२८ असार २०८३, आइतबार

६० लाख ठगी गरेको आरोपमा दुई जना पक्राउ

फागुन ५, २०७६
६० लाख ठगी गरेको आरोपमा दुई जना पक्राउ

अमेरिकाको भिसा प्रक्रियाका लागि बैंक ब्यालेन्स देखाउन भनी  ६० लाख रुपैयाँ लिई ठगी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।

महानगरीय अपराध नियन्त्रण महाशाखा काठमाडौँको टोलीले भक्तपुरको ठिमीबाट उनीहरुलाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा बागलुङ जिल्लाको बागलुङ नगरपालिका–२ घर भई ललितपुर इमाडोल बस्ने ३४ वर्षीय रामचन्द्र कुँवर र काभ्रेपलाञ्चोक चौउरे देउराली घर भई सोही ठाउँ बस्ने ३४ वर्षीय गणेश लामा रहेका छन्।

काठमाडौं तार्केश्वर नगरपालिका–२ बस्ने नुवाकोटकी एक महिलालाई कुँवरले अमेरिका जानका लागि बैक ब्यालेन्स देखाउनु पर्ने भन्दै प्रलोभनमा पारेर आफ्नो बैंक खातामा ६० लाख रुपैयाँ राख्न लगाएको महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सहकुलबहादुर थापाले जानकारी दिए।

उनीहरुले पैसा राखे लगत्तै बैंकका विभिन्न शाखाबाट नक्कली कागजपत्र र नक्कली सवारी चालक अनुमतिपत्र राखी रकम निकाली ठगी गरी सम्पर्कविहिन भएका थिए। उक्त सूचनाको आधारमा महानगरीय अपराध महाशाखा टेकुबाट खटिएको प्रहरीले उनीहरुलाई गएराति पक्राउ गरेको हो।

उनीहरुले अन्य तीन जनाबाट पनि झण्डै ७० लाख रुपैयाँ लिएको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको महाशाखाले जनाएको छ। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ। गएराति पक्राउ परेका उनीहरुलाई सोमबार महाशाखाले सार्वजनिक गरेको हो । 

salt training

कमेन्ट गर्नुहोस्