३१ असार २०८३, बुधबार

माछापालनको हब बन्दै कैलाली, एकै तालबाट ४ सय क्विन्टलभन्दा बढी माछा बिक्री

माघ २०, २०७६
माछापालनको हब बन्दै कैलाली, एकै तालबाट ४ सय क्विन्टलभन्दा बढी माछा बिक्री

पछिल्लो समय कैलाली जिल्ला माछापालनको हबको रूपमा विकास हुँदै गएको छ । 

कैलालीस्थित करीब २ सय भन्दा बढी प्राकृतिक तालतलैया र सयौं कृत्रिम पोखरीहरूमा व्यावसायिक माछापालन फस्टाउँदै गएपछि हबकै रूपमा विकास हुँदै गएको हो ।

कैलालीको कैलारी गाउँपालिकाकै ठूलो मानिने कोइलहुवा तालबाट माघ पहिलो सातासम्ममा ४ सय क्विन्टलभन्दा बढी माछा बिक्री गरिएको छ । 

माछा व्यवसायी कृष्ण गिरीले लागातारको हिउँदे झरीले तालमा बढेको पानीको स्तरका कारण माछा निकाल्न नसकेपनि साउनदेखि यता ४ सय क्विन्टलभन्दा बढी बिक्री गरिसकेको जानकारी दिए । 

माछाको बजार पनि अति उच्च रहेको छ । मागअनुसार आपूर्ति गर्न हम्मेहम्मे भएको कृषकहरू बताउँछन् । 

व्यवसायी गिरी भन्छन्– ‘नेपालीहरूमा माछा उपभोग गर्ने संस्कार पनि बढ्दो छ । जहिलेदेखि तालको माछा बिक्रीका लागि खुला गरियो त्यही बेलादेखि माछा उपभोक्ताहरूको लाइन लागेको हुन्छ । बिहानैदेखि माछा व्यापारीहरू लाइनमा हुन्छन् । बजारको समस्यै छैन । सम्भावना उच्च छ ।’

८५ हेक्टर क्षेत्रफलमा फैलिएको तालमा करीब एक दशकदेखि माछा पालन गर्दै आएका उनले स्थानीय उत्पादनले करीब ३० प्रतिशत मात्रै माग धानिरहेको बताए । बाँकी बजार माग आयतित माछाले पूर्ति गरिरहेको उनको भनाइ छ ।

व्यवसायिक माछापालनमा युवा पिँढीको आकर्षणमा पनि बढोत्तरी छ । भर्खरका युवा व्यावसायिक माछापालनलाई नै आफ्नै प्रमुख लक्ष्य बनाएर व्यवसाय थालेका छन् । 

कैलालीको घोडाघोडी नगरपालिका– ५ देउकालियाका २२ वर्षीय विनोद चौधरी डेढ वर्षदेखि व्यावसायिक माछा पालनमा होमिएका छन् । नयाँ सोचका साथ माछा व्यवसायलाई अँगालेका चौधरीले २ बिघा क्षेत्रफलमा माछापालन थालेका हुन् ।

घोडाघोडी नगरपालिका– १० पहलमानपुरका अर्का युवा सन्तोष चौधरी पनि माछा पालन व्यवसायप्रति निकै उत्साहित छन् ।

एक वर्षदेखि व्यवसाय थालेका उनले विदेशको कमाइ स्वादेशमै गर्न सकिने सम्भावनाको क्षेत्र माछापालन व्यवसाय भएको अनुभव सुनाए ।

उनले भने– ‘माछापालन व्यवसाय यस्तो व्यवसाय हो, जसबाट छोटो समयमा नै आम्दानी लिन सकिन्छ । २ रूपैयाँको माछाको भूरा हामी केही महिनामा नै ३ सय रूपैयाँको बनाएर बिक्री गर्न सक्छौं ।

उपभोगको दृष्टिले पनि स्वास्थ्यको लागि फाइदाजनक रहेकाले सम्भावनाको क्षेत्र माछापालन व्यवसाय लागेको छ ।’

सुदूरपश्चिम प्रदेशमा माछाको भूरा उत्पादनको क्रम पनि उत्साहजनक छ । सुदूरपश्चिम प्रदेशको ९ जिल्लासहित प्रदेश नं. ५ को बाँके र बर्दिया जिल्लामा पनि माछाको भूरा आपूर्ति गर्दै आएको मत्स्य विकास केन्द्र गेटाले बर्सेनि लक्ष्यभन्दा बढी माछाको भूरा उत्पादन गर्दै आएको जनाएको छ ।

मत्स्य विकास केन्द्र गेटाका प्राविधिक सहायक गणेश धामीले कमन, ग्रास, सिल्भर, बिगहेड, नैनी, भ्याकुर, रहु गरी ७ वटा कार्प जातको माछाको भूरा उत्पादन गर्दै आएको जानकारी दिए ।

उनका अनुसार मत्स्य विकास केन्द्रले गत आर्थिक वर्ष २०७५/२०७६ मा ह्याचलिङ अर्थात ७ दिनको माछाको भूरा १ करोड ४० लाख उत्पादनको लक्ष्य बनाएपनि २ करोड ४० लाख उत्पादन गरेको थियो भने फ्राई अर्थात् १ महिनासम्मको माछाको भूरा २० लाख उत्पादनको लक्ष्य भएपनि २२ लाख उत्पादन गरेको थियो ।

फिंगर अर्थात् २ देखि ३ महिनाको माछाको भूरा २५ लाख उत्पादन लक्ष्य भएपनि ३४ लाख उत्पादन भएको सो कार्यालयले जनाएको छ । त्यस्तै, चालू वर्षमा मत्स्य विकास केन्द्रले ह्वाचलिङ २ करोड ५० लाख, फ्राई २० लाख र फिन्गर ३० लाख उत्पादन गर्ने लक्ष्य बनाएको छ ।

माछाको प्रजनन अवधि फागुनदेखि साउनसम्म हो । यसरी उत्पादित माछाको भूरा कम्तीमा ७ महिनामा बिक्रीको लागि तयार हुन्छन् ।

salt training

कमेन्ट गर्नुहोस्