१२ असार २०८३, शुक्रबार

कर्णाली सरकारको उपलब्धि : १ वर्षमा २ किलोमिटर सडक मात्रै कालोपत्रे !

फागुन ३, २०७६
कर्णाली सरकारको उपलब्धि : १ वर्षमा २ किलोमिटर सडक मात्रै कालोपत्रे !

कर्णाली प्रदेश सरकार गठन भएको शनिवार २ वर्ष पूरा भएको छ ।

तत्कालीन प्रदेश प्रमुख दूर्गाकेशर खनालले फागुन ३ गते मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई पद तथा गोपनीयताको शपथ खुवाएका थिए । फागुन ६ गते मन्त्रिपरिषद्लाई पूर्णता प्रदान गरिएको थियो ।

कर्णाली प्रदेश सरकारले शनिवार दोस्रो वार्षिकोत्सव समारोह सम्पन्न गरेको छ । प्रदेश सरकार २ वर्ष पूरा गरेको अवसरमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले संक्षिप्त प्रतिवेदन पनि सार्वजनिक गरेको छ । 

प्रतिवेदनमा विगत १ वर्षमा प्रदेश सरकारले २ किलोमिटर सडक कालोपत्रे गरेको उल्लेख छ । साढे ४२ किलोमिटर सडक ग्राभेल गरिएको र ७२ किलोमिटर कच्ची सडक निर्माण गरिएको उल्लेख छ ।

दोस्रो वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले प्रदेश सरकार नयाँ संरचना भएको बताउँदै जग बसाल्न सफल भएको बताए । ‘सरकारले विभिन्न योजना बनाउने, बजेट कार्यान्वयन गर्ने, कर्मचारी भर्ना गरेर भएपनि समृद्ध कर्णाली बनाउने र सुशासन कायम गर्ने महत्त्वपूर्ण अभियानको शुरूवात गरेको मैले पाएको छु,’ प्रदेश प्रमुख कलौनीले भने, ‘नयाँ संरचना भएका कारण कार्य सम्पादनमा ढिलाइ हुनु स्वाभाविक थियो । अहिले सरकार गतिमा अघि बढिरहेको मैले पाएको छु ।’

कर्णाली प्रदेशसभा सभामुख राजबहादुर शाहीले प्रदेश सरकारले धेरै ऐन, नियम कानून, विनियम र कार्यविधि बनाई आफ्नो मूल दायित्व पूरा गरेको बताए । ‘नयाँ संरचना भएका कारण विगतमा थुप्रै चुनौती थिए । अब जनताका अपेक्षा पूरा गर्ने विन्दुमा प्रदेश सरकार आइसकेको मैले महसूस गरेको छु,’ उनले भने ।

प्रमुख प्रतिपक्षी दलका नेता जीवनबहादुर शाहीले प्रदेश सरकार सरकार जस्तो नबनेको आरोप लगाए । ‘वडा अध्यक्षलाई जस्तै मुख्यमन्त्रीलाई मन्त्रीले नटेर्ने वा मन्त्रीका सुझाव मुख्यमन्त्रीले स्वीकार नगर्ने जस्तो हामीले देखेका छौं,’ उनले भने, ‘तपाईंहरू राम्रो काम गर्नुस्, प्रतिपक्ष साथ दिन तयार छ ।’

कार्यक्रमको अध्यक्षता गरेका मुख्यमन्त्री शाहीले विगतमा विभिन्न बाधा भएपनि अब भने विकासको गतिलाई तीव्र पार्ने बताए । कानून बनाउने प्रक्रियामा तीव्रता दिइएको, विभिन्न आयोजनाको टेन्डर आह्वानपछि काम शुरू भएको, प्रदेश गौरवका आयोजनाको डीपीआर बनाइरहेको बताउँदै उनले जनताले अपेक्षा गरेअनुसारका काम गर्न सरकार लागिपरेको बताए ।

salt training

कमेन्ट गर्नुहोस्