०७ असार २०८३, आइतबार

बट्टाईंपालनमा युवाको आकर्षण

बट्टाईंपालनमा युवाको आकर्षण

रामपुर नगरपालिकामा बट्टाईंपालन शुरू गरिएको छ । रामपुर नगरपालिका–७ सिरुपाटाका युवा आभाष भट्टराईले यस क्षेत्रमा पहिलोपटक बट्टाई पाल्न शुरू गरेपछि अवलोकन गर्नेको आकर्षण बढ्दो छ ।

शहीद बहुमुखी क्याम्पस स्नातक तह चौथो वर्षमा व्यवस्थापन सङ्कायमा अध्ययन गरेका भट्टराईले गत भदौदेखि काठमाडौँबाट चल्ला ल्याएर रामपुरमा नयाँ व्यवसायको रुपमा व्यवसाय शुरू गरेका हुन्। एक हजार दुई सय चल्लाबाट व्यवसाय सञ्चालन गरेका भट्टराई दोस्रोपटक आठ सय, तेस्रोपटक एक हजार दुई सय थप गरी बिक्रीसमेत गरिसकेका छन् । पुनः एक हजार चल्ला थप्ने तयारी गरेका छन् ।

एकवटा चल्ला रु ६० मा खरिद गरी ६० दिनको समय भएपछि भाले २५०, पोथी ३५० मा र प्रतिअण्डा रु १० मा बिक्री भइरहेको उनले बताए। 'रामपुरका ठूला होटलबाट बढी माग आउने गरेको छ, स्वास्थ्यका लागि फाइदाजनक भएकाले पनि खोजीखोजी लैजाने गरेका छन्, आम्दानी पनि राम्रै हुँदोरहेछ', भट्टराईले अनुभव सुनाए।

फार्म व्यवस्थापन र चल्ला खरिदमा गरी करीब रु १५ लाखको लगानी व्यवसायमा परेको छ । अण्डामा भन्दा पनि मासुमा बढी ग्राहकको आकर्षण छ । एक हजार बट्टाईं बिक्री गर्दा रु एक लाख फाइदा हुने गरेको उहाँ बताउनुहुन्छ । 

रामपुर नगरपालिका–८ दध्रा बस्ने वसन्त पुलामीले पनि बट्टाईंपालन शुरू गर्नुभएको छ । पाँच महिनाअघि परीक्षणका रुपमा १५० चल्लाबाट व्यवसाय शुरू गरेका पुलामीले बजार राम्रै लिएपछि थप गर्ने सोच बनाएका छन् । 'माग राम्रै आएपछि व्यवसाय थप गर्ने तयारी गरेको छु, सोचेभन्दा राम्रो माग आएको छ, राम्रोसँग गरियो भने यसबाट मनग्य कमाई गर्न सकिँदोरहेछ', पुलामीले भने।

मासुको तुलनामा अण्डा भने कम बिक्री हुने गरेको व्यवसायीहरु बताउँछन् । बट्टाईंपालन आर्थिक तथा स्वास्थ्यका हिसाबले निकै नै उपयोगी मानिन्छ । यिनीहरुसँग रोग प्रतिरोधात्मक क्षमता धेरै नै हुने भएकाले औषधि खर्च न्यून हुन्छ । 

पन्छीपालनमा ७० प्रतिशत लगानी दानामा लागेता पनि यसमा दानामा लागत खर्च पनि निकै नै कम रहेको छ । जिउँदो चराको एक रुपैयाँ प्रतिग्राम पाइने यो चरा २८ दिनदेखि बेच्न योग्य हुने र औसत तौल एक ५० ग्राम (२०० ग्राम सम्मको हुन्छ । बट्टाईंले एक महिना पुगेपछि नै अण्डा दिन थाल्छ । यसका अण्डाहरु साना–साना भएता पनि पौष्टिक तत्वले भरिपूर्ण रहेका हुन्छन् । 

बजारमा एक अण्डा प्रतिगोटा रु १० सम्म बिक्री हुन्छ । यसको मासु बाथ रोग र मुटुरोगका लागि उत्तम मानिन्छ । मासुमा कम चिल्लो पदार्थ, भिटामिन ए, बी, डी, ई, के र शरीरका लागि चाहिने आवश्यक खनिज पदार्थ पाइन्छ । मासुको स्वाद फरक हुने कारणले कसैलाई मन नपर्ने र कसैलाई औधी नै मनपर्ने हुन्छ । बट्टाईं जङ्गलमा बस्ने उड्ने चराको जात भएकाले भाग्ने समस्या र बढी घाइते हुने समस्या देखापर्ने गरेको व्यवसायीहरु बताउँछन् ।

salt training

कमेन्ट गर्नुहोस्