काठमाडौं – संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईविरुद्ध शनिवार साँझ नेपालगञ्ज विमानस्थलमा भएको हुलहुज्जतलाई लिएर सामाजिक सञ्जाल तातेको छ ।
मन्त्री भट्टराईका कारण बुद्ध एयरको विमान उड्न केही ढिला गरिएपछि आक्रोशित युवाहरूको समूहले उनीविरुद्ध होहल्ला गर्दै विभिन्न प्रश्न सोधेका थिए ।
त्यसरी हल्ला गर्नेहरू प्राय: आफूलाई भ्रष्टाचारविरोधी अभियान्ता बताउने ज्ञानेन्द्र शाहीको समूहका थिए । स्वयं शाहीलाई समेत भिडियोमा देख्न सकिन्छ ।
यद्यपि मन्त्री भट्टराईले तत्काल कुनै जवाफ दिएनन्, पछि सामाजिक सञ्जाल फेसबूकमार्फत क्षमा याचना गरेका छन् ।
मन्त्रीविरुद्ध होहल्ला गर्ने युवाहरूले 'पञ्चायतमा यस्तो हुँदैनथ्यो' भनेको विषयलाई लिएर प्रधानमन्त्रीका प्रेस सल्लाहकार कुन्दन अर्यालले सामाजिक सञ्जालमा टिप्पणी गरेका छन् ।
उनले ट्वीटरमा लेखेका छन्- 'मन्त्री भट्टराईलाई हुलहुज्जत गर्दा कसैले पञ्चायतमा यस्तो हुँदैनथ्यो भनेको पनि सुनियो । पञ्चायतको अन्त्य गर्दा हामी जो १९-२० वर्षका थियौं, बताउँछौं नि, त्यो बेला कसरी दरबारका कसैलाई कांक्रो खान मन लाग्यो भनेर हेलिकप्टरमा खोज्न पठाइन्थ्यो । नेपाली समाजको स्मरण शक्ति शून्य भएको छैन ।'
मन्त्री भट्टराईले पनि होहल्ला गर्नेहरूको नियत आफूले बुझेर चुप लागेको संकेत गरेका छन् ।
'नेपालगञ्ज विमानस्थलमा ३/४ जना व्यक्तिहरू आक्रमक शैलीमा मेराविरुद्ध प्रस्तुत हुनुभयो । एक जनाले पारस (पूर्व युवराज पारस शाह)का विरुद्ध सात लाख हस्ताक्षर दरबारमा बुझाएर तैंले हामीलाई कति दु:ख दिएको छस् ? त्यो हामीले कहाँ बिर्सेका छौं र ? सम्म भने । त्यो सुनेपछि उनीहरूको नियत मैले बुझिहालें,' मन्त्री भट्टराईले लेखेका छन्– 'सम्पूर्ण यात्रु तथा बुद्ध एयरले देखाएको समझदारीप्रति धन्यवाद व्यक्त गर्दछु । मेरा कारणले यात्रुहरूमा पर्न गएको असुविधाप्रति भने क्षमाप्रार्थी छु ।'
आफू ढिला भएपनि काठमाडौं फर्किनै पर्ने दबाबका कारण विमान उड्न केही ढिला भएको स्वीकारेका छन् ।
'कैलाली जिल्लाको टीकापुरमा आयोजना भएको डलफिन महोत्सवको कार्यक्रम सकेर बुद्ध एयरको धनगढीको अन्तिम उडानबाट काठमाडौं फर्कने मेरो योजना रहेको थियो । तर कार्यक्रम ढिला भएको कारण बुद्ध एयरसँग अनुरोध गरेर नेपालगञ्जको अन्तिम उडानबाट काठमाडौं फर्कने क्रममा केही ढिला हुन गएको सत्य हो । सबै यात्रुको बोर्डिङ भएको करीब १५ मिनेटमा हाम्रो टीमको बोर्डिङ भएको हो । भोलि (आइतवार) प्रतिनिधिसभामा माननीयहरूको प्रश्नको मैले जवाफ दिने कार्यक्रम रहेका कारण काठमाडौं फर्कनै पर्ने दबाबमा म थिएँ,' मन्त्री भट्टराईले फेसबूकमा लेखेका छन् ।
होहल्ला गर्नेहरूले नै भिडियो खिचेर सामाजिक सञ्जालमा हालेका थिए ।
हेर्नुहोस्, भिडियो :