
काठमाडौं, २२ असार–चिकित्सा क्षेत्रका बेथिति अन्त्यको माग राख्दै अनसनमा बसेका त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालका प्राध्यापक डा.गोविन्द केसीको जीवन रक्षाको मागगर्दै नेपाली कांग्रेसले शुक्रवार प्रतिनिधि सभाको दोस्रो बैठक पनि अबरुद्ध गरेको छ ।
प्रतिनिधि सभाको दोस्रो बैठकको शुरुमै सभामुखसँग समय लिएर नेपाली कांग्रेसका सांसद दिलेन्द्र बडूले आफूहरुले संसद सचिवालयमा दर्ता गराएको जरुरी सार्वजनिक महत्त्वको प्रस्ताव कार्यसूचीमा नरहेको भन्दै सदनको बैठक चल्न नदिने बताए ।
डा.केसीको जीवन रक्षाका लागि उनको माग अनुसारको विधेयक ल्याउनु पर्ने बडूले बताए । कांग्रेस सांसदहरु उठेर विरोध जनाएपछि सभामुख कृष्णबहादुर महराले यस विषयमा सरकार र संसदको ध्यानाकर्षण भएको भन्दै सांसदरुलाई बस्न आग्रह गरे ।
ʻयहाँहरुले दर्ता गर्नु भएको जरुरी सार्वजनिक महत्त्वको प्रस्ताववारे मलाई जानकारी छ । सम्बन्धित मन्त्रीसँग परामर्श गरेर मात्र मिति तोक्नु पर्ने भएकोले अर्को दिनको बैठकमा यो कार्यसूचीमा पर्छʼ महराले भने ।
कांग्रेसले भने आजै यसबिषयमा छलफल गर्नुपर्ने माग राखेको थियो । ʻसभामुखज्यूले यसको ओचित्य र आवस्यकताबारे महत्व दिनुभएकोमा धन्यवाद । सरकार यति गैर जिम्मेवार होला भन्ने लागेको थिएʼ बडूले भने, ʻसरकारलाई सदन प्रति जवाफदेही बनाउन माग गछौं ।ʼ
कांग्रेसको विरोधका कारण प्रतिनिधि सभाको बैठक साउन २५ गते सोमवार सम्मका लागि स्थगित भएको छ ।
केसीको जीवन रक्षाका लागि संसद सचिवालयमा दर्ता गरिएको जरुरी सार्वजनिक महत्त्वको प्रस्तावमाथि छलफलको माग गर्दै कांग्रेसले शुक्रवार प्रतिनिधि सभाको पहिलो बैठक पनि अबरुद्ध गरेको थियो ।