
धनगढी- सरकारले चालू आर्थिक वर्षभित्रै मुलुकको विभिन्न जिल्लामा रहेका ६ सय ४८ मुक्तकमैया र १ हजार ४ सय ५० मुक्त हलियालाई पुन:स्थापना गर्ने रणनीतिक योजना अगाडि बढाएको छ ।
कर्मचारी समायोजनका कारण जिल्ला तहमा पुनःस्थापना कार्य प्रभावित भइरहेको अवस्थामा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय सो रणनीतिक योजना अगाडी बढाएको हो ।
यसैबीच पुनःस्थापनाका लागि सो मन्त्रालयले सुदूरपश्चिमका जिल्लामा पुनःस्थापना हुन बाँकी मुक्तकमैया र हलियाको पुनःस्थापनाबारे स्थानीय तहका प्रमुख तथा प्रतिनिधिसँग रणनीतिक योजनाबारे छलफल समेत गरेको हो । तर कर्मचारी समायोजनले मालपोत कार्यालयहरुमा जनशक्ति अभाव देखिएकाले स्थानीय तहलाई प्रभावकारी बनाउने समेत रणनीति ल्याएको एक सहभागीले बताए ।
मन्त्रालयको चैतसम्मको तथ्यांक अनुसार हालसम्म ६ सय ४८ जना मुक्तकमैया पुनःस्थापना गर्न बाँकी देखिएका छन् । कैलाली जिल्लामा ३ सय ६४, कञ्चनपुरमा ९, बाँकेमा १ सय ९२ र बर्दियामा ८३ जना मुक्तकमैयालाई जग्गा खरिद अनुदानसहित पुनःस्थापना गर्न बाँकी देखिएको हो । सरकारले प्रति कमैया जग्गा खरिदको लागि २ लाख रुपैयाँ अनुदान दिँदै आएको छ ।
त्यस्तै, अझैसम्म ४ हजार ७ सय ५० जना मुक्तकमैयाले घर निर्माण बापतको अनुदान रकम पाउन बाँकी देखिएको छ । कैलालीमा १ हजार २ सय ७९ जना, कञ्चनपुरमा ५ सय ९४ जना र बर्दियामा २ हजार ८ सय ७७ जना मुक्तकमैयाले घर निर्माण बापतको अनुदान लिन बाँकी देखिएको छ । सरकारले प्रति कमैयालाई १ लाख रुपैयाँ घर निर्माण बापत अनुदान रकम दिदै आएको छ ।
१ हजार ४ सय ५० जना मुक्त हलियालाई पुनःस्थापना गर्न बाँकी देखिएको छ । कैलालीमा ५३, कञ्चनपुरमा ३ सय ८०, डडेल्धुरामा ५ सय ३५, बैतडीमा ३९, सुर्खेतमा १ सय ९९ र डोटीमा २ सय ४४ जनालाई पुनःस्थापना गर्न बाँकी रहेको सो मन्त्रालयले जनाएको हो ।
चालूआवमैपुनःस्थापनाको कामसम्पन्नहुन्छ -मन्त्री अर्याल
यसैबीच भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पदमा कुमारी अर्यालले चालू आर्थिक वर्षभित्रै मुक्तकमैया र हलिया पुनःस्थापना कार्यले पूर्णता पाउने दाबी गरेकी छिन् ।
सोमवार धनगढीमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै मन्त्री अर्यालले विगत लामो समयसम्ममा पनि पूर्णता नपाएको पुनःस्थापना कार्य चालू आर्थिक वर्षभित्रै पूर्णता दिन सरकार लागिपरेको बताएकी हुन् ।
उनले भनिन्, 'पुनःस्थापनामा जान धेरै ढिलाइ भएको छ, जुन दुखद पनि हो । तर सरकारले जसरी पनि चालू आर्थिक वर्षमा पूर्णता दिन लागेको छ । सरकारले जति मुक्तकमैया र हलियाको संख्या छ, त्यही अनुपातमा पैसाको पर्याप्त व्यवस्था गरेको छ । त्यसैले छिटै पूर्णता पाउँछ ।’
अहिलेसम्म पनि सम्पर्कमा नआउने कमैया र हलियालाई भने नकुर्ने मन्त्री अर्यालको भनाई छ । राज्यले दिएको सुविधा लिन मुक्तकमैया र हलियालाई अनुरोध गर्दै उनले आउँदो दिनमा सरकारले कमैया र हलियाको जीवन बदल्न सीपमूलक तथा स्वरोजगारमूलक वृद्धि विकासको कार्यक्रम ल्याइने उल्लेख गरिन् ।