
नेपालगञ्ज उपमहानगरपालिकामा दादुरा रुवेला खोप अभियान प्रभावकारी बनाउने सन्दर्भमा योजना निर्माण गरिएको छ ।
अभियानलाई प्रभावकारी बनाउनका लागि शुक्रवार दादुरा रुवेला खोप अभियान—२०७६ पालिकास्तरीय खोप समन्वय समितिको बैठक सम्पन्न भएको छ ।
बैठकमा नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख डा. धवलशम्शेर राणाले खोप अभियानलाई पूर्णरुपमा सफल पार्न जनप्रतिनिधि र स्वास्थ्यकर्मीलाई आग्रह गरे ।
नेपालमा सन् २००३ सालदेखि दादुरा रुवेला खोप अभियानको शुरूआत भएको हो । नेपालगञ्ज उपमहानगरपालिकाका नियमित खोपको प्रतिशत सरदर ७६ प्रतिशत रहेको छ । खोपको प्रतिशत योवर्ष ९५ प्रतिशत पुर्याउने लक्ष्य राखिएको स्वास्थ्य शाखाका डिल्लीराज पोखरेलले जानकारी दिए ।
दादुरा रुवेला खोप अभियान अन्तर्गत जन्मदेखि ५९ महिनासम्मका बालबालिकालाई पोलियो थोपा खुवाइने छ भने ९ महिनादेखि ५९ महिनासम्मका बालबालिकालाई दादुरा रुवेला खोप दिइने भएको छ । नेपालगञ्ज उपमहानगरपालिकामा फागुन १९ गतेदेखि खोप अभियान सञ्चालन गरिने भएको छ ।
खोप अभियान ९ दिनसम्म सञ्चालन हुने भएको छ ।