२१ असार २०८३, आइतबार

ओलीको ट्वीटले माओवादी सशंकित, संसदीय दलमा प्रचण्डले भने– ‘चिज गम्भीर छ’

बैशाख २५, २०७५
ओलीको ट्वीटले माओवादी सशंकित, संसदीय दलमा प्रचण्डले भने– ‘चिज गम्भीर छ’

काठमाडौं, २५ वैशाख–प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सोमवार गरेको एक ट्वीटप्रति सत्ता साझेदार दल मााओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गम्भीर चासो व्यक्त गरेका छन् ।
यस विषयमा प्रचण्डले आजै प्रधानमन्त्री ओलीसँग कुरा गर्ने माओवादी सांसदहरूसँग बताएका छन् ।

संसदीय दलको कार्यालय सिंहदरबारमा मंगलवार बसेको संसदीय दलको बैठकमा अध्यक्ष प्रचण्डले ओलीको ट्वीटको प्रसंग निकालेका थिए । ‘ओलीको ट्वीटको कुरा मैले पनि सुनेँ, त्यो उहाँको आधिकारिक धारण हो कि होइन बुझ्नु छ, यदि आधिकारिक हो भने चिज गम्भीर छ भनेर बुझ्नु पर्छ,’ प्रचण्डको भनाइ उद्धृत गर्दै एक सांसदले लोकान्तरसँग भने ।

‘एउटै घोषणापत्र लिएर चुनावमा गएको पार्टीसँग बजेट निर्माणबारे कुनै छलफल छैन, सचिव सरुवामा छलफल नै छैन,’ प्रचण्डले भने, ‘दुई पार्टी एक हुन लागेको समयमा यसरी हुन्छ ? ट्वीटरमा के–के लेखेको पनि सुनेँ, अब यस विषयमा गम्भीर कुरा हुन्छ,’ प्रचण्डले भनेका थिए ।

प्रचण्डले बजेट निर्माणमा पनि आफूहरूलाई उपेक्षा गर्न खोजिएको आरोप लगाए । ‘संघीयतालाई फोकस गरेर बजेट ल्याऔँ भन्ने हाम्रो प्रस्ताव छ । तर हामीसँग परामर्श नगरी बजेट ल्याउने कोसिस हुँदैछ,’ प्रचण्डले एमालेको भूमिकाप्रति आशंका गर्दै भने, ‘हामी एकताका लागि इमान्दार छौँ, तर झुकेरचाहिँ एकता हुँदैन ।’

यस्तो थियो ओलीको ट्वीट-
‘हामी विकास र समृद्धिको एजेण्डामा हिँडिरहेकाछौं । आफ्नो दूनो सोझ्याउन समीकरण फेरबदलमा मात्रै बानी परेकालाई यसप्रति अरुची हुनसक्छ । लोकतन्त्रमा जनता बलिया हुन्छन् र त्यसको प्रतिबिम्ब सरकारका काममा देखापर्छ । किनकी सरकारले जनताबाटै कार्यादेश लिएको हुन्छ । सार्वभौमसत्ता जनतामा थियो र छ ।’ 

बैठकले नेता दीनानाथ शर्मालाई राष्ट्रिय सभाको संसदीय दलको नेता चयन गरेको छ ।

यो पनि पढ्नुहोस्:

ट्वीटले निम्तियो तरंग, 'समीकरण फेरबदलमा बानी परेका' भन्ने ओलीको निसाना कता ?

salt training

कमेन्ट गर्नुहोस्