिएकी थिइन्, तर बिरामी भएकाले पार्टीमा आउन सकिनन्। अस्पतालमा बितेपछि घरबाट त्यही कुर्ता ल्याएर लगाइदिइन्, ऋचाले। दाहसंस्कार गर्दा पनि त्यही कुर्ता। अरु मान्छेहरु कपडा खोल्नुपर्छ भन्दैथिए, ऋचाले मानिनन्।

आमालाई खुब डरलाग्थ्यो– चिसो र एक्लै हुन। छोरो आइतबारमात्र आउने भएपछि उनको शव दुई दिन शवघरमै राख्नुपर्ने भयो, चिसोमा। शवघर छिराउन बेला ऋचाले गार्डलाई सोधिन्, ‘भित्र कतिजना छन्?’ गार्डले जवाफ दिए, ‘खाली छ।’ त्यसपछि ऋचाले आत्तिदै सोधिछन्, ‘त्यसो भए आमा एक्लै !’ त्यसपछि नै हो, उनले डाँको छोडेर रोएको।

आमा बितेको केही दिनपछि ऋचाले इन्स्टाग्राममा लेखिन, ‘आमाले सबै कुरा सिकाउनुभयो तर आमाबिना कसरी बाँच्ने र खुशी हुने भनेर कहिल्यै सिकाउनु भएन।’ कान्तिपुर दैनिकमा खबर छ ।

salt training

कमेन्ट गर्नुहोस्